काठमाडौं । नेपालमा विज्ञान तथा प्रविधिको उत्कृष्टताको कुरा गर्दा एउटा प्रश्न बारम्बार उठ्छ, नेपालसँग प्रतिभाको कमी छ कि प्रतिभालाई लामो समयसम्म ठूलो प्रश्न पछ्याएर काम गर्न सक्ने वातावरणको ?
डा. विशेष खनालको यात्रा यही प्रश्नको उत्तर खोज्ने यात्राजस्तो देखिन्छ । उनको कथा विदेशमा अवसर पाएर उतै स्थापित भएका एक नेपाली वैज्ञानिकको कथा मात्र होइन । यो कथा उत्कृष्ट अनुसन्धानको संस्कार देखेपछि त्यसलाई नेपालमा कसरी संस्थागत गर्न सकिन्छ भन्ने प्रयासको पनि हो । अझ गहिरिएर हेर्दा, यो व्यक्तिगत करियरबाट संस्थागत क्षमतातर्फ अघि बढेको एउटा यात्राको कथा हो ।
नेपालबाट बाहिरिँदै गर्दा नै खनालको मनमा फर्किने योजना थियो । उनी सन् २०१० मा नेपाल छोड्दा भविष्यमा स्वदेश फर्किने लक्ष्य बोकेर गएका थिए । उनको व्यक्तिगत लक्ष्य थियो, सन् २०२० सम्म नेपाल फर्किने । तर त्यो निर्णय कुनै क्षणिक भावुकता वा आवेगको परिणाम थिएन । यसको जरा उनको विद्यार्थी जीवनमै थियो ।
पुलचोकबाट सुरु भएको प्रश्न
इन्जिनियरिङ अध्ययनका लागि पुलचोक क्याम्पस पुगेका खनाल रोबोटिक्स तथा प्रविधिसम्बन्धी गतिविधिमा पनि सक्रिय थिए । त्यही क्रममा उनले नेपालको उच्च शिक्षा र अनुसन्धान प्रणालीलाई नजिकबाट बुझ्ने अवसर पाए । उनले समस्या प्रतिभाको अभावमा देखेनन् । नेपालमै मेहनती र क्षमतावान् प्राज्ञिक तथा अनुसन्धानकर्ता थिए, केही उत्कृष्ट काम पनि भइरहेको थियो । तर ती व्यक्तिगत प्रयासलाई दीर्घकालीन अनुसन्धान संस्कारमा रूपान्तरण गर्ने संस्थागत आधार कमजोर थियो ।
पाँच, दस वा बीस वर्षसम्म एउटै ठूलो वैज्ञानिक प्रश्न पछ्याएर काम गर्ने वातावरण कस्तो हुनुपर्छ ? एउटा अनुसन्धानकर्ताले आफ्नो जिज्ञासामा दशकौँ लगानी गर्न सक्ने संस्था कसरी निर्माण हुन्छ ? खनालको चासो विस्तारै यिनै प्रश्नतर्फ केन्द्रित हुन थाल्यो ।
पुलचोकमै इनोभेसन ल्याब स्थापना गर्ने प्रयासका क्रममा उनले अर्को समस्या पनि महसुस गरे, संरचनात्मक जटिलता । एउटा व्यक्तिले नयाँ काम सुरु गर्न सक्छ, तर एउटै व्यक्तिले पूरै संस्थाको चरित्र बदल्न सक्दैन । त्यस अनुभवले उनलाई एउटा आधारभूत पाठ सिकायो, उत्कृष्ट काम गर्न प्रतिभा र इच्छाशक्ति मात्र पर्याप्त हुँदैन, त्यसलाई टिकाइराख्ने संस्था पनि चाहिन्छ ।
विदेशले सिकाएको अर्को पाठ
फ्रान्स पुगेपछि उनको अनुसन्धानसम्बन्धी दृष्टि अझ फराकिलो भयो । इनरिया (INRIA) तथा सीएनआरएसजस्ता संस्थासँगको अनुभवले उनले अनुसन्धान विश्वविद्यालयको कक्षाकोठा र प्रयोगशालाभित्र मात्र सीमित हुँदैन भन्ने देखे । विशेष अनुसन्धानका लागि छुट्टै संस्था, स्वतन्त्र अनुसन्धान संस्कृति र दीर्घकालीन लगानीको मोडल पनि विकास गर्न सकिन्छ ।
तर विदेशबाट उनले सिकेको सबैभन्दा महत्वपूर्ण कुरा कुनै प्रविधि वा अनुसन्धान विधि थिएन । त्यो थियो- ठूला प्रश्न सोध्ने तरिका ।
प्राविधिक सीप किताब, प्रयोगशाला, पाठ्यक्रम र तालिमबाट सिक्न सकिन्छ । तर अनुसन्धानको गहिराइ त्यसभन्दा अगाडि सुरु हुन्छ । कुन प्रश्न सोध्ने ? किन सोध्ने ? त्यसलाई कति लामो समयसम्म पछ्याउने ? र एउटा प्रश्नलाई कति गहिराइसम्म लैजान सकिन्छ ?
