कीवर्डहरू -

एआईबाट सीईओ र वकिलकै नक्कली आवाज बनाएर १२ करोड ९० लाख डलर ठगी, तीन जनाविरुद्ध मुद्दा

एआईबाट सीईओ र वकिलकै नक्कली आवाज बनाएर १२ करोड ९० लाख डलर ठगी, तीन जनाविरुद्ध मुद्दा

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको दुरुपयोग गर्दै विभिन्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र वकिलको नक्कली आवाज तथा अनुहार बनाएर करोडौँ डलर ठगी गरेको आरोपमा अमेरिकामा तीन जनाविरुद्ध मुद्दा दायर भएको छ ।

अमेरिकी अभियोजनकर्ताहरूका अनुसार उनीहरूले १८ महिनाभन्दा बढी समय लगाएर विश्वभरका हजारौँ कम्पनीलाई निशाना बनाउँदै करिब १२ करोड ९० लाख अमेरिकी डलर ठगी गरेका थिए । अभियुक्तहरूमाथि विद्युतीय माध्यमबाट ठगी, गम्भीर पहिचान चोरी र सम्पत्ति शुद्धीकरणको आरोप लगाइएको छ ।

न्युयोर्कस्थित जिल्ला अदालतमा दायर अभियोगपत्रमा ४१ वर्षीय ज्याकोब सोअल, ५४ वर्षीया सारोन हजान र ४२ वर्षीय गाइ सिट्रिटलाई प्रतिवादी बनाइएको छ । उनीहरू स्पेन, बेलायत, इजरायल र संयुक्त अरब इमिरेट्ससँग सम्बन्धित रहेको अभियोगपत्रमा उल्लेख छ ।

अदालतका कागजातअनुसार उनीहरूको ठगीको निशानामा अमेरिकाका अस्पताल, बैंक, वित्तीय प्रविधि कम्पनी, म्युचुअल फन्ड तथा घरपालुवा जनावरको खाना उत्पादन गर्ने कम्पनीसमेत परेका थिए । मिसौरी र क्यालिफोर्नियाका अस्पताल प्रणालीदेखि रोड आइल्यान्डको बैंक र बेलायतको एक वित्तीय प्रविधि कम्पनीसम्म उनीहरूले ठगी गरेको आरोप छ ।

यसरी बनाउँथे सीईओ र वकिलको नक्कली पहिचान
अभियुक्तहरूले कम्पनीका कर्मचारीलाई झुक्याउन अत्याधुनिक एआई प्रविधि प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरूले सुरुमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतकै नाम र पहिचान प्रयोग गरी लेखा विभागका कर्मचारीलाई इमेल पठाउँथे ।

गोप्य तथा अत्यावश्यक वित्तीय कारोबार गर्नुपर्ने भन्दै रकम पठाउन निर्देशन दिने उनीहरूले त्यसलाई विश्वसनीय बनाउन फोन वा भिडियो कलसमेत गर्थे । ती कलमा एआईको सहायताले सम्बन्धित सीईओको आवाज र कतिपय अवस्थामा अनुहारसमेत नक्कल गरिन्थ्यो ।

त्यसपछि कर्मचारीलाई एउटा प्रतिष्ठित कानुनी फर्मका वकिलसँग सम्पर्क गराइन्थ्यो । तर, वकिलको पहिचानसमेत नक्कली हुने गरेको अभियोगपत्रमा उल्लेख छ ।

अमेरिकी न्याय मन्त्रालयका अनुसार सोअलले विशेष गरी बेलायती वकिलको नक्कल गर्ने गरेका थिए । वास्तविक वकिलजस्तो देखिन र पीडितलाई विश्वास दिलाउन उनले 'लयर कल' नामको हस्तलिखित स्क्रिप्टसमेत तयार पारेका थिए ।

नक्कली वकिल बनेका व्यक्तिले कर्मचारीलाई विभिन्न देशमा रहेका बैंक खातामा ठूलो रकम पठाउन लगाउँथे । बैंक खातामा रकम पुगेपछि त्यसलाई क्रिप्टोकरेन्सीमा रूपान्तरण गरी स्रोत लुकाउने र योजनामा संलग्न व्यक्तिहरूबीच बाँड्ने गरिएको अभियोगमा उल्लेख छ ।

तीनै जना पक्राउ, दोषी ठहर भए २० वर्षसम्म जेल
अभियुक्तहरूले 'रकी बाल्बोआ', 'सुपरम्यान क्यास' र 'फ्याट ब्वाय' जस्ता उपनाम प्रयोग गर्ने गरेको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ । तीनै जनालाई जुनदेखि सेप्टेम्बरबीच पक्राउ गरिएको थियो ।

तीमध्ये हजान यसअघि पनि बैंक ठगीको षड्यन्त्र गरेको अभियोगमा सन् २००८ मा न्युयोर्कको अदालतबाट दोषी ठहर भएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ ।

एफबीआईका सहायक निर्देशक जेम्स सी. बार्नेकल जुनियरले यो घटनाले नयाँ प्रविधि प्रयोग गरेर संगठित रूपमा ठूलो आर्थिक अपराध गर्न सकिने जोखिम उजागर गरेको बताएका छन् । अपराधीहरूले प्रविधिको दुरुपयोग गर्ने क्रम बढेकाले एफबीआईले पनि अनुसन्धान क्षमता विस्तार गरिरहेको उनको भनाइ छ ।

अमेरिकी न्याय मन्त्रालयका अनुसार अभियोगमा दोषी ठहर भएमा विद्युतीय माध्यमबाट ठगीलगायतका कसुरमा प्रत्येक अभियोगबापत अधिकतम २० वर्षसम्म कैद सजाय हुन सक्छ । गम्भीर पहिचान चोरीको अभियोगमा भने अधिकतम दुई वर्ष जेल सजायको व्यवस्था छ ।