काठमाडौं । ओपनएआईले च्याटजीपीटीमा ‘स्पेस’ नामक नयाँ सुविधा ल्याएको छ । यसले प्रयोगकर्तालाई च्याटजीपीटीमै पेज बनाउन, सम्पादन गर्न, फाइल तथा अन्य सामाग्री व्यवस्थित गर्न र आवश्यक परे अरूसँग सहकार्य गर्न सुविधा दिनेछ ।
‘स्पेस’लाई प्रयोगकर्ताको पेज, अपलोड गरिएका फाइल र अन्य कामलाई एउटै स्थानमा व्यवस्थित गर्ने केन्द्रका रूपमा प्रयोग गर्न सकिन्छ । व्यक्तिगत कामका लागि छुट्टै स्पेस बनाउन सकिनेछ भने कुनै विषय, परियोजना वा टोलीका लागि अलग स्पेस बनाएर सम्बन्धित सामाग्री राख्न सकिनेछ ।
स्पेसभित्र फोल्डर, पेज तथा सबपेज राखेर सामाग्रीलाई व्यवस्थित गर्न सकिन्छ । प्रयोगकर्ताले च्याटजीपीटीलाई आदेश दिएर नयाँ स्पेस वा पेज समेत बनाउन सक्नेछन् । उदाहरणका लागि कुनै परियोजनाको नाम दिएर स्पेस बनाउन र त्यसैभित्र आवश्यक पेज तथा सामाग्री थप्न सकिनेछ ।
पेजलाई च्याटजीपीटीको सहयोगमा तयार तथा सम्पादन गर्न सकिन्छ । प्रयोगकर्ताले पेजमा सामाग्री सिधै लेख्न वा च्याटमार्फत आवश्यक परिवर्तन गर्न भन्न सक्नेछन् । पेजमा चार्ट, ट्र्याकर तथा अन्य अन्तरक्रियात्मक सामाग्री समेत च्याटजीपीटीको सहयोगमा तयार गर्न सकिनेछ ।
स्पेसको अर्को महत्वपूर्ण पक्ष सहकार्य हो । प्रयोगकर्ताले कुनै पेज वा पूरै स्पेस अन्य व्यक्तिसँग साझा गर्न सक्नेछन् । ‘सेयर’ विकल्पबाट कसलाई पहुँच दिने र उनीहरूले सामाग्री हेर्न मात्र पाउने वा सम्पादन समेत गर्न पाउने भन्ने निर्धारण गर्न सकिन्छ ।
सम्पादनको अनुमति पाएका व्यक्तिले एउटै पेजमा वास्तविक समयमै सँगै काम गर्न सक्नेछन् । आवश्यक परे पहुँच तथा सेयरिङ सेटिङ परिवर्तन गरेर कुनै व्यक्तिको पहुँच हटाउन पनि सकिनेछ ।
सामाग्री खोज्न ‘All’, ‘Your items’ र ‘Shared with you’ जस्ता विकल्प प्रयोग गर्न सकिन्छ । ‘Your items’ मा आफ्ना सामाग्री तथा ‘Shared with you’ मा अरूले साझा गरेका सामाग्री भेटिनेछन् । स्पेसभित्रका सामाग्रीलाई नामका आधारमा समेत खोज्न सकिन्छ ।
स्पेसमा अपलोड गरिएका फाइल पनि सम्बन्धित पेजको पहुँच व्यवस्थाअनुसार उपलब्ध हुनेछन् । कुनै पेज साझा गर्दा त्यसमा अपलोड गरिएका फाइलमा पनि पहुँच प्राप्त हुन सक्छ । तर बाह्य सेवामा रहेका फाइलको लिंक मात्र साझा गर्दा मूल फाइलको पहुँच स्वत: प्राप्त हुँदैन ।
हाल स्पेसमा पेज सिर्जना तथा सम्पादन गर्ने सुविधा च्याटजीपीटी प्रो, बिजनेस र इन्टरप्राइज खातामा उपलब्ध छ । व्यवस्थापन गरिएको वर्कस्पेसमा भने सेयरिङसम्बन्धी सुविधा संस्थाको सेटिङमा निर्भर हुनेछ ।
स्पेस वेब तथा च्याटजीपीटीको डेस्कटप एपबाट प्रयोग गरी पेज बनाउन र सम्पादन गर्न सकिन्छ । मोबाइलमा भने पेज हेर्न, साझा गर्न तथा पेजहरूबीच नेभिगेट गर्न सकिनेछ, तर हाल मोबाइलबाट पेज सम्पादन गर्न सकिँदैन ।
स्पेस प्रयोग गर्दा साझा गरिएको पेजमा लेखिएको सामाग्री भने त्यसमा पहुँच भएका अन्य व्यक्तिले देख्न सक्नेछन् । तर पेज साझा गर्दैमा प्रयोगकर्ताका निजी च्याट वा च्याटजीपीटीको मेमोरीमा अन्य व्यक्तिको पहुँच पुग्दैन ।
यस सुविधामार्फत च्याटजीपीटीलाई केवल कुराकानी गर्ने माध्यमभन्दा अघि बढाएर व्यक्तिगत काम, दस्तावेज व्यवस्थापन र टोलीगत सहकार्यका लागि प्रयोग गर्न सकिने कार्यस्थलका रूपमा विकास गर्ने ओपनएआईको प्रयास देखिन्छ ।
आईसीटी समाचार