काठमाडौं । बैंकिङ प्रणालीमा प्रविधि नयाँ कुरा होइन । कोर बैंकिङ सिस्टमदेखि डिजिटल पेमेन्टसम्म, बैंकका अधिकांश प्रक्रिया प्रविधिसँग जोडिएका छन् । तर प्रविधि प्रयोग हुँदैमा हरेक प्रक्रिया सहज हुन्छ भन्ने हुँदैन । कतिपय ठाउँमा अत्याधुनिक प्रणालीको वरिपरि अझै पनि मानिसले दोहोर्याएर गर्ने म्यानुअल कामको लामो शृङ्खला बाँकी हुन्छ । नेपालको बैंकिङ क्षेत्रमा इन्वर्ड चेक क्लियरिङ त्यस्तै एउटा प्रक्रिया थियो ।
दिनभर बैंकमा आउने हजारौँ चेक । एउटा पोर्टलमा लगइन, अर्को प्रणालीमा विवरण हेर्ने, चेकको नाम र रकम जाँच्ने, खातामा पर्याप्त ब्यालेन्स छ कि छैन हेर्ने, खाता एक्टिभ छ कि ब्लक, लिन छ कि छैन, फरेक्स वा ‘गुड फर पेमेन्ट’ चेक हो कि होइन जाँच्ने, हस्ताक्षर मिलाउने र अन्ततः कोर बैंकिङ सिस्टममा विवरण प्रविष्ट गरेर नेसनल क्लियरिङ हाउसलाई रिपोर्ट गर्ने ।
यो सबै काम निश्चित समय सीमाभित्र सकिनुपर्ने । यही दोहोरिने, समय खाने र मानवीय त्रुटिको सम्भावना बोकेको प्रक्रियालाई हेर्दै क्विक फक्स कन्सल्टिङले एउटा प्रश्न गर्यो, यो काम मानिसले किन गरिरहनुपर्छ ?
त्यही प्रश्नबाट अघि बढेको समाधान हो क्वीक सीसीए (Quick CCA)।
‘टेक्नोलोजी कम्पनी’ होइन, समस्या समाधान गर्ने कम्पनी
क्विक फक्स कन्सल्टिङका प्रमुख कार्यकारी अधिकृत पल्लव पराजुलीका अनुसार कम्पनीको सुरुआती सोच नै प्रविधि बेच्नेभन्दा समस्या समाधान गर्ने थियो । “हामी इन्सेप्सनदेखि नै टेक्नोलोजी ड्रिभन कम्पनी, भन्दा प्रब्लम सल्भिङ कम्पनी थियौँ ।”
अर्थात्, बजारमा भएको प्रविधि प्रयोग गरेर नयाँ समस्या खोज्ने होइन, पहिला समस्या पहिचान गर्ने र त्यसको समाधानका लागि उपयुक्त प्रविधि निर्माण गर्ने कम्पनी बन्ने सोच ।

बैंकहरूसँग नजिकबाट काम गर्ने क्रममा टोलीले इन्वर्ड चेक क्लियरिङमा रहेको ठूलो अपरेसनल समस्या देख्यो । आफूले काम गरिरहेको एउटा बैंकमा मात्रै दैनिक ६ हजारभन्दा बढी चेक आउँथे । ती चेकलाई प्रशोधन गर्न कर्मचारीले एनसीएचएलको पोर्टल र बैंकको सीबीएस (कोर बैंकिङ सिस्टम) दुवैमा पुग्नुपर्थ्यो ।
प्रक्रिया केवल दुईवटा पोर्टल खोल्नेमा सीमित थिएन । चेकका विभिन्न विवरण र बैंक खातासम्बन्धी सूचनाहरू क्रस-भेरिफाइ गर्नुपर्थ्यो । त्यसपछि मात्र चेक क्लियरिङको निर्णय लिन सकिन्थ्यो । म्यानुअल कामको मात्रा बढ्दै जाँदा सम्बन्धित कर्मचारीमाथि वर्कलोड पनि बढ्दै गयो । यहीँबाट अटोमेसनको खोज सुरु भयो ।
तीन–चार मिनेटबाट १६ सेकेन्डसम्म
चेक क्लियरिङ सामान्य कागजी कामजस्तो देखिए पनि बैंकका लागि यो टाइम-बाउन्ड अपरेसन हो । फास्ट क्लियरिङ, पहिलो सेसन, दोस्रो सेसन, तेस्रो सेसनलगायतका क्लियरिङ विन्डोभित्र काम सकिनुपर्छ ।
म्यानुअल प्रक्रियामा एउटा चेक क्लियर गर्न सामान्यतः तीनदेखि चार मिनेट लाग्थ्यो । हजारौँ चेकका लागि त्यसलाई गुणा गर्दा आवश्यक समय र जनशक्ति सहजै अनुमान गर्न सकिन्छ ।