उनका लागि अनुसन्धानको वास्तविक अर्थ यहीँबाट सुरु हुन्छ । उनले आफ्ना विद्यावारिधिका मार्गदर्शकको उदाहरणबाट एउटा अनुसन्धान प्रश्न कसरी १९९० को दशकदेखि दशकौँसम्म पछ्याइँदा त्यसकै वरिपरि नयाँ अनुसन्धान क्षेत्र विकसित हुन सक्छ भन्ने अनुभव गरे । यसले उनको विज्ञानसम्बन्धी बुझाइ थप बलियो बनायो ।
उनका लागि वैज्ञानिक लेख प्रकाशन गर्नु व्यक्तिगत प्रतिष्ठा वा करियर निर्माणको साधन मात्र होइन । अनुसन्धानबाट सिर्जना भएको ज्ञान अरूले प्रयोग गर्न सकून्, त्यसमाथि थप काम गर्न सकून् र विज्ञानलाई अगाडि बढाउन सकून अनुसन्धानको मूल अर्थ उनी यही मान्छन् ।
डा. खनालको दृष्टिमा विज्ञान इँटा थप्दै जाने काम हो । एउटा पुस्ताले एउटा इँटा थप्छ, अर्को पुस्ताले त्यसमाथि अर्को इँटा राख्छ, अनि दशकौँपछि त्यसबाट ठूलो संरचना बन्छ ।
फर्किने निर्णय किन बलियो भयो ?
सन् २०१० मा नेपाल छोड्दा फर्किने लक्ष्य थियो । तर विदेशमा बिताएका वर्षहरूले त्यो लक्ष्यलाई अझ गहिरो बनाए । कम्प्युटर विज्ञान र चिकित्सा विज्ञानको संगममा काम गर्दा उनले संसारका विभिन्न भूगोलबीचको अनुसन्धान असमानता अझ स्पष्ट रूपमा देखे ।
स्रोत सम्पन्न देशहरू स्वाभाविक रूपमा आफ्ना प्राथमिकताका समस्यामा ठूलो अनुसन्धान क्षमता केन्द्रित गर्न सक्छन् । विश्वव्यापी समस्या समाधानका प्रयास भइरहे पनि दक्षिण एसिया, अफ्रिका र ल्याटिन अमेरिकाजस्ता क्षेत्रका विशिष्ट समस्याका लागि त्यही अनुपातमा वैज्ञानिक क्षमता र स्रोत परिचालित नहुने उनको अनुभूति थियो ।
यहींबाट उनको सोचमा एउटा नयाँ तह थपियो- विश्वका ठूलो जनसंख्या बस्ने तर स्रोतको हिसाबले कमजोर ठाउँहरूमा पनि उत्कृष्ट वैज्ञानिक र अभिनवी समुदाय निर्माण गर्नुपर्छ । समस्या जहाँ ठूलो छ, समस्या समाधान गर्ने क्षमता पनि त्यहीँ हुनुपर्छ ।
यस बिन्दुमा उनको व्यक्तिगत इच्छा र संस्थागत सपना एक ठाउँमा आए ।
विदेश छोड्नु हार होइन, रोजाइ
नेपाल फर्किने उनको निर्णयलाई विदेशप्रतिको असन्तुष्टिका रूपमा बुझ्न मिल्दैन । उनी विदेशमा सन्तुष्ट थिए । उत्कृष्ट वैज्ञानिकसँग काम गर्ने, राम्रो अनुसन्धान गर्ने र राम्रो अनुसन्धान वातावरण पाउने अवसर उनले पाए । त्यसैले उनको नेपाल फर्काइ पलायनको उल्टो कथा होइन, रोजाइको कथा हो ।
उनका अगाडि दुई बाटा थिए । पहिलो, आफ्नै अनुसन्धान क्षेत्रमा अझ गहिरिएर विश्वस्तरीय वैज्ञानिकका रूपमा करियर अगाडि बढाउने । दोस्रो, अनुसन्धानलाई निरन्तरता दिँदै संस्था निर्माण गर्ने र नेपालजस्तो स्रोत सीमित वातावरणमा उत्कृष्ट अनुसन्धानको संस्कृति विकास गर्ने ।
उनले दोस्रो बाटो रोजे । किनकि प्रश्न अब आफू कति ठूलो वैज्ञानिक बन्ने भन्नेमा मात्र सीमित रहेन । प्रश्न बदलियो, नेपालमा कति ठूलो वैज्ञानिक समुदाय निर्माण गर्न सकिन्छ ?

