कीवर्डहरू -

फ्ल्यास फ्लड पीडितका लागि एमएडब्लू ग्रुपको १ करोड ११ लाख सहयोग

फ्ल्यास फ्लड पीडितका लागि एमएडब्लू ग्रुपको १ करोड ११ लाख सहयोग

काठमाडौं । देशका विभिन्न जिल्लामा आएको विनाशकारी फ्ल्यास फ्लडबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनाका लागि एमएडब्लू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ ।

रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी र चितवनलगायतका जिल्लामा बाढीका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा एमएडब्लू ग्रुपले प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम योगदान गरेको हो ।

कम्पनीका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त सहयोगले घर, जीविकोपार्जनका साधन तथा आफन्त गुमाएका परिवारलाई राहत र पुनःस्थापनामा केही सहयोग पुग्ने विश्वास गरिएको छ ।

एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले कठिन परिस्थितिमा कम्पनी सधैं राष्ट्र र नेपाली जनताको साथमा उभिँदै आएको बताए । मानिसहरूले गुमाएको पीडा कुनै पनि योगदानले मेटाउन नसकेपनि कठिन समयबाट गुज्रिरहेका परिवारलाई सहयोगले केही राहत पुग्ने उनले उल्लेख गरे ।

एमएडब्लू ग्रुपले यसअघि पनि विभिन्न संकट तथा प्राकृतिक विपद्का समयमा प्रभावित नागरिकलाई सहयोग गर्दै आएको जनाएको छ । यसपटकको योगदान पनि त्यही सामाजिक उत्तरदायित्वको निरन्तरता भएको कम्पनीको भनाइ छ ।

कम्पनीले बाढीमा आफ्ना प्रियजन गुमाएका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घर तथा जीविकोपार्जनका साधन गुमाएका प्रभावितप्रति सहानुभूति प्रकट गरेको छ । साथै, राहत तथा उद्धारमा खटिरहेका सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि नेपाल र नेपाली जनताको साथमा निरन्तर उभिने प्रतिबद्धता जनाएको छ ।