काठमाडौं । ह्वाट्सएपले प्रयोगकर्ताको अकाउन्ट सुरक्षालाई थप मजबुत बनाउन टु-स्टेप भेरिफिकेसन प्रणालीमा परिवर्तन गर्ने तयारी गरेको छ । कम्पनीले हाल प्रयोग हुँदै आएको ६ अंकको पिनलाई हटाएर त्यसको स्थानमा पासवर्ड प्रयोग गर्ने व्यवस्था ल्याउन लागेको हो ।
नयाँ प्रणालीमा प्रयोगकर्ताले कम्तीमा ८ अक्षरको पासवर्ड बनाउनुपर्नेछ । पासवर्डमा अक्षर र अंकको संयोजन अनिवार्य हुने भएपनि सुरक्षाका लागि विशेष चिन्ह समेत प्रयोग गर्न सकिनेछ ।
यसअघि नै टु-स्टेप भेरिफिकेसन सक्रिय गरेका प्रयोगकर्ताले ह्वाट्सएपको अकाउन्ट सेटिङबाट पुरानो पिनलाई नयाँ पासवर्डमा परिवर्तन गर्न सक्नेछन् ।
अकाउन्ट रिकभरीमा इमेलको भूमिका बढ्ने
ह्वाट्सएपले अकाउन्ट रिकभरी प्रक्रियालाई पनि थप सुरक्षित बनाउने तयारी गरेको छ । त्यसका लागि प्रयोगकर्ताको अकाउन्टलाई इमेल ठेगानासँग लिंक गर्ने व्यवस्था ल्याइँदैछ ।
पासवर्ड बिर्सिएको अवस्थामा अकाउन्टमा पुनः पहुँच कायम गर्न इमेल ठेगाना उपयोगी हुने बताइएको छ । वैध इमेल ठेगाना उपलब्ध नभए अकाउन्ट रिकभर गर्ने विकल्प सीमित हुन सक्नेछ ।
ह्वाट्सएपका अनुसार नयाँ सुरक्षा व्यवस्थाको मुख्य उद्देश्य एसएमएसमार्फत प्राप्त हुने कोडको दुरुपयोगबाट हुने ठगी तथा अकाउन्ट कब्जा गर्ने प्रयासलाई कठिन बनाउनु हो ।
अपरिचित कलबारे थप जानकारी
ह्वाट्सएपले अपरिचित नम्बरबाट आउने कललाई लिएर पनि नयाँ सुरक्षा सुविधा थप्दैछ । विशेष गरी एन्ड्रोइड प्रयोगकर्तालाई लक्षित गर्दै ल्याइने यो सुविधाले अपरिचित नम्बरबाट आएको कलबारे थप जानकारी उपलब्ध गराउनेछ ।
कल प्राप्त हुँदा नम्बर कुन देशसँग सम्बन्धित छ भन्ने जानकारी देखाइनेछ । साथै, कल गर्ने व्यक्ति र प्रयोगकर्ता एउटै ह्वाट्सएप ग्रुपमा छन् वा छैनन् भन्ने जानकारी समेत देखिनेछ ।
यी नयाँ सुविधा ह्वाट्सएपका नयाँ संस्करणमार्फत क्रमश: प्रयोगकर्तामाझ उपलब्ध गराइँदै गएको बताइएको छ ।
आईसीटी समाचार