काठमाडौं । सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) ले प्रयोगकर्ताबीचको संवादलाई थप अर्थपूर्ण र सुरक्षित बनाउने उद्देश्यले आफ्नो रिप्लाई र फिड एल्गोरिदममा नयाँ परिवर्तन गरेको छ । अब प्रयोगकर्ताले फलो गरेका तथा आफूलाई पनि फलो गर्ने (म्युचुअल फलोअर्स) का रिप्लाई र पोस्टलाई बढी प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।
एक्सका प्रोडक्ट प्रमुख निकिता बियरका अनुसार यसअघि प्लेटफर्ममा साथीभाइ वा परिचित प्रयोगकर्ताका प्रतिक्रियालाई प्राथमिकता दिने व्यवस्था प्रभावकारी रूपमा लागू नभएकाले रिप्लाई सेक्सनमा अपरिचित प्रयोगकर्ताबीच अनावश्यक विवाद र गालीगलौज बढी देखिने गरेको थियो ।
उनका अनुसार नयाँ अपडेटपछि प्रयोगकर्ताले आफ्ना चिनजानका वा समान रुचि भएका व्यक्तिहरूका प्रतिक्रिया पहिले देख्ने भएकाले अनावश्यक विवाद कम हुने र गुणस्तरीय छलफललाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।
'कम्युनिटीज' फिचर बन्द
यसैबीच, एक्सले समान रुचि भएका प्रयोगकर्तालाई समूहमा आबद्ध गराउने उद्देश्यले ल्याएको कम्युनिटीज (Communities) फिचर पनि बन्द गरेको छ । कम्पनीले यस वर्षको अप्रिलमै उक्त सेवा हटाएको थियो ।
एक्सका अनुसार यो फिचर कुल प्रयोगकर्तामध्ये १ प्रतिशतभन्दा कमले मात्र प्रयोग गर्ने गरेका थिए । तर, प्लेटफर्ममा आउने स्पाम, वित्तीय ठगी र मालवेयर सम्बन्धी करिब ८० प्रतिशत रिपोर्ट यही फिचरसँग सम्बन्धित हुने गरेका थिए ।
कम प्रयोग हुने तर व्यवस्थापनमा धेरै स्रोत खर्चिनुपर्ने भएकाले कम्पनीले उक्त सेवा बन्द गरी प्लेटफर्मका मुख्य फिचरहरू सुधारमा ध्यान केन्द्रित गर्ने निर्णय गरेको जनाएको छ ।
आईसीटी समाचार