क्वीक सीसीएको विकाससँगै यही प्रक्रिया १६ सेकेन्डसम्म झारिएको कम्पनीको अनुभव छ । पल्लव पराजुली भन्छन्, “पहिले एउटा चेक क्लियर गर्नलाई अल्मोस्ट तीन–चार मिनेट जति लाग्थ्यो भने अहिले विथिन सेकेन्ड एउटा चेक क्लियर हुन्छ ।”
यो केवल समय घटेको कथा होइन । बैंकका कर्मचारीले एउटै विवरण पटक–पटक हेर्नुपर्ने बाध्यता हट्यो, दुईवटा फरक पोर्टलमा लगइन गरेर काम गर्नुपर्ने झन्झट कम भयो र निर्धारित समयभित्र क्लियरिङ पूरा गर्न नसक्दा आउन सक्ने पेनाल्टीको जोखिम पनि घट्यो ।
ग्लोबल बैंकबाट सुरु भएको यात्रा
क्वीक सीसीएको पहिलो व्यावहारिक यात्रा ग्लोबल बैंकबाट सुरु भयो । त्यसपछि यसको प्रयोग नबिल बैंक, एनएमबी बैंक, कुमारी बैंक र सिद्धार्थ बैंकसम्म पुगेको छ । यसरी पाँचवटा ‘ए’ क्लास कमर्सियल बैंकमा समाधान लागू भएको कम्पनीको अनुभव छ । थप पाँचवटा कमर्सियल बैंकमा विस्तार गर्ने तयारी पनि अघि बढिरहेको छ ।
तर क्वीक सीसीएको प्रभाव एउटा उत्पादनका रूपमा लागू भएका बैंकको संख्याले मात्र देखाउँदैन । कम्पनीका अनुसार नेपालका करिब १५ वटा भन्दा बढी कमर्सियल बैंकसँग उसले नजिकबाट काम गरिरहेको छ । बैंकिङ क्षेत्रमा उत्पादनको स्वीकार्यता बढ्दै जाँदा यसको बजार विस्तारको तरिका पनि परम्परागत विज्ञापनभन्दा केही फरक देखिन्छ ।
नयाँ बैंकलाई विज्ञापनमार्फत उत्पादन बेच्नुभन्दा पहिला प्रयोग गरिरहेका बैंकहरूको अनुभव र सिफारिसले अर्को ढोका खोल्ने गरेको कम्पनी बताउँछ । अर्थात्, वर्ड अफ माउथ नै बजार विस्तारको एउटा महत्वपूर्ण माध्यम बनेको छ ।
एउटा चेकभित्र २२ वटा जाँच
क्वीक सीसीएको मुख्य विशेषता यसको सिंगल प्ल्याटफर्म हो । पहिले फरक–फरक प्रणालीमा पुगेर गरिने काम एउटै इन्टरफेसमा ल्याइएको छ । प्रणालीले चेकका विभिन्न पक्ष स्वतः जाँच गर्छ । कम्पनीको विवरणअनुसार करिब २२ वटा भ्यालिडेसन पोइन्टमा चेक परीक्षण गर्न सकिन्छ ।
यसमा चेक स्टेल अर्थात् छ महिनाभन्दा पुरानो भएको अवस्था, नाम, रकम, खातामा पर्याप्त ब्यालेन्स, खाता एक्टिभ वा ब्लक भएको अवस्था, अकाउन्ट विवरण र हस्ताक्षरलगायतका पक्ष समेटिन्छन् । हस्ताक्षरको हकमा प्रणालीले सिग्नेचर म्याचिङ प्रतिशतसमेत देखाउन सक्छ ।
म्यानुअल प्रक्रियाको सबैभन्दा ठूलो चुनौती नै यही थियो, मानिसले एउटा–एउटा चेकमा एउटै चेकलिस्ट दोहोर्याउँदै जाँदा कुनै एउटा बुँदा छुट्न सक्थ्यो । अटोमेसनले त्यही सम्भावित ग्यापलाई प्रणालीगत रूपमा सम्बोधन गर्छ । तर क्वीक सीसीएले सुरुआतदेखि नै मानिसलाई पूर्ण रूपमा प्रक्रियाबाट बाहिर राखेको छैन ।
‘ग्रीन’ र ‘रेड’ : मानिस अझै अन्तिम निर्णायक
बैंकिङजस्तो संवेदनशील क्षेत्रमा अटोमेसन लागू गर्दा सबैभन्दा महत्वपूर्ण प्रश्न हुन्छ, अन्तिम निर्णय कसले गर्छ ?
