कीवर्डहरू -

२१ खर्ब २४ अर्बको बजेट घोषणा, विद्युतीय सवारीमा नीति परिवर्तन

२१ खर्ब २४ अर्बको बजेट घोषणा, विद्युतीय सवारीमा नीति परिवर्तन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् ।

अर्थमन्त्री वाग्लेका अनुसार कुल बजेटमध्ये चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चका लागि ४ खर्ब ३१ अर्ब रुपैयाँ छुट्याइएको छ । वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए ।

सरकारले आगामी आर्थिक वर्षमा १४ खर्ब ४ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । यस्तै, ६१ अर्ब ७४ करोड रुपैयाँ अनुदान र २ खर्ब ४७ अर्ब रुपैयाँ वैदेशिक ऋण परिचालन गरिनेछ । बजेट व्यवस्थापनका लागि ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइने सरकारको योजना छ ।

यसैबीच, सरकारले विद्युतीय सवारीसाधन (ईभी) मा लाग्दै आएको भन्सार महसुल प्रणालीमा परिवर्तन गर्ने घोषणा गरेको छ । अब पीक पावर क्षमताका आधारमा लाग्दै आएको भन्सार महसुललाई मूल्यगत (भ्यालु-बेस्ड) प्रणालीमा रूपान्तरण गरिने अर्थमन्त्री वाग्लेले बताए ।

साथै, स्वदेशमै विद्युतीय सवारी उत्पादन, चार्जिङ स्टेसन निर्माण तथा ब्याट्री व्यवस्थापनलाई प्रोत्साहन गर्न पैठारी बिन्दुमै ‘स्वच्छ पूर्वाधार लगानी शुल्क’ लागु गरिने सरकारको नीति छ ।