नामी : अनुसन्धान संस्थाभन्दा ठूलो एउटा माहोल
यही सोचको संस्थागत अभिव्यक्ति हो, नामी ।
नामी कुनै एक दिनमा जन्मिएको परियोजना होइन । विदेशमा मास्टर्स र विद्यावारिधिका क्रममा जोडिएका साथीहरूबीच वर्षौँसम्म भएको छलफल, बहस र साझा आकांक्षाबाट यसको अवधारणा विकसित भएको हो ।
उनीहरू विश्वका उत्कृष्ट प्रयोगशाला र अनुसन्धान संस्थामा पुगेका थिए, प्रतिस्पर्धा गरेका थिए र त्यहाँ उत्कृष्ट काम गर्ने सम्भावना आफूहरूभित्रै देखेका थिए । त्यसपछि प्रश्न उठ्यो, यही स्तरको काम नेपालमा किन हुन सक्दैन ? उत्तर निराशामा खोजिएन । उत्तर संस्था निर्माणमा खोजियो ।
नामीको लक्ष्य एउटा अनुसन्धान संस्था बनाउनुमा मात्र सीमित रहेन । यसको परिकल्पना ज्ञान उत्पादन गर्ने, ज्ञान सम्प्रेषण गर्ने, अनुसन्धानतर्फ नयाँ पुस्तालाई आकर्षित गर्ने र त्यसलाई उद्योग, उद्यमशीलता तथा नीतिसँग जोड्ने वातावरण निर्माण गर्ने थियो । यसलाई मोटामोटी तीन तहमा बुझ्न सकिन्छ ।
पहिलो, ज्ञान उत्पादन; अनुसन्धानकर्ता, वैज्ञानिक र अनुसन्धान समूहको निर्माण ।
दोस्रो, ज्ञान सम्प्रेषण र वैज्ञानिक संस्कार; मानिसमा प्रश्न गर्ने बानी, जिज्ञासा र अनुसन्धानप्रतिको उत्साह विकास गर्ने काम ।
तेस्रो, अनुसन्धानबाट वास्तविक समस्या समाधान गर्ने र त्यसलाई उद्योग, उद्यमशीलता तथा अर्थतन्त्रसँग जोड्ने संरचना । त्यसमाथि सार्वजनिक नीति जोडिन्छ ।
अर्थात्, प्रयोगशालाबाट उद्योगसम्म, अनुसन्धानबाट नीतिसम्म पुग्ने एउटा पूर्ण चक्र निर्माण गर्ने प्रयास नै नामीको अवधारणा हो ।
नेपालको समस्या प्रतिभाको मात्र होइन
खनाल नेपालको अनुसन्धान प्रणाली कमजोर हुनुको कारण केवल विश्वविद्यालय, सरकार वा बजेटमा सीमित देख्दैनन् । उनका अनुसार यसको जरा नेपालको पछिल्ला दशकको आर्थिक, राजनीतिक र सामाजिक संरचनासम्म फैलिएको छ ।
नेपालमा एउटा गहिरो सामाजिक धारणा विकसित भएको छ, विदेश राम्रो हो । राम्रो शिक्षा विदेशमा । राम्रो स्वास्थ्य विदेशमा । राम्रो आय विदेशमा । प्रतिष्ठा पनि विदेशसँग जोडिएको ।
यो मानसिकताका पछाडि द्वन्द्वको इतिहास, सीमित आर्थिक अवसर, रोजगारीको अभाव, विदेशी संस्थासँग जोडिएको सामाजिक हैसियत, अंग्रेजी भाषाप्रतिको आकर्षण र आफ्नै क्षमताप्रतिको हिनताबोधजस्ता धेरै कारण रहेको उनी बताउँछन् ।
त्यसबाट एउटा विरोधाभास जन्मिन्छ । एकातिर विदेशलाई नै सफलता र अवसरको अन्तिम गन्तव्य मान्ने मानसिकता, अर्कोतिर आफ्नै देश र समाजप्रति गर्व गर्ने तर संस्थागत परिवर्तनका लागि पर्याप्त काम नगर्ने प्रवृत्ति ।
उनका लागि यी दुवै अतिमा समान समस्या छ, देशभित्र बलिया संस्था निर्माण गर्ने प्रयास कमजोर हुनु ।
जब उत्कृष्ट प्रतिभा बाहिर जानुलाई नै स्वाभाविक र अन्तिम समाधान मानिन्छ, देशभित्र संस्था बनाउने दबाब पनि घट्दै जान्छ । व्यक्तिहरू सफल हुन्छन्, तर संस्था बलियो बन्न सक्दैनन् ।
यसैले खनालको चिन्ताको केन्द्रमा एउटा फराकिलो प्रश्न छ, नेपालले उत्कृष्ट व्यक्तिहरू मात्र उत्पादन गर्ने कि उत्कृष्ट संस्था पनि बनाउने ?