क्वीक सीसीएको प्रारम्भिक डिजाइनमा यसको उत्तर हो, ह्युमन-इन-द-लूप । प्रणालीले विभिन्न भ्यालिडेसनका आधारमा चेकलाई ग्रीन वा रेड संकेतका रूपमा देखाउन सक्छ। निश्चित क्राइटेरिया पूरा भएका चेकलाई अटो-क्लियरिङतर्फ लैजान सकिन्छ भने आवश्यक परेका अवस्थामा कर्मचारीले अन्तिम स्वीकृति दिन्छन् ।
यसले अटोमेसन र मानवीय निगरानीबीच एउटा व्यावहारिक सन्तुलन बनाउँछ । कम्पनीको दृष्टिमा अटोमेसनको उद्देश्य मानिसलाई हटाउनु होइन; मानिसले गर्नुपर्ने दोहोरिने काम घटाएर निर्णय, निगरानी र उच्च-मूल्यका काममा केन्द्रित गराउनु हो ।
ओसीआरको आफ्नै यात्रा
क्वीक सीसीएको अर्को महत्वपूर्ण तह हो, ओसीआर (अप्टिकल क्यारेक्टर रिकग्निसन)। नेपाली चेक र कागजात पढ्नु अंग्रेजी कागजात पढेजस्तो सरल छैन । नेपाली अक्षर, हस्तलिखित विवरण, विभिन्न बैंकका फारम्याट र चेकको भौतिक विविधताले ओसीआरको एकुरेसी चुनौतीपूर्ण बनाउँछ ।
कम्पनीले आफ्नो नेपाली ओसीआरको एकुरेसी सुरुआती ७० प्रतिशतबाट बढाएर ९० प्रतिशतभन्दा माथि पुर्याएको बताउँछ । अंग्रेजी ओसीआर भने करिब ९९ प्रतिशतभन्दा माथिको एकुरेसीमा पुग्ने कम्पनीको दाबी छ । यसका लागि कम्पनीले आफ्नै ओसीआर टुलसँगै बैंकको आवश्यकता र एकुरेसीको मागअनुसार जेमिनाइ ओसीआर पनि प्रयोग गर्छ ।
यसको अर्थ क्वीक सीसीए एउटा स्थिर टुलभन्दा पनि बैंकको आवश्यकता अनुसार फरक प्रविधि संयोजन गर्न सक्ने प्लेटफर्मका रूपमा विकास भइरहेको छ ।
केही मानिसले हजारौँ चेक सम्हाल्ने अवस्था
क्वीक सीसीएको प्रभाव बुझाउने एउटा उदाहरण ग्लोबल बैंकको असार मसान्तको अनुभव हो । वित्तीय वर्षको अन्त्यतिर चेकको मात्रा बढेर दैनिक १० हजारसम्म पुगेको अवस्थामा पनि पहिले ठूलो जनशक्ति आवश्यक पर्ने क्लियरिङ कामलाई बैंकको टोलीले समयमै सम्पन्न गरेको कम्पनी बताउँछ ।
कम्पनीका अनुसार त्यस समयमा करिब ३२ जनाको टोली संलग्न रहेको अवस्थामा पनि सबै चेक प्रशोधन गरी बेलुका पाँच बजेसम्म काम सकिएको थियो र ढिलाइका कारण पेनाल्टी तिर्नुपर्ने अवस्था आएन । पल्लव पराजुलीका लागि यस्तो उदाहरण नै उत्पादनको वास्तविक परीक्षण हो ।
“असार मसान्तमा दैनिक १० हजारसम्म चेक आउँदा पनि ३२ जनाको टिमले समयमै सहज रूपमा पाँच बजे नै काम सम्पन्न गरेर जान सकेको थियो ।” अटोमेसनले बचत गरेको समय केवल बैंकको लागत घटाउने कुरा होइन । त्यही जनशक्तिलाई अन्य आवश्यक काममा परिचालन गर्न सकिने सम्भावना पनि यससँग जोडिन्छ ।
एपीआई नभए पनि अटोमेसन
बैंकिङ प्रणालीहरू एकै पुस्ताका छैनन् । नेपालका बैंकहरूले इन्फोसिस फिनाकल, पुमोरी र टेमेनोस टी२४ जस्ता विभिन्न कोर बैंकिङ सिस्टम प्रयोग गर्छन् । ती सिस्टम वरिपरि दर्जनौँ अन्य पेरिफेरल एप्लिकेसन पनि चलिरहेका हुन्छन् ।
