कीवर्डहरू -

एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सबाट बाढी प्रभावितलाई ५६ लाख सहयोग

एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सबाट बाढी प्रभावितलाई ५६ लाख सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुन:र्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र एनआईबीएल इक्विटी पार्टनर्सबाट रु २१ लाख सहयोग गरिएको छ । उक्त सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रदान गरिएको हो ।

यसैगरी, एनआईबीएल इक्विटी पार्टनर्सका पोर्टफोलियो कम्पनीहरूबाट समेत प्रभावित समुदायको राहत तथा पुन:र्स्थापनाका लागि सामूहिक रूपमा करिब रु ३५ लाख नगद सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ । यससँगै एनआईएमबी एस क्यापिटल, एनआईबीएल इक्विटी पार्टनर्स तथा यसका पोर्टफोलियो कम्पनीहरूबाट बाढी प्रभावितका लागि रु ५६ लाखभन्दा बढी सहयोग जुटाइएको छ ।

बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायतका जिल्लाको पुनर्निर्माण तथा दीर्घकालीन विकासमा समेत आवश्यक सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

प्रभावित क्षेत्रको आर्थिक गतिविधिलाई थप चलायमान बनाउन भविष्यमा लगानीका अवसर विस्तार गर्नुका साथै शाखा सञ्जाल विस्तारमार्फत पुँजी बजारको पहुँच र वित्तीय सेवाको पहुँचलाई थप सहज बनाउने पहल गरिने जनाइएको छ ।

यस पहलमार्फत प्रभावित जिल्लाका परिवार तथा समुदायलाई वित्तीय सेवासँग थप जोड्न तथा दीर्घकालीन रूपमा स्थानीय आर्थिक विकासमा योगदान पुर्‍याउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

बाढीका कारण ज्यान गुमाएका नागरिकहरूप्रति एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्स परिवारको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।