ज्ञान, बौद्धिकता र ‘सियुडो-बुद्धिजीवी’
खनालको आलोचना राज्य वा विश्वविद्यालयमा मात्र सीमित छैन । उनी सार्वजनिक बौद्धिक संस्कारमाथि पनि प्रश्न उठाउँछन् । उनका अनुसार गहिरो ज्ञान उत्पादन गर्ने व्यक्तिले लोकप्रियता, राजनीतिक प्रतिक्रिया वा बाह्य प्रशंसाभन्दा माथि उठेर सत्यको खोजी गर्न सक्नुपर्छ । तर अनुसन्धानको निरन्तर अभ्यासभन्दा सार्वजनिक बहसमा कसले के भन्यो भन्ने कुरा बढी प्रभावशाली हुने अवस्था देखिन सक्ने उनको चिन्ता छ ।
यही सन्दर्भमा उनी ‘सियुडो-बुद्धिजीवी’ (pseudo) शब्द प्रयोग गर्छन् जसको अर्थ लामो समयदेखि अनुसन्धानमा संलग्न नभएपनि सार्वजनिक विमर्शमा विशेषज्ञ वा वैज्ञानिकको रूपमा प्रभाव पार्ने व्यक्तिका लागि ।
यसको जोखिम उनले सतही निष्कर्ष, कमजोर प्रमाण र त्यसकै आधारमा बन्ने सार्वजनिक नीति तथा सामाजिक बहसमा देख्छन् । यसको समाधान पनि उनी ज्ञान उत्पादनमै देख्छन् ।
निरन्तर अनुसन्धान चाहिन्छ । अनुसन्धानको आलोचनात्मक मूल्यांकन गर्ने संस्कृति चाहिन्छ । र अनुसन्धानबाट निस्किएको ज्ञानलाई नीति, कानुन, संस्था र व्यवहारमा रूपान्तरण गर्ने संरचना चाहिन्छ ।
उत्कृष्टता केन्द्रभन्दा अगाडि
नामीलाई खनालले नेपालकै परिवेशमा उत्कृष्टता केन्द्रका रूपमा देख्छन् । तर यो केवल प्रतिष्ठाको शब्द होइन । उनी यसलाई राज्यका लागि रणनीतिक अनुसन्धान केन्द्रका रूपमा पनि हेर्छन् । विशेष गरी एआईको युगमा देशले आफ्नै भविष्यसँग सम्बन्धित प्रश्नहरू आफैं बुझ्नुपर्ने आवश्यकता उनले देखेका छन् ।
एआईले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, अर्थतन्त्र, सार्वजनिक सेवादेखि कूटनीतिसम्म प्रभाव पार्न सक्छ । यस्तो अवस्थामा नेपालले बाहिरबाट तयार भएका नीति र मोडलको अनुकरण मात्र गर्ने कि आफ्नै आवश्यकता, आकांक्षा र सामाजिक संरचनाका आधारमा आफ्नो रणनीति बनाउने ? त्यसका लागि अनुसन्धान अपरिहार्य हुन्छ ।
एआई कूटनीति भनेको के हो ? यसले श्रम बजारलाई कसरी बदल्छ ? विकासशील देशका लागि यसका अवसर र जोखिम के हुन् ? नेपालले विश्वसँग के माग्नुपर्छ ? कुन अधिकारका लागि आवाज उठाउनुपर्छ ?
