काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनामा सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग गर्ने निर्णय गरेको छ ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नाइमाले ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । यस विपदको घडीमा आफ्ना सदस्य संस्थाहरुले गरेको सहयोगको पनि नाइमाले प्रशंसा गरेको छ ।
विपद्को सुरुवातदेखि नै नाइमाका सदस्य कम्पनीहरूले आर्थिक, यातायात तथा लजिस्टिक सहयोगलगायत विभिन्न माध्यमबाट उद्धार तथा राहत कार्यमा योगदान पुर्याउँदै आएका छन् । नाइमाले आफ्नो स्थापनाकालदेखि नै विपद् तथा आपतकालीन अवस्थामा सरकार तथा प्रभावित समुदायलाई सहयोग गर्दै आएको अध्यक्ष ऋतु सिंह वैद्यले बताइन् ।
“यस्तो कठिन समयमा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको पनि साझा दायित्व हो । यस विपद्मा सहयोग र सहकार्यका लागि तत्परता देखाउनु भएका हाम्रा सम्पूर्ण सदस्य कम्पनीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्यले नै राहत तथा पुन:स्थापनालाई प्रभावकारी बनाउन सक्छ,” उनले भनिन् ।
खोज, उद्धार तथा राहत कार्यमा खटिरहेका सरकारी तथा सुरक्षा निकाय, स्वास्थ्यकर्मी, उद्धारकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा संघ संस्थाप्रति उच्च सम्मान व्यक्त गर्दै नाइमाले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका सम्पूर्ण सरोकारवालालाई आफ्नो क्षमता र उपलब्ध स्रोतअनुसार प्रभावित नागरिकको सहयोगमा हातेमालो गर्न आग्रह गरेको छ ।
आईसीटी समाचार