काठमाडौं । जापान सधैं आफ्ना मेहनती कर्मचारीहरूका लागि चिनिँदै आएको देश हो । तर अब टोक्योको व्यस्त हानेदा एयरपोर्टमा कार्यरत कर्मचारीहरूको शारीरिक बोझ केही कम हुने भएको छ । जापान एयरलाइन्स (जेएएल) ले मे महिनाको सुरुदेखि ‘ह्यूमनइड रोबोट’को परीक्षण सुरु गर्दैछ । चीनमा निर्मित यी रोबोटहरूलाई यात्रुहरूको लगेज र कार्गो उठाउने काममा प्रयोग गरिनेछ ।
हानेदा एयरपोर्टबाट प्रत्येक वर्ष ६ करोडभन्दा बढी यात्रु यात्रा गर्छन् । यस्तो अवस्थामा जेएएल र त्यसको सहायक कम्पनी ‘जीएमओ इन्टरनेट ग्रुप’ले यो परीक्षण २०२८ सम्म निरन्तर चलाएर मानव कर्मचारीमाथि पर्ने शारीरिक दबाब उल्लेख्य रूपमा घटाउने अपेक्षा गरेका छन् ।
यी विशेष रोबोट कसरी काम गर्नेछन् ?
हालै मिडियासामु चीनको हाङझौस्थित टेक कम्पनी ‘युनिट्री’ले बनाएको १३० सेन्टिमिटर अग्लो रोबोटको प्रदर्शन गरिएको थियो । सो क्रममा रोबोटलाई विमान नजिकको कन्वेयर बेल्टमा कार्गो धकेल्दै र आफ्ना सहकर्मीलाई हात हल्लाएर संकेत गर्दै गरेको देखाइएको थियो । एक पटक चार्ज गरेपछि यी रोबोट २ देखि ३ घण्टासम्म लगातार काम गर्न सक्छन् । भविष्यमा विमानको केबिन सफाइ जस्ता काममा पनि तिनलाई प्रयोग गर्ने योजना छ । यद्यपि, एयरपोर्टले सुरक्षा व्यवस्थापनजस्ता अत्यन्त संवेदनशील र महत्वपूर्ण काम भने मानिसले नै गर्ने स्पष्ट गरेको छ ।
जापानमा घट्दो जनसंख्या र बढ्दो चिन्ता
जापान अहिले एउटा ठूलो दोहोरो चुनौतीसँग जुधिरहेको छ । एकातिर देशको जनसंख्या तीव्र गतिमा घट्दै गएको छ, अर्कोतिर विदेशी पर्यटकहरूको भीड निरन्तर बढिरहेको छ । टोकियो र बेइजिङबीचको कूटनीतिक विवादका कारण चिनियाँ पर्यटकको संख्या केही घटे पनि गएको वर्ष जापानमा रेकर्ड ४ करोड २७ लाख मानिस आएका थिए । त्यस्तै, सन् २०२६ का सुरुवाती दुई महिनामै ७० लाखभन्दा बढी पर्यटक यहाँ पुगिसकेका छन् ।
एक अनुमानअनुसार, आफ्ना आर्थिक लक्ष्य हासिल गर्न जापानलाई सन् २०४० सम्म ६५ लाख विदेशी श्रमिक आवश्यक पर्नेछ । तर, आप्रवासीमाथि नियन्त्रण गर्नुपर्ने राजनीतिक दबाब पनि सरकारमाथि निकै छ । जीएमओ एआई एन्ड रोबोटिक्सका अध्यक्ष तोमोहिरो उचिदाले स्पष्ट गर्दै भनेका छन्, बाहिरबाट एयरपोर्टहरू जति नै आधुनिक देखिए पनि तिनको ‘ब्याक-एन्ड’ सञ्चालन अझै पनि धेरै हदसम्म मानव श्रममै निर्भर छ ।
आईसीटी समाचार