कीवर्डहरू -

ह्वाट्सएपको नयाँ फिचर : व्यवसायिक सन्देश अब मुख्य इनबक्सबाट अलग

ह्वाट्सएपको नयाँ फिचर : व्यवसायिक सन्देश अब मुख्य इनबक्सबाट अलग

काठमाडौं । ह्वाट्सएपले बैंक, एयरलाइन्सलगायत ठूला व्यवसायबाट आउने सन्देशलाई छुट्टै फोल्डरमा राख्ने नयाँ फिचरको परीक्षण गरिरहेको छ । व्यवसायिक सन्देशको अत्यधिक चापका कारण इनबक्स भरिँदा व्यक्तिगत तथा ग्रुप च्याट खोज्न कठिन हुने समस्या समाधान गर्न कम्पनीले यो सुविधा ल्याउन लागेको हो ।

नयाँ फिचरअन्तर्गत ठूला व्यवसायबाट आएका सन्देशहरू निश्चित समयपछि स्वत: अफर्स एन्ड अपडेट्स फोल्डरमा सारिनेछन् । ह्वाट्सएपले सन्देश सार्ने समय २४ घण्टाभित्र विभिन्न अन्तरालमा राखेर परीक्षण गरिरहेको जनाएको छ ।

प्रयोगकर्ताले चाहेको खण्डमा यो सुविधा बन्द गर्न सक्नेछन् र व्यवसायिक सन्देशलाई मुख्य इनबक्समै राख्न सक्नेछन् । तर सन्देश कहिले फोल्डरमा सारिने भन्ने समय भने प्रयोगकर्ताले आफैं निर्धारण गर्न सक्ने सुविधा रहने छैन ।

मेटाका अनुसार डिस्काउन्ट कोड, डेलिभरी अपडेट तथा अन्य व्यवसायिक सूचनाहरू केही घण्टापछि स्वत: ‘Offers and Updates’ फोल्डरमा जानेछन् । यसले मुख्य इनबक्सलाई कम भीडभाडयुक्त बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

हाल ह्वाट्सएपले यो सुविधा केही ठूला व्यवसायसँग मात्रै परीक्षण गरिरहेको छ । साना व्यवसाय तथा व्यक्तिगत ह्वाट्सएप बिजनेस अकाउन्टबाट आउने सन्देश भने यसमा समावेश गरिएको छैन । भविष्यमा साना व्यवसायका सन्देशलाई पनि यस फोल्डरमा राख्ने योजना हुन सक्ने अनुमान गरिएको छ ।

व्यवसायबाट आउने अनावश्यक सन्देश नियन्त्रण गर्न ह्वाट्सएपले यसअघि नै विभिन्न उपाय लागू गर्दै आएको छ । प्रयोगकर्ताले मार्केटिङ सन्देशबाट सदस्यता (सब्सक्रिप्सन) रद्द गर्न सक्ने सुविधा उपलब्ध छ भने व्यवसायले पठाउन सक्ने ब्रडकास्ट सन्देशको संख्या पनि सीमित गरिएको छ ।

साथै, प्रयोगकर्ताबाट प्रतिक्रिया नआएमा व्यवसायिक सन्देशमा थप सीमा लगाउने सुविधा समेत परीक्षण भइरहेको छ । यी प्रयासका बाबजुद पनि व्यवसायिक सन्देशको संख्या बढ्दै जाँदा धेरै प्रयोगकर्ताको इनबक्स अव्यवस्थित हुने समस्या कायम छ । 

नयाँ फिचरले सन्देश व्यवस्थापनमा केही राहत दिने अपेक्षा गरिएको भएपनि मुख्य इनबक्सबाट व्यवसायिक सन्देश छुट्याउने नियन्त्रण पूर्ण रूपमा प्रयोगकर्तालाई नदिएसम्म यसको प्रभाव सीमित हुन सक्ने विश्लेषण गरिएको छ ।

ह्वाट्सएपले गत जुन महिनादेखि विश्वभर एआई बिजनेस एजेन्ट सेवा उपलब्ध गराएको छ । हाल १० लाखभन्दा बढी व्यवसायले यसको प्रयोग गरिरहेका छन् । एआई एजेन्टमार्फत बिक्री, मार्केटिङ तथा ग्राहक सेवा सञ्चालन गर्ने व्यवसायको संख्या आगामी महिनाहरूमा अझ बढ्ने अनुमान गरिएको छ ।

हाल ३ अर्बभन्दा बढी मासिक सक्रिय प्रयोगकर्ता रहेको ह्वाट्सएपले व्यक्तिगत र व्यवसायिक सन्देशबीच सन्तुलन कायम गर्नुपर्ने चुनौती सामना गरिरहेको छ । अन्यथा, एआईमार्फत आउने व्यवसायिक सन्देशको संख्या बढ्दै जाँदा प्रयोगकर्ताले थप अनावश्यक सन्देशको समस्या भोग्नुपर्ने जोखिम रहने विज्ञहरूको भनाइ छ ।