यी प्रश्नको तयारी बिना एआईबारे राष्ट्रिय रणनीति निर्माण गर्न कठिन हुन्छ ।
एआई र स्वास्थ्य : प्रविधि होइन, पहुँचको प्रश्न
पछिल्लो एक दशकभन्दा बढी समय खनालको अनुसन्धान स्वास्थ्य क्षेत्रमा केन्द्रित रह्यो । यहाँ पनि उनको मूल प्रश्न प्रविधिको प्रदर्शन होइन, सीमित स्रोत भएका देशमा गुणस्तरीय स्वास्थ्य सेवा सबैसम्म कसरी पुर्याउने भन्ने हो ।
हरेक गाउँमा विशेषज्ञ डाक्टर पुर्याउनु वा हरेक ठाउँमा अस्पताल निर्माण गर्नु व्यवहारमा सधैं सम्भव नहुन सक्छ । त्यसैले नेपालले स्वास्थ्य सेवा विभिन्न तहमा बाँडेर सञ्चालन गर्दै आएको छ । कतै विशेषज्ञको स्थानमा सामान्य चिकित्सक, कतै डाक्टरको स्थानमा नर्स, कतै अन्य स्वास्थ्यकर्मीले सेवा दिइरहेका हुन्छन् । यही संरचनाभित्र एआईले नयाँ सम्भावना खोल्न सक्ने उनी देख्छन् ।
एआईले डाक्टरलाई विस्थापित गर्नेभन्दा पनि पहिलेदेखि स्वास्थ्य प्रणालीमा रहेका जनशक्तिलाई अझ सक्षम बनाउने उनको सोच हो । गाउँमा विशेषज्ञ डाक्टर नपुगे पनि त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले एआईको सहयोगमा अझ राम्रो निर्णय गर्न सकून्, थप सेवा प्रदान गर्न सकून् र आवश्यक पर्दा विशेषज्ञसँग जोडिन सकून्य, स दिशामा अनुसन्धानको ठूलो सम्भावना उनी देख्छन् ।
अन्ततः प्रश्न प्रविधि कति शक्तिशाली छ भन्नेमा मात्र छैन । प्रश्न त्यसलाई स्वास्थ्य सेवाको वास्तविक संरचनासँग कसरी जोड्ने भन्ने हो ।
अबको ठूलो प्रश्न : मानिसले एआईसँग कसरी काम गर्ने ?
एआईको विकाससँगै उनको अनुसन्धान रुचि अर्को प्रश्नतर्फ सर्दै गएको छ । एआईले के गर्न सक्छ भन्ने प्रश्न अब एक्लो रहेन । नयाँ प्रश्न हो, मानिसले एआईसँग कसरी काम गर्ने ?
स्वास्थ्य क्षेत्रमा डाक्टर, रेडियोलोजिस्ट, नर्स, स्वास्थ्य सहायकदेखि महिला स्वास्थ्य स्वयंसेविकासम्म फरक-फरक भूमिकाका कामदार छन् । एआई व्यापक रूपमा प्रयोग हुने हो भने यी सबै भूमिकामा पुनःसीप विकास आवश्यक पर्न सक्छ ।
कामको स्वरूप बदलिन सक्छ । मानिस र एआईबीच सहकार्यका नयाँ तरिका आवश्यक पर्न सक्छन् । कुन निर्णय मानिसले गर्ने ? कुन निर्णयमा एआईले सहयोग गर्ने ? जिम्मेवारी कसरी बाँड्ने ? स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा यस्तो सहकार्यको प्रभाव कसरी मापन गर्ने ?
यी प्रश्नले भविष्यको अनुसन्धानको अर्को ठूलो क्षेत्रतर्फ संकेत गर्छन् ।
शिक्षा प्रणालीलाई एआईले सोधेको प्रश्न
एआईले अनुसन्धान मात्र होइन, शिक्षाको परम्परागत संरचनालाई पनि चुनौती दिएको खनालको बुझाइ छ । नेपालको शिक्षा प्रणाली अझै पनि धेरै हदसम्म परीक्षा केन्द्रित छ । विद्यार्थीलाई प्रश्न बुझेर खोज्न र अन्वेषण गर्नुभन्दा परीक्षा पास गर्न आवश्यक उत्तर सम्झनतर्फ बढी धकेलिन्छ ।
तर एआईले धेरै पारम्परिक सीपलाई सजिलो बनाइरहेको अवस्थामा शिक्षाले आजका बालबालिकालाई के सिकाउने ?
