कीवर्डहरू -

एआईबाट गीत, अर्कैको नाममा कमाइ : संगीत प्लेटफर्ममा बढ्दो डिजिटल ठगी

एआईबाट गीत, अर्कैको नाममा कमाइ : संगीत प्लेटफर्ममा बढ्दो डिजिटल ठगी

काठमाडौं । जेनेरेटिभ एआईको प्रयोगबाट तयार गरिएका नक्कली गीत वास्तविक कलाकारकै नाम र प्रोफाइलमा अपलोड हुने क्रम बढेपछि संगीत स्ट्रिमिङ प्लेटफर्ममा कलाकारको पहिचान र आम्दानी दुवै जोखिममा पर्न थालेका छन् ।

४०४ मिडियाको रिपोर्टअनुसार, केही व्यक्तिले एआईमार्फत गीत तथा एल्बम कभर तयार पारेर डिजिटल संगीत वितरण प्रणालीमा रहेको कमजोरीको फाइदा उठाउँदै वास्तविक कलाकारको संगीत सूचीमा ती सामाग्री राख्ने गरेका छन् । यसरी अपलोड भएका गीतबाट प्राप्त हुने स्ट्रिमिङ आम्दानी समेत वास्तविक कलाकारको सट्टा नक्कली सामाग्री अपलोड गर्ने व्यक्तिको हातमा पुग्न सक्छ ।

सामान्य एआई गीतभन्दा यस्तो गतिविधि थप जटिल देखिएको छ । किनकि नक्कली गीतमा पहिल्यै स्थापित कलाकारको नाम, प्रोफाइल र श्रोताको आधार प्रयोग गरिन्छ । त्यसले गीतलाई वास्तविक कलाकारकै नयाँ सिर्जना भएको भ्रम सिर्जना गर्नुका साथै स्ट्रिमिङबाट आम्दानी हुने सम्भावना पनि बढाउँछ ।

रिपोर्टमा उल्लेख भएअनुसार, ४०४ मिडियाले ब्रुकलिनस्थित ब्यान्ड ‘लेथ अफ हेभन’को नाम प्रयोग गरेर यस प्रक्रियाको परीक्षण गरेको थियो । परीक्षणमा एआई सेवा सुनो वा यूडियोबाट गीत तयार पारिएको थियो भने जेनेरेटिभ एआईकै माध्यमबाट एल्बमको कभर बनाइएको थियो ।

त्यसपछि डिजिटल संगीत वितरण सेवा डिस्ट्रोकिडमा खाता खोलेर गीत अपलोड गरिएको थियो । आफू नै सम्बन्धित ब्यान्ड भएको दाबी गरेपछि वितरण प्रणालीमार्फत गीत विभिन्न स्ट्रिमिङ प्लेटफर्ममा पठाउन सकिने देखिएको रिपोर्टमा उल्लेख छ ।

यसरी अपलोड गरिएको सामाग्री केही समयमै स्पोटीफाइ, टाइडल, एप्पल म्युजिक र अमेजन म्युजिकलगायत प्लेटफर्ममा वास्तविक कलाकारले नयाँ गीत सार्वजनिक गरेजस्तै देखिन सक्छ । वितरणकर्ता वा स्ट्रिमिङ सेवाले समयमै त्रुटि पहिचान नगरे नक्कली सामाग्रीबाट प्राप्त आम्दानी समेत अपलोडकर्ताले लिन सक्ने अवस्था देखिएको छ ।

साना कलाकार बढी जोखिममा
यस्तो गतिविधिको प्रभाव विशेषगरी साना तथा स्वतन्त्र कलाकारमा बढी पर्न सक्ने बताइएको छ । चर्चित कलाकारले आफ्ना डिजिटल प्रोफाइल र सामग्रीको निगरानीका लागि छुट्टै टोली राख्ने भएकाले नक्कली सामाग्री पहिचान गर्न उनीहरू तुलनात्मक रूपमा सक्षम हुन्छन् ।