यस्तो अवस्थामा नयाँ अटोमेसन लागू गर्न पुरानो सीबीएस नै फेर्नुपर्ने हो भने परियोजना निकै जटिल र महँगो हुन सक्छ । क्वीक सीसीएको अवधारणा भने फरक छ ।
“Finacle, Pomi, वा Temenos T24 जस्ता कोर बैंकिङ सिस्टमहरू नफेरीकनै एआई र अटोमेसन जोडेर प्रक्रियालाई सहज बनाउन सकिन्छ ।”
जहाँ आधुनिक एपीआई (एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस) उपलब्ध छैन, त्यहाँ पनि कम्पनीको क्विक आरपीए (रोबोटिक प्रोसेस अटोमेसन)ले प्रयोगकर्ताले गर्ने कामलाई सफ्टवेयर रोबोटमार्फत सञ्चालन गर्न सक्छ । अर्थात्, बैंकको पुरानो प्रणाली हटाउने होइन; त्यसको वरिपरि अटोमेसनको तह थप्ने ।
यही अवधारणाले लेगेसी सिस्टममा काम गरिरहेका बैंकहरूका लागि क्वीक सीसीएलाई व्यावहारिक बनाएको कम्पनीको बुझाइ छ ।
सुरक्षाको प्रश्न र अन-प्रेमिस मोडल
बैंकिङ डाटासँग जोडिएको कुनै पनि अटोमेसनको चर्चा सुरक्षाबिना पूरा हुँदैन । क्वीक सीसीए बैंककै अन-प्रेमिस सर्भरमा डिप्लोय गर्न सकिने गरी विकास गरिएको छ र कम्पनीले यसलाई भीएपीटी (VAPT) कम्प्लायन्ट रहेको बताउँछ । यसको अर्थ संवेदनशील बैंकिङ डाटा बाहिरी सार्वजनिक वातावरणमा पठाउनेभन्दा बैंकको आफ्नै पूर्वाधारभित्रै समाधान राख्न सकिने मोडल हो ।
कम्पनीको अर्को तर्क डाटा सोभरेन्टीसँग सम्बन्धित छ । विश्वका ठूला क्लाउड र एआई सेवा प्रदायकका सबै स्थानीय पूर्वाधार नेपालमै उपलब्ध नहुन सक्ने अवस्थामा बैंकिङ क्षेत्रले सुरक्षा, कम्प्लायन्स र व्यावहारिक उपयोगिताबीच सन्तुलन खोज्नुपर्ने पराजुलीको धारणा छ ।

क्विक आरपीएबाट क्वीक सीसीए सम्म
क्वीक सीसीए कुनै एक दिनमा जन्मिएको उत्पादन होइन । क्विक फक्स कन्सल्टिङले बैंकका समस्या नजिकबाट बुझ्ने क्रममा पहिले क्विक आरपीएजस्ता अटोमेसन टुलमा काम गरेको थियो । यही अनुभवले बैंकिङ प्रक्रियामा कहाँ मानिसले अनावश्यक रूपमा दोहोरिने काम गरिरहेको छ, कहाँ सिस्टमबीचको ग्याप छ र कहाँ अटोमेसनको सम्भावना छ भन्ने बुझ्न मद्दत गर्यो ।
सन् २०२३ मा क्विक आरपीएले आईसीटी अवार्ड प्राप्त गर्नु कम्पनीका लागि बजारको मान्यता र उत्पादनमाथिको विश्वास निर्माण गर्ने एउटा महत्वपूर्ण चरण बन्यो । क्वीक सीसीएको सुरुआती विकासमा समीर पाण्डे, सिस्टम आर्किटेक्ट सागर ढकाल र बिजनेस डेभलपमेन्टतर्फ सिरिना श्रेष्ठसहितको टोली संलग्न थियो । ब्याकइन्डमा अन्य इन्जिनियरहरूको सहयोग थियो ।
सानो टोलीबाट सुरु भएको उत्पादन अहिले बैंकिङ अपरेसनमा प्रयोग हुने समाधानमा परिणत भएको छ ।

चेक सकिएन, समस्या भने नयाँ रूपमा बदलियो