लेखन, गणना वा सूचनालाई व्यवस्थित गर्ने कामहरू एआईले सजिलो बनाउन सक्छ । यसको अर्थ ती सीपको महत्त्व पूर्ण रूपमा समाप्त हुन्छ भन्ने होइन। तर तिनको सापेक्ष महत्त्व बदलिन सक्छ ।
त्यसैले आजको विद्यार्थीलाई १५ वा २० वर्षपछि आवश्यक पर्ने संसारका लागि के सिकाउने भन्ने प्रश्न अझ जटिल बन्दैछ । यसको पूर्ण उत्तर खनालसँग पनि छैन । र उनी त्यसलाई स्वीकार गर्छन् ।
त्यसैले उनको आग्रह भविष्यवाणी गर्नुभन्दा प्रयोग र अनुसन्धानतर्फ छ । कुनै देशले एआईलाई विद्यालयमा प्रतिबन्ध लगाउँदा परिणाम के भयो ? खुला प्रयोग हुँदा के भयो ? सिकाइ, सिर्जनशीलता र सीपमा कस्तो प्रभाव पर्यो ?
उत्तर थाहा नभएको ठाउँमा विज्ञानको प्रक्रियाबाट उत्तर खोजिनुपर्छ भन्ने उनको आधारभूत विश्वास हो ।
भाषा, शिक्षा र आत्मसम्मानको प्रश्न
शिक्षाको बहससँगै उनी भाषाको प्रश्न पनि उठाउँछन् । आफ्नै मातृभाषा राम्रोसँग बोल्न नसक्नु तर अंग्रेजी बोल्न सक्नु सामाजिक प्रतिष्ठाको प्रतीक बन्नु उनी असहज रूपमा हेर्छन् ।
गुरुङ, तामाङ, नेवारीलगायत भाषिक समुदायको सन्दर्भमा उनले यो प्रश्नलाई अझ फराकिलो सामाजिक बहससँग जोड्छन् ।
उनको चिन्ता अंग्रेजी सिक्नु हुँदैन भन्ने होइन । प्रश्न फरक छ, आफ्नो भाषा जान्नु किन कमजोरीजस्तो देखिन थाल्यो ? अंग्रेजी बोल्नु किन प्रतिष्ठाको चिह्न बन्यो ?
आफ्नो घर र समुदायमा बोलिने भाषामार्फत प्रारम्भिक अवधारणा बुझ्न पाउँदा सिकाइ बलियो हुन सक्ने अनुसन्धानहरूको सन्दर्भ दिँदै उनी शिक्षण पद्धतिमाथि पुनर्विचार आवश्यक रहेको देख्छन् ।
अन्ततः प्रश्न फेरि सामाजिक चेतनातर्फ फर्किन्छ, हामी आफ्ना बालबालिकालाई के कुरामा गर्व गर्न सिकाइरहेका छौँ ?
नेपालको एआई रणनीति : अरूको नक्कल होइन
नेपालले एआईमा लगानी गर्नुपर्छ कि पर्दैन भन्ने प्रश्नमा खनालको उत्तर स्पष्ट छ, लगानी आवश्यक छ । तर उनको विचारमा नेपालको पहिलो प्रश्न ‘अमेरिकाले के गर्यो ?’ वा ‘चीनले के गर्यो ?’ हुनु हुँदैन । पहिलो प्रश्न हुनुपर्छ, नेपालले कस्तो समाज निर्माण गर्न खोजेको हो ?
आगामी २०-२५ वर्षमा स्वास्थ्य कस्तो चाहिन्छ ? शिक्षा कस्तो बनाउने ? कृषिमा कस्तो परिवर्तन ल्याउने ? विपद् सामना गर्ने क्षमता कसरी बढाउने ? ऊर्जाको संरचना कस्तो बनाउने ? अर्थतन्त्रको स्वरूप कस्तो हुने ?