तर कम चर्चित कलाकारका प्रोफाइलमा नियमित निगरानी नहुँदा नक्कली गीत लामो समयसम्म रहन सक्ने जोखिम हुन्छ । मृत कलाकारको नाम प्रयोग गरेर समेत एआईबाट तयार पारिएका गीत सार्वजनिक भइरहेको रिपोर्टमा उल्लेख छ ।

स्पोटीफाइले ४०४ मिडियालाई सक्रिय रूपमा व्यवस्थापन नगरिएका कलाकार प्रोफाइलहरू यस्तो दुरुपयोगको जोखिममा रहेको पुष्टि गरेको छ । लेथ अफ हेभनका मुख्य गायकले आफ्नो नाममा नक्कली सामाग्री सार्वजनिक हुँदा सिर्जनाको प्रतिष्ठामा असर परेको बताएका छन् ।

उनका अनुसार कलाकारका रूपमा आफ्नै सिर्जना विश्वसामु प्रस्तुत गर्नु संगीत निर्माणको महत्वपूर्ण पक्ष भएकाले कसैले कलाकारको नाम प्रयोग गरेर गुणस्तरहीन सामाग्री सार्वजनिक गर्नु गम्भीर समस्या हो ।

सयौँ नक्कली एआई गीतको अभिलेख
संगीत समूह ‘ओडेट चाइल्ड’ले गत जुलाईदेखि यस्तो गतिविधिको अभिलेख राख्दै आएको छ । समूहले टेलर स्विफ्टसहित चर्चित कलाकार, सेलिब्रेटी, दिवंगत ज्याज संगीतकारलगायतका नाममा सार्वजनिक गरिएका ३०० भन्दा बढी एआई–निर्मित नक्कली गीत फेला पारेको जनाएको छ ।

एआईको व्यापक प्रयोग हुनुअघि पनि अरू कलाकारको नाम प्रयोग गरेर नक्कली सामग्री सार्वजनिक हुने समस्या थियो । तर जेनेरेटिभ एआईले कम समयमै ठूलो संख्यामा गीत उत्पादन गर्न सक्ने भएकाले अहिले समस्या थप व्यापक बन्दै गएको देखिन्छ ।

एउटा नक्कली गीत बनाएर कसैको नाममा अपलोड गर्नु र एउटै व्यक्तिले एआईको सहयोगमा एकै दिनमा सयौँ गीत तयार पारेर विभिन्न कलाकारको नाममा वितरण गर्नुबीचको जोखिम निकै फरक रहेको रिपोर्टले औँल्याएको छ ।

स्पोटीफाइले परीक्षण गर्दैछ नयाँ प्रणाली
समस्या नियन्त्रण गर्न स्पोटीफाइले कलाकारलाई आफ्नो प्रोफाइलमा गीत जोडिनुअघि नयाँ सामाग्री समीक्षा गर्ने सुविधा विकास गरिरहेको छ । हाल यो प्रणाली सीमित प्रयोगकर्तामाझ परीक्षण भइरहेको छ ।

स्पोटीफाइले उक्त सुविधाको घोषणा गत मार्चमै गरेको थियो । यद्यपि एआईबाट तयार हुने गीतको दैनिक अपलोडसम्बन्धी तथ्यांकमा फरक–फरक अनुमान छन् । केही अनुमानअनुसार स्पोटीफाइमा मात्रै दैनिक करिब ५० हजार एआई–निर्मित गीत अपलोड हुने गरेका छन् ।

यसले संगीत क्षेत्रमा एआईबाट सिर्जना हुने सामाग्रीको मात्रा मात्र नभई कलाकारको पहिचान, सिर्जनाको स्वामित्व र त्यसबाट हुने आम्दानीको सुरक्षा समेत चुनौतीपूर्ण बन्दै गएको देखाएको छ ।