कीवर्डहरू -

बाढी प्रभावित नुवाकोट, रसुवा र धादिङमा राहत सामाग्री ढुवानीमा याङ्गोको सहयोग

बाढी प्रभावित नुवाकोट, रसुवा र धादिङमा राहत सामाग्री ढुवानीमा याङ्गोको सहयोग

काठमाडौं । अन्तर्राष्ट्रिय प्रविधि कम्पनी याङ्गोले भोटेकोशी बाढीबाट प्रभावित समुदायका लागि राहत सामाग्री ढुवानीमा सहयोग गरेको छ । याङ्गोले आफ्नो ‘याङ्गो डेलिभरी कार्गो’ सेवामार्फत राहत सामाग्री निःशुल्क ढुवानी गर्दै आएको जनाएको छ ।

स्थानीय गैरसरकारी संस्थाहरूसँगको सहकार्यमा सञ्चालन गरिएको सहयोग अभियानमार्फत रसुवा, धादिङ र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा १ हजारभन्दा बढी मानिससम्म राहत सामाग्री पुर्‍याउन सहयोग पुगेको कम्पनीले जनाएको छ ।

याङ्गोले बाढीपछिको राहत तथा उद्धार प्रयासको प्रारम्भिक चरणदेखि नै यातायात सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ । ‘याङ्गो डेलिभरी’मार्फत हामी नेपाल, अस्तित्व नेपाल र क्राइसिस कनेक्ट नेपाललगायतका संस्थालाई काठमाडौं उपत्यकाभित्र तथा राजधानीमा संकलन गरिएका राहत सामाग्री प्रभावित क्षेत्रसम्म पुर्‍याउन सहयोग गरिएको कम्पनीले जनाएको छ ।

राहत अभियानमा याङ्गोका चालक तथा साझेदारहरूले समेत सहभागिता जनाएका छन् । यही क्रममा २ सेप्टेम्बरमा याङ्गोको फ्लीट साझेदार ‘इजी राइड नेपाल’ले स्थानीय समुदायमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा याङ्गो नेपालका कन्ट्री म्यानेजर सन्तोष पाण्डेसहित कम्पनीका प्रतिनिधि, साझेदार, चालक तथा स्थानीय नागरिक सहभागी भएका थिए । याङ्गो नेपालका कन्ट्री म्यानेजर सन्तोष पाण्डेले विपद्का बेला कम्पनीसँग उपलब्ध स्रोत र सञ्जाललाई प्रभावित समुदायको सहयोगमा प्रयोग गर्नु प्राथमिकता रहेको बताए ।

उनका अनुसार बाढीको खबर प्राप्त भएपछि कम्पनीको टोलीले नियमित सेवा र व्यावसायिक गतिविधिभन्दा राहत तथा सहयोगलाई प्राथमिकतामा राख्दै उपलब्ध ठूला सवारी साधन, चालक तथा ढुवानी सञ्जाललाई राहत सामाग्री पुर्‍याउन प्रयोग गरेको थियो ।

राहत सामाग्रीको ढुवानीसँगै याङ्गोले आफ्नो डिजिटल प्लेटफर्ममार्फत सर्वसाधारणलाई प्रधानमन्त्रीको बाढी राहत कोषमा सहयोग गर्न समेत सहजीकरण गरेको जनाएको छ ।

याङ्गो एपमा राखिएको विशेष ब्यानरमार्फत प्रयोगकर्तालाई प्रधानमन्त्रीको बाढी राहतसम्बन्धी आधिकारिक वेबपेजमा पुर्‍याउने व्यवस्था गरिएको थियो । यसबाट प्रयोगकर्ताले राहत अभियानबारे जानकारी लिनुका साथै प्रभावित समुदायका लागि सहयोग गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

याङ्गोले स्थानीय आवश्यकता र समुदायसँगको सहकार्यअनुसार प्रविधि, जनशक्ति तथा स्रोतको प्रयोग गर्दै सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्य रहेको जनाएको छ । नेपालमा बाढी प्रभावितका लागि गरिएको सहयोग पनि प्रविधि र उपलब्ध स्रोतलाई आवश्यक परेको समयमा समुदायको हितमा प्रयोग गर्ने कम्पनीको प्रतिबद्धताको हिस्सा भएको याङ्गोले जनाएको छ ।