काठमाडौं । मैतीदेवीस्थित लर्ड बुद्ध एजुकेशन फाउण्डेशन (एलबीईएफ) मा करियर र नवप्रवर्तनसम्बन्धी ‘प्रविधि मेला’ शनिबारदेखि सुरु भएको छ । प्रविधि, करियर र नवप्रवर्तनलाई एउटै थलोमा ल्याउने उद्देश्यले मेला आयोजना गरिएको आयोजक सीएसआईटी एसोसिएसन अफ नेपाल (सीएसआईटीएएन) ले जनाएको छ ।
एलबीईएफ (द फर्स्ट आईटी कलेज अफ नेपाल) मा आइतबारसम्म चल्ने मेलामा विद्यार्थी, युवा, प्रविधि व्यवसायी, उद्यमी तथा रोजगारदाताको सहभागिता रहेको कलेजले जनाएको छ ।
विद्यार्थी, आईटी उद्यमी, अभिभावक तथा समुदायबीच सहकार्य बढाउने, सीप र अवसरलाई जोड्ने तथा नेपालको डिजिटल भविष्यका लागि सक्षम जनशक्ति तयार गर्ने उद्देश्यले मेला आयोजना गरिएको एलबीईएफका अध्यक्ष इन्जिनियर पंकज जालानले जानकारी दिए ।
मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष जालानले मुलुकलाई प्रविधिमैत्री बनाउन तथा विद्यार्थीलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
नेपालमा विकसित प्रविधि तथा प्रविधिजन्य सेवाहरू विदेशमा निर्यात गरेर आर्थिक उन्नति गर्ने समय आइसकेको भन्दै जालानले त्यसअनुसारको दक्ष जनशक्ति अहिलेको आवश्यकता रहेको बताए ।
बजारको मागअनुसारको आईटी शिक्षा आजको आवश्यकता रहेको उनको भनाइ थियो । आइतबारसम्म चल्ने मेलामा सहभागीले करियर मार्गदर्शन, नवीन विचार प्रस्तुति, मेन्टरसँग अन्तरक्रिया, प्राविधिक सिर्जना तथा नेटवर्किङका अवसर प्राप्त गर्नेछन् ।
मेलामा ‘क्रिएटिभ क्ल्यास’, ‘बिल्ड ब्याटल’, ‘क्याप्चर द फ्ल्याग (सीटीएफ)’, ‘क्ल्यास रोयाल’ र ‘ई-फुटबल’ गरी पाँचवटा प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगिताको कुल पुरस्कार राशि इन-काइन्डसहित २ लाख ६७ हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताले सहभागीको सिर्जनशीलता, प्राविधिक दक्षता, समस्या समाधान क्षमता तथा टिमवर्क प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको आयोजकको भनाइ छ ।
आईसीटी समाचार