काठमाडौं । माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले कृत्रिम बुद्धिमत्ता (एआई) को गलत प्रयोगले मानव समाजमा गम्भीर जोखिम निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।
एनबीसी न्यूजको ‘मिट द प्रेस’ कार्यक्रममा दिएको अन्तर्वार्तामा गेट्सले खराब नियत भएका व्यक्तिको हातमा शक्तिशाली एआई उपकरण पुगे त्यसबाट ठूलो मानवीय क्षति हुन सक्ने बताएका हुन् । उनका अनुसार एआईको दुरुपयोगबाट अत्यन्तै ठूलो स्तरको जनधनको क्षति हुने अवस्था सिर्जना हुन सक्छ ।
गेट्सले पछिल्ला एआई प्रविधिको क्षमताका कारण यसको दुरुपयोगबाट उत्पन्न हुन सक्ने जोखिमलाई सामान्य रूपमा लिन नहुने बताए । गलत नियत भएका व्यक्तिले विभिन्न एआई उपकरणलाई संयोजन गरेर प्रयोग गरे त्यसको प्रभाव अहिलेसम्म विकसित भएका धेरै शक्तिशाली हतियारभन्दा पनि गम्भीर हुन सक्ने उनको भनाइ थियो ।
उनले एआईबाट उत्पन्न जोखिम भविष्यको सम्भावना मात्र नभएको उल्लेख गरे । अहिले नै उपलब्ध एआई प्रविधिको दुरुपयोगबाट साइबर आक्रमण, ठगी, गलत सूचना तथा अन्य प्रकारका क्षति हुन सक्ने भएकाले प्रविधिको विकाससँगै सुरक्षा संयन्त्र र प्रभावकारी अनुगमन आवश्यक रहेको उनले बताए ।
एआईको नियमनमा प्रविधि कम्पनीको स्वनियमन मात्र पर्याप्त नहुने गेट्सको धारणा छ । यसका लागि सरकार, कानुन कार्यान्वयन गर्ने निकाय र राजनीतिक नेतृत्वसमेत सक्रिय रूपमा संलग्न हुनुपर्ने उनले बताए ।
अमेरिकाले एआई नियमनसम्बन्धी कानुन बनाउनुपर्ने हो कि होइन भन्ने प्रश्नमा गेट्सले स्पष्ट रूपमा ‘बिल्कुल’ आवश्यक रहेको बताएका थिए । सरकारी नियमनले एआई उद्योगमाथि केही थप जिम्मेवारी सिर्जना गरेपनि त्यसले प्रविधिको विकासलाई ठूलो रूपमा सुस्त नबनाउने उनको भनाइ छ ।
एआईको तीव्र विकास र त्यससँग जोडिएका सुरक्षा जोखिमबीच सन्तुलन कसरी कायम गर्ने भन्ने विषयमा प्रविधि क्षेत्रमा बहस चलिरहेका बेला गेट्सको यस्तो धारणा सार्वजनिक भएको हो ।
यसअघि एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोदेईले पनि एआई मोडलको विकासको गति केही कम गर्नुपर्ने र पर्याप्त सुरक्षा मापदण्ड सुनिश्चित नभएसम्म नयाँ प्रविधिको सार्वजनिक प्रयोगमा ढिलाइ गर्नुपर्ने धारणा राखेका थिए ।
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यान र एक्सएआईका मालिक एलन मस्कले समेत एआईका सम्भावित जोखिमबारे सार्वजनिक रूपमा चिन्ता व्यक्त गर्दै आएका छन् ।
गेट्सले यसअघि अगस्टमा प्रकाशित आफ्नो लेखमार्फत पनि एआईका सम्भावित नकारात्मक प्रभावबारे चर्चा गरेका थिए । उनले एआईको दुरुपयोगबाट साइबर आक्रमण, ठगी, गलत सूचना फैलाउने गतिविधि तथा महत्वपूर्ण क्षेत्रहरूमा गम्भीर क्षति पुग्न सक्ने जोखिम औँल्याएका थिए ।
यद्यपि गेट्स एआईको विकास नै रोक्नुपर्ने पक्षमा भने छैनन् । एआईबाट प्राप्त हुने सम्भावित लाभलाई कायम राख्दै यसको जोखिम न्यूनीकरण गर्न सरकार र प्रविधि कम्पनीबीच सहकार्य आवश्यक रहेकोमा उनले जोड दिएका छन् ।
आईसीटी समाचार