यी प्रश्नको उत्तरपछि मात्र एआई कहाँ प्रयोग गर्ने, केमा लगानी गर्ने, के आफैं विकास गर्ने र के बाहिरबाट लिने भन्ने तय गर्न सकिन्छ । नेपालले सबै कुरा आफैं बनाउनुपर्छ भन्ने उनको धारणा छैन । तर सबै कुरा बाहिरबाट आयात गर्ने पनि होइन ।
नेपालले आफ्ना सबलता पहिचान गरेर उत्कृष्टतामा आधारित रणनीति बनाउनु पर्ने उनी मान्छन् ।मात्रामा चीन वा भारतसँग प्रतिस्पर्धा गर्न कठिन हुन सक्छ । तर गुणस्तर, विशिष्टता र उत्कृष्टतामा आफ्नो ठाउँ बनाउन सकिने उनको विश्वास छ ।
राज्यले पूर्वाधार बनाउने, निजी क्षेत्रले मूल्य सिर्जना गर्ने
नेपालको एआई भविष्यबारे उनको अर्को महत्वपूर्ण प्रस्ताव सार्वजनिक पूर्वाधारसँग सम्बन्धित छ ।जसरी राज्यले सडक, पुल र विद्युत् प्रसारणजस्ता आधारभूत पूर्वाधार तयार गर्छ, त्यसरी नै एआईका लागि आवश्यक सार्वजनिक पूर्वाधार पनि राज्यको जिम्मेवारीभित्र आउनुपर्ने उनको तर्क छ ।
भाषासम्बन्धी आधारभूत संरचना, डिजिटल सार्वजनिक संरचना, डेटा र अन्य रणनीतिक आधार राज्यले तयार गर्न सक्छ । त्यसको माथि निजी क्षेत्रले सेवा र नवप्रवर्तन निर्माण गर्न सक्छ ।
अर्थात् राज्यले सबै सेवा आफैं सञ्चालन गर्ने होइन । राज्यले आधार बनाउने, निजी क्षेत्रले त्यसको माथि नयाँ सेवा र उद्यम निर्माण गर्ने, अनुसन्धान संस्थाले नयाँ ज्ञान र प्रविधि सिर्जना गर्ने र अर्थतन्त्रले त्यसलाई मूल्यमा रूपान्तरण गर्ने । उनी यही सम्बन्धलाई एउटा पूर्ण चक्रका रूपमा हेर्छन् ।
अनुसन्धानमा राज्यको अपनत्व, तर नियन्त्रण होइन
खनालको आग्रह अन्ततः राज्यतर्फ फर्किन्छ । सरकारले अनुसन्धान संस्थालाई ‘आफ्नो’ र ‘पर’ भनेर छुट्याउने मानसिकता त्याग्नुपर्ने उनको धारणा छ । उनको व्याख्याअनुसार नामी नाफा वितरण नगर्ने संरचनाका रूपमा रहेको र यसको अन्तिम सम्पत्ति राज्यकै हुने कानुनी संरचना भएको संस्था हो । त्यसैले यस्ता संस्थामाथि राज्यको अपनत्व आवश्यक रहेको उनी बताउँछन् ।
तर अपनत्वको अर्थ नियन्त्रण भने होइन । राज्यले स्पष्ट नीति, दीर्घकालीन लगानी र संस्थागत स्वतन्त्रताको आधार तयार गर्नुपर्छ । अनुसन्धानकर्तालाई कठिन प्रश्न सोध्न दिनुपर्छ । सैद्धान्तिक र व्यवहारिक दुवै प्रकारका अनुसन्धानका लागि ठाउँ दिनुपर्छ ।
किनकि आज सोधिएको एउटा गहिरो प्रश्नको उत्तर पाँच, दस वा पन्ध्र वर्षपछि मात्र आउन सक्छ । त्यसलाई पर्खन सक्ने संस्थागत धैर्य पनि अनुसन्धान नीतिकै एउटा महत्वपूर्ण हिस्सा हो ।
अगाडिको बाटो
खनालको दृष्टिलाई तीन तहमा बुझ्न सकिन्छ । पहिलो हो, स्पष्ट राष्ट्रिय दृष्टि र दीर्घकालीन लगानी । नेपालले आगामी २५ वर्षमा कस्तो समाज निर्माण गर्न चाहन्छ भन्ने खाका आवश्यक छ ।
दोस्रो हो, सार्वजनिक एआई पूर्वाधार । रणनीतिक रूपमा आवश्यक आधारभूत संरचना राज्यले निर्माण गर्नुपर्छ ।
तेस्रो हो, क्षमता निर्माण र अर्थतन्त्रसँग सम्बन्ध । उत्कृष्ट अनुसन्धानकर्ता, वैज्ञानिक समूह, अनुसन्धान संस्था र उद्योगबीच बलियो सम्बन्ध विकास गर्नुपर्छ । अनुसन्धान प्रयोगशालाको प्रतिवेदनमा मात्र सीमित नहोस्; त्यसबाट उत्पादन, उद्यम, सेवा र निर्यातसम्म पुग्ने संरचना तयार होस् ।
एउटा वैज्ञानिकको सपना कि नेपालको सार्वजनिक परियोजना ?
