काठमाडौं । इन्स्टाग्राम लोकप्रिय सामाजिक सञ्जाल तथा फोटो भिडियो साझेदारी गर्ने डिजिटल प्लेटफर्म हो । यसमार्फत प्रयोगकर्ताले फोटो, भिडियो, रील्स, स्टोरीजलगायत विभिन्न प्रकारका सामाग्री सिर्जना गरेर साथीभाइ, परिवार, ग्राहक, दर्शक तथा विश्वभरका मानिससँग साझा गर्न सक्छन् ।
इन्स्टाग्राममा प्रयोगकर्ताको रुचिअनुसार सामाग्री हेर्न, मन नपरेका सामाग्री नियन्त्रण गर्न, गोपनीयता व्यवस्थापन गर्न तथा आवश्यक कन्टेन्ट सजिलै खोज्न विभिन्न सुविधाहरू उपलब्ध छन् । तीमध्ये Content Preferences पनि महत्वपूर्ण फिचर हो ।
Content Preferences को माध्यमबाट प्रयोगकर्ताले इन्स्टाग्राममा आफूले कस्तो प्रकारको सामग्री बढी वा कम हेर्न चाहन्छन् भन्ने कुरा व्यवस्थापन गर्न सक्छन् । यसले संवेदनशील सामाग्री नियन्त्रण गर्ने, मन नपरेको सामाग्रीबारे इन्स्टाग्रामलाई जानकारी दिने, आफूलाई मनपर्ने अकाउन्टलाई प्राथमिकतामा राख्ने तथा सुझाव दिइने सामाग्रीलाई आफ्नो रुचिअनुसार व्यवस्थापन गर्न सहयोग गर्छ ।
Content Preferences कसरी मिलाउने ?
- इन्स्टाग्राम एप खोल्नुहोस् ।
- आफ्नो Profile मा जानुहोस् ।
- माथिल्लो दायाँ कुनामा रहेको तीन लाइन (☰) मा थिच्नुहोस् ।
- Settings and activity मा जानुहोस् ।
- What you see भन्ने भागमा जानुहोस् ।
- Content preferences मा थिच्नुहोस् ।
- अब उपलब्ध विकल्पमध्ये आफ्नो आवश्यकता र रुचिअनुसार सेटिङ मिलाउनुहोस् ।
मुख्य विकल्पहरू
Your Algorithm: यहाँबाट आफूलाई मनपर्ने वा नपर्ने विषय छनोट गरेर इन्स्टाग्रामको अल्गोरिदमलाई आफ्नो रुचिबारे जानकारी दिन सकिन्छ । यसले भविष्यमा देखाइने सुझावलाई आफ्नो रुचिअनुसार बनाउन सहयोग गर्छ ।
Sensitive Content Control: संवेदनशील वा आफूलाई असहज लाग्न सक्ने पोस्ट तथा सामाग्री कति मात्रामा हेर्न चाहन्छु भन्ने कुरा यहाँबाट नियन्त्रण गर्न सकिन्छ ।
Political Content: राजनीतिक विषयसँग सम्बन्धित भिडियो वा पोस्टहरू कम देख्न चाहनुहुन्छ भने यो विकल्पबाट त्यसलाई नियन्त्रण गर्न सकिन्छ ।
Reset Suggested Content: इन्स्टाग्रामले पहिले देखाउँदै आएका सुझावहरू आफ्नो रुचिअनुसार नभएको अवस्थामा यो विकल्प प्रयोग गर्न सकिन्छ । यसले पुराना सुझावहरू रिसेट गरी प्रयोगकर्ताको नयाँ रुचिअनुसार सामाग्री सुझाव दिनका लागि प्रणालीलाई पुनः समायोजन गर्न मद्दत गर्छ ।
Not Interested: कुनै भिडियो, रील वा पोस्ट मन परेन भने त्यसको मेनुबाट Not interested विकल्प छनोट गर्न सकिन्छ । यसपछि इन्स्टाग्रामले त्यस्तै प्रकारका सामाग्री भविष्यमा कम देखाउने प्रयास गर्छ ।
Hide Instant Messages in Inbox: यो सेटिङले इन्स्टाग्रामको इनबक्समा देखिने नयाँ Instant Messages सम्बन्धी दृश्यलाई लुकाउन मद्दत गर्छ । यसलाई अन गरेपछि म्यासेज बक्सको दायाँ कुनामा देखिने सम्बन्धित आइकन तथा फोटोहरूको चाङ हट्न सक्छ । पछि पुन: यो सुविधा प्रयोग गर्न चाहनुहुन्छ भने सोही सेटिङमा गएर यसलाई अफ गर्न सकिन्छ ।
Hide All Activity Bubbles in Feed and Reels: इन्स्टाग्राम स्क्रोल गर्दा पोस्ट वा रील्सको माथि साथीहरूको प्रोफाइल फोटो तथा Liked, Reposted लगायतका साना Activity Bubbles देखिनुले झन्झट भइरहेको छ भने यो विकल्प उपयोगी हुन सक्छ ।
यसलाई सक्रिय गरेपछि Feed र Reels मा देखिने यस्ता Activity Bubbles लुकाउन सकिन्छ । सेटिङ परिवर्तन गरेपछि केही अवस्थामा इन्स्टाग्राम एप बन्द गरेर पुन: खोल्दा परिवर्तन प्रभावकारी रूपमा लागू हुन सक्छ ।
यसरी Content Preferences लगायतका सुविधाको प्रयोग गरेर प्रयोगकर्ताले इन्स्टाग्राममा देखिने सामग्रीलाई आफ्नो रुचि र आवश्यकताअनुसार व्यवस्थापन गर्न सक्छन् । यसले अनावश्यक वा मन नपरेका सामाग्री कम गर्दै आफूलाई उपयोगी र रुचिकर कन्टेन्टमा केन्द्रित हुन सहयोग पुर्याउँछ ।
आईसीटी समाचार