काठमाडौं । नेपाल विज्ञापन संघका पूर्वअध्यक्ष सन्तोष श्रेष्ठ विज्ञापन बोर्डको अध्यक्षमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को असोज २ गते बसेको बैठकको निर्णयअनुसार काठमाडौं महानगरपालिका १४ निवासी श्रेष्ठलाई चार वर्षका लागि बोर्डको अध्यक्षमा नियुक्त गरिएको हो । नवनियुक्त अध्यक्ष श्रेष्ठले बुधबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शपथपछि सञ्चारमन्त्री तिमिल्सिनाले विज्ञापन बोर्डको आवश्यकता, औचित्य र स्वीकार्यतालाई थप स्थापित गर्ने गरी स्पष्ट कार्ययोजनासहित अघि बढ्नुपर्नेमा जोड दिए । उनले बोर्डको वर्तमान अवस्था, समस्या, अवसर र सम्भावनाको गम्भीर समीक्षा गर्दै सुधारका ठोस योजनाका साथ काम गर्नुपर्ने बताए ।
अध्यक्ष श्रेष्ठले विज्ञापनसम्बन्धी नीति, ऐन तथा कानुनको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए । सुशासन र नागरिकलाई सहज सेवा प्रवाहलाई केन्द्रमा राख्दै विज्ञापन क्षेत्रको सुधारका लागि नयाँ कार्ययोजना बनाएर अघि बढ्ने उनले बताए ।
आईसीटी समाचार