काठमाडौं । ह्वाट्सएपले नयाँ ‘गेस्ट कल’ फिचरमा काम गरिरहेको छ । यो फिचर उपलब्ध भएपछि ह्वाट्सएप अकाउन्ट नभएका युजर्सले पनि ह्वाट्सएप कलमा सहभागी हुन सक्नेछन् । नयाँ फिचरमार्फत एप इन्स्टल गर्न वा अकाउन्ट बनाउन आवश्यक पर्ने छैन । युजर्सले वेब ब्राउजरबाटै गेस्टका रूपमा कलमा सहभागी हुन सक्नेछन् । यसले ह्वाट्सएप कलको पहुँचलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।
WABetaInfo का अनुसार, ह्वाट्सएपले गेस्ट कल फिचर विकास गरिरहेको छ । यो फिचर आएमा ह्वाट्सएप अकाउन्ट नभएका युजर्सले सुरक्षित लिंकमार्फत कलमा सहभागी हुन सक्नेछन् । यो फिचर ह्वाट्सएपको ‘गेस्ट च्याट’ मेकानिजममा आधारित हुने बताइएको छ । यसले ह्वाट्सएप प्रयोग नगर्ने व्यक्तिहरूसँग पनि कल गर्न ह्वाट्सएप युजर्सलाई सहज बनाउने अपेक्षा गरिएको छ ।
फिचर उपलब्ध भएपछि होस्टले ‘Call’ ट्याबबाटै ‘Call Link’ बनाउन सक्नेछन् । त्यसपछि ‘Call Type’ छनोट गरी तयार भएको लिंक कपी गरेर अन्य सहभागीहरूसँग सेयर गर्न सकिनेछ । सेयर गरिएको लिंक ह्वाट्सएप वेबमा खुलेपछि ह्वाट्सएप अकाउन्ट नभएका व्यक्तिले पनि वेब ब्राउजरमार्फत गेस्टका रूपमा कलमा सहभागी हुन सक्नेछन् । यसका लागि ह्वाट्सएप डाउनलोड गर्न वा अकाउन्ट बनाउनुपर्ने छैन ।
गेस्टले कलमा सहभागी हुनुअघि होस्टको स्वीकृति लिनुपर्ने व्यवस्था हुने बताइएको छ। फिचरमा इन्ड-टु-इन्ड इन्क्रिप्सनको सुविधा पनि रहने अपेक्षा गरिएको छ । त्यस्तै, होस्टले कलमा सहभागीहरूलाई थप्न वा हटाउन तथा सबैका लागि कल अन्त्य गर्न सक्नेछन् । यो फिचर हाल विकासकै चरणमा रहेको छ र परीक्षणका लागि समेत उपलब्ध भइसकेको छैन । ह्वाट्सएपले आगामी अपडेटमार्फत यो फिचर सार्वजनिक गर्न सक्ने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार