कीवर्डहरू -

संघीय संसद् सचिवालयलाई चीनले दियो आठवटा विद्युतीय गाडी

संघीय संसद् सचिवालयलाई चीनले दियो आठवटा विद्युतीय गाडी

चीन सरकारले संघीय संसद् सचिवालयलाई आठवटा विद्युतीय गाडी उपलब्ध गराएको छ। चीन सरकारले सहयोगस्वरूप गाडी उपलब्ध गराएको सचिवालयले जानकारी दिएको छ।

एक वर्षअघि नेपाल भ्रमणमा आएका चीनको जनकांग्रेसका स्थायी समिति अध्यक्ष लि चान्सुले विद्युतीय सवारीसाधन सहयोग गर्ने बताएका थिए। तत्कालीन सभामुख अग्निप्रसाद सापकोटासँगको भेटमा सचिवालयलाई सहयोग गर्ने बताएका थिए। सोहीअनुसार गाडी प्राप्त भएको सचिवालयले जानकारी दिएको छ।

अध्यक्ष चान्सुको सहयोग गर्ने चाहना तथा तत्कालीन सभामुख सापकोटाको पहल र अनुरोधमा तीन वटा एयुभी र पाँच वटा विद्युतीय कार प्राप्त भएको राज्य व्यवस्था तथा सुशासन समितिका सचिव सुरजकुमार दुराले बताए।

करिब तीन करोड रुपैयाँ बराबरका ती सवारीसाधन चीनले केही दिनअघि संसद् सचिवालयका कर्मचारी टोलीलाई नेपाल–चीन सीमा नाका केरुङमा हस्तान्तरण गरेको थियो। हाल ती सवारीसाधन संसद् भवन परिसरमा रहेका छन्।

नम्बर प्लेट र दर्ताको काम भइरहेको छ। यसअघि चीनले सन् २०१६ मा पनि सचिवालयलाई सहयोगस्वरूप केही सवारीसाधान उपलब्ध गराएको थियो। रासस