काठमाडौं । ग्लर्स इन आईसिटी डे २०२६ को अवसरमा “स्टेम वुमन डायस्पोरा २०२६” सूचना प्रविधिमा महिलाद्वारा विशेष कार्यक्रम आयोजना गरिएको छ । यस कार्यक्रमको मुख्य उद्देश्य प्रविधि र सञ्चार क्षेत्रसँगै विज्ञान, प्रविधि, इन्जिनियरिङ र अनुसन्धानजस्ता स्टेम क्षेत्रहरूमा महिलाको सहभागिता, नेतृत्व र योगदानलाई उजागर गर्नु तथा प्रोत्साहन गर्नु थियो ।
काठमाडौंको नाग पोखरीस्थित अरण्य बुटिक होटलमा सम्पन्न उक्त कार्यक्रममा स्टेम क्षेत्रमा सक्रिय नेपाली महिला, विद्यार्थी, विज्ञान, प्रविधि, गणित, इनिजनियरिंग तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको यात्रा, उपलब्धि, अनुभव र योगदानलाई सम्मान तथा किताब सार्वजनिक गरेर साझा गरिएको छ । आधुनिक डिजिटल युगमा बालिका र महिलाको भूमिकालाई सशक्त बनाउँदै उनीहरूको अर्थपूर्ण सहभागिता बढाउने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रमको मुख्य विषय वस्तु “बालिकाहरूले डिजिटल भविष्य आकार दिँदै” (गर्ल्स शेपिङ द डिजिटल फ्युचर) रहेको थियो । यस विषयका आधारमा डिजिटल युगमा बालिका र महिलाले कसरी आफ्नो क्षमता विस्तार गर्न सक्छन्, अवसरहरूलाई कसरी उपयोग गर्न सक्छन्, र प्रविधिमूलक क्षेत्रमा कसरी नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छन् भन्नेबारे गहन छलफल गरिएको थियो ।
नेपालमा सूचना प्रविधि, विज्ञान र इन्जिनियरिङ क्षेत्रमा महिलाको वर्तमान सहभागिता कस्तो छ भन्ने विषयमा समेत विचारविमर्श गरिएको थियो । सहभागीहरूले यी क्षेत्रमा महिलाको प्रतिनिधित्व अझै सीमित रहेको औंल्याउँदै नेतृत्व विकास, अवसर विस्तार र समान पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता प्रस्तुत गरेका थिए ।
स्टेम क्षेत्रमा महिलाको संलग्नता बढाउन आवश्यक नैतिक पक्षहरू र व्यवहारिक उपायहरूबारे पनि छलफल भएको थियो । वैज्ञानिक, इन्जिनियर र प्रविधि विज्ञहरूबीच अनुभव आदानप्रदान गरिँदा सहकार्य, मार्गदर्शन र नेटवर्किङका नयाँ सम्भावनाहरू खुल्ने विषयमा आयोजकले जोड दिएको थियो । सहभागीहरूका लागि आपसी विचारविनिमय र सम्पर्क विस्तार गर्ने अवसर पनि प्रदान गरिएको थियो, जसले आगामी दिनमा महिलाको प्रतिनिधित्व र नेतृत्वलाई अझ सुदृढ बनाउन सहयोग पुर्यायो ।
यस कार्यक्रमले महिला वैज्ञानिक, अनुसन्धानकर्ता र प्रविधि पेशेवरहरूलाई आफ्ना कार्य, अनुभव र उपलब्धि प्रस्तुत गर्ने एउटा महत्वपूर्ण मञ्च प्रदान गर्यो। साथै, यसले स्टेम क्षेत्रमा महिलाका लागि अझ प्रभावकारी वकालत, संस्थागत समर्थन र अवसर सृजनाको आवश्यकतालाई पुनः पुष्टि गर्यो।
कार्यक्रमले लैङ्गिक समावेशितामार्फत डिजिटल परिदृश्यलाई रूपान्तरण गर्ने लक्ष्यलाई समेत अगाडि सारेको थियो । आयोजकहरूले विज्ञान तथा प्रविधि क्षेत्रमा महिलाको भूमिका विस्तार गर्न शैक्षिक, अनुसन्धान र उद्योग क्षेत्रका सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका थिए ।
समग्रमा, ग्लर्स इन आईसिटी डे २०२६ अन्तर्गत आयोजित यो कार्यक्रमले नेपालको डिजिटल भविष्यमा स्टेम क्षेत्रमा महिलाको सहभागिता र नेतृत्वलाई प्रवर्द्धन गर्ने दिशामा सशक्तीकरण, जागरूकता र रणनीतिक संवादलाई सफलतापूर्वक अघि बढाएको देखिन्छ ।
आईसीटी समाचार