काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने राइड सेयरिङ तथा सेल्फ ड्राइभ सेवाका सवारी साधनका लागि आवश्यक मापदण्ड निर्धारण गरेको छ ।
प्रदेश सरकारले सार्वजनिक गरेको ‘कर्णाली प्रदेश राइड सेयरिङ तथा सेल्फ ड्राइभ (नियमन र व्यवस्थापन) नियमावली, २०८३’ ले दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनको क्षमता, इन्जिन, सञ्चालन अवधि तथा आवश्यक कागजातसम्बन्धी व्यवस्था गरेको हो ।
नियमावलीअनुसार राइड सेयरिङ सेवामा प्रयोग गरिने दुईपाङ्ग्रे सवारी साधन पेट्रोल वा विद्युतीय शक्तिबाट सञ्चालन हुने हुनुपर्नेछ । विद्युतीय मोटरसाइकल वा स्कुटरको हकमा कम्तीमा १.५ किलोवाट क्षमता अनिवार्य गरिएको छ भने पेट्रोलियम इन्जिनबाट चल्ने सवारी साधनको इन्जिन क्षमता ९५ सीसीसम्म हुनुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्ता सवारी साधनको सवारी दर्ता प्रमाणपत्र र चालक अनुमतिपत्र अद्यावधिक भएको हुनुपर्नेछ । साथै, दुईपाङ्ग्रे सवारी साधनको सञ्चालन अवधि १० वर्षभन्दा कम हुनुपर्नेछ । तर विद्युतीय सवारी साधनका हकमा भने १५ वर्षसम्म पुराना सवारी प्रयोग गर्न सकिने व्यवस्था नियमावलीमा गरिएको छ ।
चारपाङ्ग्रे सवारी साधनका लागि पनि इन्धन र इन्जिन क्षमताका आधारमा मापदण्ड निर्धारण गरिएको छ । पेट्रोल, डिजेल, विद्युतीय वा अन्य शक्तिबाट सञ्चालन हुने सवारी साधनलाई राइड सेयरिङ सेवामा प्रयोग गर्न सकिनेछ । पेट्रोलियम इन्धनबाट चल्ने सवारी साधनको इन्जिन क्षमता कम्तीमा ७९० सीसी हुनुपर्नेछ ।
यद्यपि, ट्याक्सी सेवा सञ्चालनका लागि सम्बन्धित कार्यालयबाट अनुमति प्राप्त सवारी साधनको हकमा ७९० सीसीभन्दा कम इन्जिन क्षमता भएपनि दर्ता गर्न सकिने छुट दिइएको छ ।
चारपाङ्ग्रे सवारी साधन म्यानुअल, अटोमेटेड वा दुवै प्रकारको ट्रान्समिसन प्रणाली भएको हुन सक्नेछ । विद्युतीय सवारी साधनको हकमा भने कम्तीमा २० किलोवाट क्षमता हुनुपर्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी, पेट्रोलियम इन्धनबाट चल्ने चारपाङ्ग्रे सवारी साधनले सवारी प्रदूषण परीक्षणमा उत्तीर्ण भएको हुनुपर्नेछ । सवारी दर्ता प्रमाणपत्र र चालक अनुमतिपत्र पनि अद्यावधिक हुनुपर्नेछ ।
चारपाङ्ग्रे सवारी साधनको सञ्चालन अवधि १५ वर्षभन्दा कम हुनुपर्ने नियम बनाइएको छ । विद्युतीय सवारी साधनका लागि भने २० वर्षसम्म पुराना सवारी प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
नियमावलीले राइड सेयरिङ सेवामा प्रयोग हुने सवारी साधनको प्राविधिक क्षमता, उमेर र कानुनी कागजातलाई आधार बनाएर सञ्चालनको मापदण्ड तय गरेको छ ।
आईसीटी समाचार