डिजिटल पेमेन्ट तीव्र रूपमा बढिरहँदा एउटा प्रश्न उठ्छ, चेकको भविष्य के हो ? कम्पनीको अनुभवले तत्कालै चेकको प्रयोग समाप्त हुने संकेत गर्दैन । विशेष गरी बैंकिङ क्षेत्रमा विभिन्न कारोबार सीमा, संस्थागत प्रक्रिया र परम्परागत प्रयोगका कारण भौतिक चेक अझै प्रयोगमा छन् ।
त्यसैले क्वीक सीसीएको उद्देश्य चेकलाई डिजिटल पेमेन्टले विस्थापित गर्ने होइन; चेक रहेसम्म त्यसको प्रशोधनलाई डिजिटल र अटोमेटेड बनाउने हो । तर कम्पनीको महत्वाकांक्षा त्यतिमै सीमित छैन ।
चेकबाट कम्प्लायन्स करेस्पोन्डेन्ससम्म
क्वीक सीसीएबाट प्राप्त बैंकिङ प्रक्रिया, कागजात र अटोमेसनको अनुभवलाई अर्को क्षेत्रमा विस्तार गर्दै कम्पनीले कम्प्लायन्स करेस्पोन्डेन्ससम्बन्धी समाधान पनि अघि सारेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार निश्चित समयभित्र खाता रोक्का वा अन्य कम्प्लायन्ससम्बन्धी पत्रमा प्रतिक्रिया दिनुपर्ने अवस्था आउँछ। यस्ता पत्रहरू प्रायः अनस्ट्रक्चर्ड कागजातका रूपमा आउन सक्छन् ।
प्रणालीले त्यस्ता कागजातबाट आवश्यक डाटा निकाल्ने, सम्बन्धित सीबीएस विवरणसँग भेरिफाइ गर्ने र आवश्यक पत्रको जवाफ तयार गर्ने प्रक्रियालाई अटोमेट गर्न सक्छ । यसमा राष्ट्र बैंकको ४८ घण्टे समयसीमा पालना गर्नु महत्वपूर्ण पक्ष हो ।
यसरी हेर्दा क्वीक सीसीए एउटा चेक क्लियरिङ टुलमा सीमित छैन । यसले बैंकमा कागजात-आधारित र नियम-आधारित दोहोरिने कामहरूलाई अटोमेट गर्ने ठूलो अवधारणातर्फ कम्पनीलाई लैजाँदैछ ।
Quick Studio : कोडिङबिनाको अर्को पाइला
यही यात्राको अर्को उत्पादन हो क्वीक स्टुडियो (Quick Studio)। नो-कोड/लो-कोड अवधारणामा आधारित यो टुलमार्फत धेरै प्राविधिक कोड नलेखी वर्कफ्लो अटोमेट गर्न सकिने कम्पनीको भनाइ छ ।
यसको सुरुआती बजार नेपाल मात्र होइन, अमेरिका हो । अमेरिकी क्रेडिट युनियन र मिड-साइज बैंकहरूलाई लक्षित गर्दै यसको डिप्लोयमेन्ट अघि बढाइएको छ । कम्पनीका अनुसार १० भन्दा बढी क्रेडिट युनियन तथा मिड-साइज बैंकमा यसको प्रयोग विस्तार गर्ने काम भइरहेको छ ।
नेपालबाट सुरु भएको समस्या समाधानको सोच विस्तारै अन्तर्राष्ट्रिय बजारसम्म पुग्दैछ । कम्पनीको सञ्चालन अमेरिका, अस्ट्रेलिया र श्रीलंकासम्म विस्तार भइरहेको छ ।
स्थानीय समस्याबाट विश्व बजारसम्म
नेपालको बैंकमा दैनिक हजारौँ चेक प्रशोधन गर्नुपर्ने समस्या स्थानीय समस्या हो । तर यसको मूल संरचना; कागजात पढ्ने, विवरण निकाल्ने, विभिन्न नियमअनुसार जाँच्ने, अर्को सिस्टममा इन्ट्री गर्ने र समयसीमाभित्र निर्णय गर्ने, विश्वका धेरै वित्तीय संस्थामा दोहोरिन सक्छ ।