डा. बिशेष खनालको कथा केवल ‘विदेशबाट फर्किएका वैज्ञानिक’को कथाका रूपमा पढ्दा यसको गहिराइ छुट्न सक्छ । यस यात्राको सुरुवात एउटा व्यक्तिगत चाहनाबाट भएको थियो, आफ्नो देशमै बसेर अनुसन्धान गर्न सक्ने वातावरण होस् । त्यसपछि त्यो चाहनाले अर्को रूप लियो, आफूले पाएको उत्कृष्ट अनुसन्धान संस्कार अरूसँग बाँड्ने ।
त्यसपछि त्यो संस्कारलाई संस्थामा रूपान्तरण गर्ने लक्ष्य आयो । र अन्ततः प्रश्न अझ ठूलो भयो, नेपालले विज्ञान, प्रविधि र एआईलाई आगामी दशकहरूको राष्ट्रिय विकास रणनीतिसँग कसरी जोड्ने ?
यस अर्थमा डा. खनालको यात्रा नेपाल फर्किएको एक व्यक्तिको मात्र कथा होइन । यो एउटा विचारको कथा हो, स्रोत सीमित हुन सक्छन्, संरचना कमजोर हुन सक्छन्, संस्था निर्माण कठिन हुन सक्छ । तर ठूलो प्रश्न सोध्न कसैले रोक्न सक्दैन । र सम्भवतः यही उनको यात्राको मूल सूत्र हो, उत्कृष्टता जहाँ सम्भव छ, त्यहीँबाट सुरु गर्नुपर्छ । त्यसपछि त्यसलाई व्यक्ति विशेषको क्षमता होइन, संस्थाको संस्कार बनाउँदै लैजानुपर्छ ।
आज एआईले संसारलाई तीव्र गतिमा बदलिरहेको बेला खनालको मूल प्रश्न झन् सान्दर्भिक बनेको छ । नेपालले एआईलाई केवल नयाँ प्रविधिका रूपमा हेर्ने कि आफ्नो समाजको भविष्य पुनर्कल्पना गर्ने अवसरका रूपमा ?
उनको दृष्टिमा यो प्रश्नको उत्तर प्रविधिभन्दा बाहिर जान्छ । किनकि अन्ततः एआईको प्रश्न केवल एआईको प्रश्न होइन । यो प्रश्न हो, हामी कस्तो समाज बनाउन चाहन्छौँ ? कस्तो ज्ञान उत्पादन गर्न चाहन्छौँ ? र त्यो भविष्य निर्माण गर्ने वैज्ञानिक, संस्थागत र बौद्धिक क्षमता आफ्नै देशमा कसरी खडा गर्ने ?
सायद डा. खनालको यात्राको सबैभन्दा महत्वपूर्ण पक्ष उनी कहाँ पुगे भन्ने होइन, उनले फर्किएर के बनाउन खोजे भन्ने हो । विदेशले उनलाई उत्कृष्ट अनुसन्धानको अवसर दियो, तर त्यसले नेपालमा उत्कृष्टताको अभाव किन छ भन्ने प्रश्नलाई झन् गहिरो बनायो । त्यसको उत्तर उनले व्यक्तिगत उपलब्धिमा होइन, संस्था निर्माणमा खोजे ।
आज एआईले संसारको भविष्यबारे नयाँ प्रश्नहरू उठाइरहेको बेला नेपालका लागि चुनौती प्रविधि भित्र्याउने मात्र होइन, आफ्नै प्रश्न सोध्ने क्षमता निर्माण गर्नु पनि हो । ती प्रश्नको उत्तर खोज्ने अनुसन्धानकर्ता, स्वतन्त्र संस्था र दीर्घकालीन सोचको आधार तयार गर्न सकियो भने नेपाल केवल प्रविधिको प्रयोगकर्ता मात्र रहने छैन, ज्ञान र समाधान निर्माण गर्ने देश बन्ने सम्भावना पनि खुल्नेछ ।
किनकि कुनै देशको भविष्य उसले कति प्रविधि प्रयोग गर्छ भन्नेले मात्र तय गर्दैन । उसले आफ्ना समस्यालाई कति गहिराइले बुझ्छ, कति साहसका साथ प्रश्न गर्छ र ती प्रश्नको उत्तर खोज्न कस्ता संस्था निर्माण गर्छ भन्नेले पनि तय गर्छ । डा. खनालको यात्रा यही विश्वासतर्फ उन्मुख देखिन्छ, नेपाललाई बदल्ने सबैभन्दा ठूलो सुरुआत सायद नयाँ प्रविधिबाट होइन, नयाँ प्रश्न सोध्ने संस्कारबाट हुन्छ ।
स्नेहा झा