काठमाडौं । टिकटकले प्रयोगकर्ताको अनुभवलाई थप सहज र अन्तरक्रियात्मक बनाउने उद्देश्यले केही नयाँ फिचर सार्वजनिक गरेको छ । नयाँ फिचरअन्तर्गत अब प्रयोगकर्ताले भिडियोको कमेन्ट सेक्सनमा आफ्नै आवाजमा प्रतिक्रिया अर्थात् भ्वाइस कमेन्ट राख्न सक्नेछन् ।
भ्वाइस कमेन्टमा ६० सेकेन्डसम्मको अडियो सन्देश राख्न सकिनेछ । कमेन्टमा राखिएको आवाजलाई अन्य प्रयोगकर्ताले ट्याप गरेर सुन्न सक्नेछन् । यो फिचरले कमेन्ट सेक्सनलाई थप रमाइलो र नयाँ अनुभव दिने अपेक्षा गरिएको छ ।
यद्यपि, ठूलो संख्यामा भ्वाइस कमेन्ट आउँदा कमेन्ट बक्स अस्तव्यस्त हुन सक्ने सम्भावना पनि छ । यसको वास्तविक प्रभाव कस्तो हुन्छ भन्ने कुरा प्रयोगमा आएपछि मात्र स्पष्ट हुनेछ । टिकटकका अनुसार १८ वर्ष वा सोभन्दा माथिका प्रयोगकर्ताका लागि यो फिचर आगामी महिनाभित्र उपलब्ध गराउन सुरु गरिनेछ ।
त्यस्तै, टिकटकले क्रिएटरहरूका लागि कमेन्ट पोलको सुविधा पनि थपेको छ । अब क्रिएटरहरूले आफ्ना पोस्टको कमेन्ट सेक्सनमै पोल सिर्जना गर्न सक्नेछन् । पोलमा पाँचवटासम्म विकल्प राख्न सकिनेछ भने त्यसको नतिजा समेत सिधै हेर्न सकिनेछ । यो सुविधा विश्वभरका प्रयोगकर्ताका लागि अहिले नै उपलब्ध रहेको टिकटकले जनाएको छ ।
टिकटकले यसअघि लाइभ र स्टिकरमार्फत पनि पोलको सुविधा प्रयोगमा ल्याएको थियो । अहिले भने कमेन्ट सेक्सनमै सहज रूपमा पोल राख्न सकिने सुविधा थपिएको हो । यसैगरी, टिकटकले फोटो कमेन्टसँग सम्बन्धित नयाँ सुविधा पनि थपेको छ । अब प्रयोगकर्ताले कमेन्टमा लाइभ फोटो राख्न सक्नेछन् ।
यो सुविधा हाल सबै प्रयोगकर्ताका लागि उपलब्ध भइसकेको छ । त्यस्तै, एउटै कमेन्टमा नौ वटासम्म फोटो राख्न सकिने सुविधा पनि ल्याइँदैछ । यो सुविधा आगामी महिनाभित्र सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने बताइएको छ ।
आईसीटी समाचार