काठमाडौं । मेटाले फेसबुक र इन्स्टाग्राम प्रयोग गर्ने व्यवसायी तथा कन्टेन्ट क्रिएटरलाई लक्षित गर्दै Meta AI को नयाँ Mac डेस्कटप एप सार्वजनिक गरेको छ । नयाँ एपमार्फत प्रयोगकर्ताले आफ्नो स्क्रिनको कुनै भाग सेयर गरेर कामसँग सम्बन्धित सुझाव तथा सहायता लिन सक्नेछन् ।
एपमा Meta AI लाई कम्पनीका एनालिटिक्स तथा विज्ञापनसम्बन्धी उपकरणसँग जोड्ने सुविधा पनि उपलब्ध गराइएको छ । यससँगै Google Workspace बाट डकुमेन्ट, स्प्रेडसिट तथा अन्य डेटा प्रयोग गरेर Meta AI मार्फत आवश्यक सुझाव र विश्लेषण लिन सकिनेछ ।
मेटाका अनुसार, यी सुविधाले व्यवसायहरूलाई विज्ञापन अभियान थप प्रभावकारी रूपमा व्यवस्थापन गर्न तथा आफ्नो व्यवसायको आवश्यकता र अवस्थाअनुसार अनुकूलित सुझाव प्राप्त गर्न सहयोग गर्नेछन् ।
मेटाले आफ्नो ब्लग पोस्टमा उल्लेख गरे अनुसार, व्यवसायीहरूले आफ्नो व्यवसायसँग सम्बन्धित प्रश्न Meta AI लाई सोध्न सक्नेछन् । AI ले अकाउन्टको इन्गेजमेन्ट, विज्ञापनको प्रदर्शनलगायत मेटासँग उपलब्ध व्यवसायिक सन्दर्भका आधारमा उत्तर दिन सक्नेछ ।
त्यसैगरी, आफ्नै अकाउन्टबाहेक सम्बन्धित अन्य ब्रान्डहरूले मेटाका प्लेटफर्ममा कसरी आफ्नो उपस्थिति निर्माण गरिरहेका छन् भन्नेबारे सार्वजनिक रूपमा उपलब्ध जानकारी तथा विश्लेषण समेत प्राप्त गर्न सकिनेछ ।
मेटाले आफ्ना प्लेटफर्ममार्फत व्यवसाय सञ्चालन तथा मार्केटिङ गर्ने लाखौँ प्रयोगकर्तालाई लक्षित गर्दै एआई उपकरणको प्रयोग विस्तार गरिरहेको छ । कम्पनीले हालै प्रतिस्पर्धी उत्पादनको तुलनामा सस्तो एआई कोडिङ एजेन्ट समेत सार्वजनिक गरेको छ ।
मेटाका सीईओले कम्पनीका AI Agents ले भविष्यमा सम्पूर्ण व्यवसाय सञ्चालन गर्न सक्ने लक्ष्य राखिएको बताएका छन् । नयाँ Mac एप नि:शुल्क उपलब्ध भएपनि उन्नत एआई सुविधाहरू प्रयोग गर्न Meta One योजना आवश्यक पर्नेछ । साथै, केही सुविधाको प्रयोगमा क्रमश: सीमा तोकिँदै जाने व्यवस्था गरिएको छ ।
आईसीटी समाचार