त्यसैले कम्पनीले अमेरिका, अस्ट्रेलिया, श्रीलंका र भारतजस्ता बजारमा चेक तथा ओसीआर अटोमेसनको सम्भावना देखेको छ ।
पराजुलीको दृष्टिमा यही क्वीक सीसीएको अर्को सम्भावित अध्याय हो, नेपालमा एउटा बैंकको समस्या समाधान गर्दा विकसित भएको प्रविधिलाई विश्वका अन्य वित्तीय संस्थाको समान प्रकृतिको समस्यामा प्रयोग गर्ने ।
एउटा सानो टोलीबाट सुरु भएको ठूलो सोच
क्वीक सीसीएको कथा अन्ततः प्रविधिको कथा मात्र होइन । यो बैंकको अपरेसनमा रहेको एउटा सानो देखिने समस्यालाई गहिरोसँग बुझ्ने, त्यसको पछाडि लुकेको ठूलो समय र श्रमको लागत पहिचान गर्ने र त्यसलाई क्रमशः सफ्टवेयर, ओसीआर, आरपीए, एआई र ह्युमन-इन-द-लूपको संयोजनमार्फत समाधान गर्ने कथा हो ।
पल्लव पराजुलीको भनाइमा कम्पनीको भूमिका प्रविधि थुपार्नेभन्दा बैंकसँगै बसेर समस्या समाधान गर्ने साझेदारको हो । “हामी प्रविधि थुपार्नेभन्दा पनि बैंकहरूसँग सहकार्य गरी समस्या समाधान गर्ने परामर्शदाता र पार्टनरका रूपमा अघि बढिरहेका छौँ ।”
त्यही सोचले क्वीक सीसीएलाई एउटा उत्पादनभन्दा पनि बैंकिङ प्रोसेस अटोमेसनको प्लेटफर्मका रूपमा अघि बढाइरहेको देखिन्छ ।
आज एउटा चेक तीन–चार मिनेटबाट १६ सेकेन्डमा झरेको छ । दुईवटा पोर्टलमा धाइरहनुपर्ने बाध्यता घटेको छ । २२ वटा भ्यालिडेसन पोइन्टलाई प्रणालीले जाँच्न थालेको छ । ओसीआर एकुरेसी बढेको छ । एपीआई नभएका लेगेसी सिस्टममा पनि आरपीए जोडिएको छ । र अब प्रश्न चेकको एउटा प्रक्रिया कति छिटो भयो भन्नेमा मात्र सीमित छैन ।
प्रश्न हो, बैंकमा अझै कति यस्ता काम छन्, जुन मानिसले गरिरहेका छन् तर मेसिनले गर्न सक्छ ? क्वीक सीसीएको यात्रा सम्भवतः यही प्रश्नको उत्तर खोज्ने यात्राको एउटा सुरुआत हो ।
क्विक फक्स कन्सल्टिङले आईसीटी अवार्डमार्फत प्राप्त गरेको बजार विश्वासलाई पनि यही ठूलो इनोभेसन यात्राको एउटा हिस्सा मानेको छ । कम्पनीको धारणा छ, नेपालका स्थापित कम्पनीहरूले पनि यस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रविधि प्रतिस्पर्धामा सहभागी भएर नेपाली प्रविधिलाई विश्वस्तरमा चिनाउन भूमिका खेल्नुपर्छ। एपीआईसीटीए (एशिया प्यासिफिक आईसीटी एलायन्स) जस्ता अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्ने बाटो पनि यिनै प्रयासबाट खुल्न सक्छ ।
नेपालको बैंकमा देखिएको ६ हजार चेकको दैनिक समस्या आज १६ सेकेन्डको अटोमेसनमा रूपान्तरण भएको छ । त्यसैले क्वीक सीसीएको सबैभन्दा महत्वपूर्ण उपलब्धि शायद चेक छिटो क्लियर हुनु मात्र होइन, स्थानीय समस्यालाई गहिरोसँग बुझेर त्यसलाई विश्व बजारमा लैजान सकिने प्रविधिमा बदल्न सकिन्छ भन्ने प्रमाणित गर्नु हो ।
स्नेहा झा