कीवर्डहरू -

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न सकिने

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न सकिने

काठमाडौं । अब बैंकको काउन्टरमा लामो लाइन बस्नुपर्ने झन्झट केही कम हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका एटीएमबाट पनि १०० रुपैयाँ दरका नोट उपलब्ध गराउने व्यवस्था गर्न निर्देशन दिएको छ ।

चाडपर्व नजिकिँदै गर्दा बैंकका शाखाहरूमा बढ्ने भीड व्यवस्थापन गर्न तथा सर्वसाधारणलाई साना दरका नोट सहज रूपमा उपलब्ध गराउने उद्देश्यले राष्ट्र बैंकले यस्तो व्यवस्था गर्न भनेको हो ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्र पठाउँदै बैंक तथा वित्तीय संस्थाका एटीएममा १०० रुपैयाँ दरका नोट राखेर वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

अहिलेसम्म ५०० र १ हजारका नोट मात्रै
हाल अधिकांश बैंक तथा वित्तीय संस्थाका एटीएमबाट मुख्यत: ५०० र १ हजार रुपैयाँ दरका नोट मात्र निकाल्न सकिन्छ । साना दरका नोट आवश्यक पर्ने ग्राहक भने बैंकको काउन्टरमै पुग्नुपर्ने अवस्था छ ।

विशेष गरी दसैँलगायतका ठूला चाडपर्वमा नयाँ नोट तथा साना दरका नोटको माग उच्च हुने भएकाले बैंकका शाखामा सर्वसाधारणको भीड बढ्ने गरेको छ ।

नगद कारोबारका लागि १०० रुपैयाँका नोट आवश्यक पर्ने ग्राहकले समेत काउन्टरमै पुगेर नोट लिनुपर्ने बाध्यता रहेकाले एटीएमबाटै साना दरका नोट उपलब्ध गराउने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

प्राविधिक रूपमा सम्भव देखिएपछि निर्देशन
राष्ट्र बैंकले केही बैंक तथा वित्तीय संस्थासँग एटीएमबाट १०० रुपैयाँका नोट वितरण गर्न सकिने–नसकिनेबारे प्राविधिक अवस्थाको जानकारी लिएको थियो ।

बैंकहरूको एटीएम प्रणालीमा आवश्यक प्राविधिक व्यवस्था मिलाएर १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्न सकिने देखिएपछि राष्ट्र बैंकले बैंकर्स संघमार्फत सबै बैंक तथा वित्तीय संस्थालाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

यो व्यवस्था कार्यान्वयनमा आएपछि सर्वसाधारणले साना दरका नोट लिनकै लागि बैंकको काउन्टरमा पुग्नुपर्ने अवस्था घट्ने अपेक्षा गरिएको छ । साथै, चाडपर्वको समयमा बैंक शाखामा हुने भीड व्यवस्थापनमा समेत यसले सहयोग पुग्ने राष्ट्र बैंकको विश्वास छ ।