काठमाडौं । ह्वाट्सएपले प्रयोगकर्तालाई संवेदनशील कुराकानीमा थप नियन्त्रण दिन ‘रिस्ट्रिक्टेड च्याट’ नामक नयाँ फिचर परीक्षणमा ल्याएको छ । यो फिचरले निश्चित च्याटमा सन्देश तथा मिडिया सामाग्रीको प्रयोग र पहुँचलाई थप सीमित गर्नेछ ।
हाल ‘रिस्ट्रिक्टेड च्याट’ एन्ड्रोइड र आईओएसका केही बिटा प्रयोगकर्ताका लागि उपलब्ध छ । डब्लूएबिटाइन्फोका अनुसार यो फिचर एन्ड्रोइडको बिटा संस्करण २.२६.३६.४ तथा आईओएसको २६.३९.१०.२० मा देखिएको छ । पछिल्लो रोलआउट भने एन्ड्रोइडमा २.२६.३९.११ संस्करणका केही बिटा प्रयोगकर्तासम्म पनि पुगेको छ ।
‘रिस्ट्रिक्टेड च्याट’ ह्वाट्सएपको ‘एडभान्स्ड च्याट प्राइभेसी’ फिचरको थप विकसित रूप हो । यो सबै कुराकानीमा स्वत: लागू हुँदैन । प्रयोगकर्ताले आफूले चाहेको च्याटको ‘च्याट इन्फो’ सेक्सनमा गएर फिचरलाई म्यानुअल रूपमा सक्रिय गर्नुपर्छ । फिचर सक्रिय गरेपछि सम्बन्धित कुराकानीमा चारवटा प्रमुख प्रतिबन्ध लागू हुन्छन् ।
पहिलो, च्याटमा पठाइएका फोटो तथा भिडियो डिभाइसको ग्यालरीमा स्वत: सेभ हुँदैनन् ।
दोस्रो, सम्बन्धित च्याट एक्सपोर्ट गर्न सकिँदैन ।
तेस्रो, उक्त कुराकानीमा ह्वाट्सएपको मेटा एआई फिचर प्रयोग गर्न सकिँदैन ।
चौथो, ‘रिस्ट्रिक्टेड च्याट’ लिंक गरिएका अन्य डिभाइसबाट खोल्न वा प्रयोग गर्न सकिँदैन । ह्वाट्सएपका अनुसार यसले अनधिकृत क्लाइन्ट वा एआई एजेन्टमार्फत च्याटको सामाग्रीमा पहुँच गर्ने सम्भावना कम गर्न मद्दत गर्छ ।
फिचर सक्रिय भएपछि च्याटभित्रै प्रतिबन्ध लागू भएको जानकारी देखिनेछ । हाल यो सुविधा मुख्यत: व्यक्तिगत अर्थात् एक एक जनाबीच हुने कुराकानीमा उपलब्ध रहेको छ ।
‘रिस्ट्रिक्टेड च्याट’ सक्रिय गरेपनि ह्वाट्सएपका सन्देश र कलमा एन्ड–टु–एन्ड इन्क्रिप्सन भने यथावत् रहनेछ । अर्थात् यो फिचरले इन्क्रिप्सनलाई प्रतिस्थापन गर्ने नभई च्याटको सामाग्री कसरी प्रयोग वा पहुँच गर्न सकिन्छ भन्ने विषयमा थप नियन्त्रण प्रदान गर्नेछ ।
हाल यो फिचर परीक्षणकै चरणमा रहेकाले सबै प्रयोगकर्ताका लागि कहिले उपलब्ध हुन्छ भन्ने ह्वाट्सएपले स्पष्ट गरेको छैन । बिटा कार्यक्रममा सहभागी प्रयोगकर्ताले आफ्नो डिभाइसमा उपलब्ध भएमा ‘च्याट इन्फो’ बाट ‘रिस्ट्रिक्टेड च्याट’ प्रयोग गर्न सक्नेछन् ।
आईसीटी समाचार