काठमाडौं । ह्वाट्सएपले तेस्रो पक्षका एआई एजेन्ट तथा बोटसँग च्याट गर्न मिल्ने नयाँ सुविधा परीक्षण गरिरहेको छ । यस सुविधामा प्रत्येक एआई एजेन्टका लागि छुट्टै च्याट रहनेछ । हाल यो सुविधा सीमित एन्ड्रोइड प्रयोगकर्ताका लागि मात्र उपलब्ध रहेको बताइएको छ ।
यो सुविधा आगामी महिनामा थप प्रयोगकर्तामाझ विस्तार हुन सक्ने अनुमान गरिएको छ । यद्यपि, ह्वाट्सएपले यसको आधिकारिक मिति भने सार्वजनिक गरेको छैन । नयाँ फिचर एन्ड्रोइडको बिटा भर्सनमा देखिएको हो ।
WABetaInfo का अनुसार ह्वाट्सएपको सेटिङमा नयाँ ‘Agents’ सेक्सन थपिन सक्छ । यही सेक्सनबाट प्रयोगकर्ताले एआई एजेन्ट थप्नुका साथै आवश्यक सेटअप गर्न सक्नेछन् । प्रयोगकर्ताले प्रत्येक एआई एजेन्टका लागि छुट्टै नाम र प्रोफाइल फोटो समेत राख्न सक्नेछन् ।
ह्वाट्सएपले एउटा खातामा बढीमा पाँचवटासम्म एआई एजेन्ट सपोर्ट गर्ने बताइएको छ । एआई एजेन्ट सेटअप गरेपछि प्रयोगकर्ताले API Key प्राप्त गर्ने अपेक्षा गरिएको छ । उक्त की सम्बन्धित एआई सेवा सञ्चालन भइरहेको प्लेटफर्ममा राखेपछि एजेन्टलाई ह्वाट्सएप च्याटसँग जोड्न सकिनेछ ।
एआई एजेन्ट जोड्ने प्रक्रिया भने सम्बन्धित सेवाअनुसार फरक हुन सक्छ । कनेक्सन रिसेट गर्न आवश्यक परे प्रयोगकर्ताले नयाँ API Key समेत बनाउन सक्ने सम्भावना छ । एआई एजेन्ट ह्वाट्सएपमा जोडिएपछि त्यसका लागि छुट्टै च्याट तयार हुनेछ । रिपोर्टअनुसार, एजेन्टले प्रयोगकर्ताका अन्य व्यक्तिगत च्याट, सम्पर्क वा मिडिया सामग्रीमा पहुँच पाउने छैन ।
हाल एआई एजेन्टलाई ग्रुप च्याट वा कम्युनिटीमा प्रयोग गर्न भने नमिल्ने बताइएको छ । प्रयोगकर्ताले सेटिङबाट एजेन्टको नाम र प्रोफाइल फोटो परिवर्तन गर्न सक्नेछन् । एजेन्ट हटाउँदा ह्वाट्सएप च्याटसँगको कनेक्सन हट्नेछ, तर पुरानो च्याट इतिहास भने सुरक्षित रहनेछ । पछि नयाँ API Key प्रयोग गरेर एजेन्टलाई पुन: जोड्न सकिनेछ ।
एआई एजेन्टसँगको च्याटमा हुने छैन एन्ड-टु-एन्ड इन्क्रिप्सन
तेस्रो पक्षका एआई एजेन्टसँग गरिने च्याटमा End-to-End Encryption (E2EE) उपलब्ध नहुने बताइएको छ । यसको अर्थ सम्बन्धित एआई एजेन्टका डेभलपरले प्रयोगकर्ताले पठाएका सन्देश हेर्न सक्नेछन् । यद्यपि, ह्वाट्सएपका व्यक्तिगत च्याट तथा कल भने आफ्नै एन्ड-टु-एन्ड इन्क्रिप्सनअन्तर्गत सुरक्षित रहनेछन् ।
ह्वाट्सएपले यो सुविधा हाल सीमित एन्ड्रोइड प्रयोगकर्तामाझ मात्र परीक्षण गरिरहेको छ । त्यसैले धेरै प्रयोगकर्ताले अहिलेसम्म ‘Agents’ सेक्सन नदेख्न सक्छन् । यो सुविधा सबै प्रयोगकर्ताका लागि कहिले उपलब्ध हुनेछ भन्नेबारे ह्वाट्सएपले हालसम्म कुनै आधिकारिक जानकारी दिएको छैन ।
आईसीटी समाचार