कीवर्डहरू -

गुगल नोटबुक एलएमको नयाँ फिचर : अब लामो डकुमेन्ट १ मिनेटमै एआई भिडियोमा रूपान्तरण गर्न सकिने

गुगल नोटबुक एलएमको नयाँ फिचर : अब लामो डकुमेन्ट १ मिनेटमै एआई भिडियोमा रूपान्तरण गर्न सकिने

काठमाडौं । गुगलले मंगलबार आफ्नो एआई-सञ्चालित अनुसन्धान सहायक तथा ज्ञान व्यवस्थापन प्लेटफर्म नोटबुक एलएम (NotebookLM) का लागि ‘शर्ट भिडियो ओभरभ्यूज (Short Video Overviews)’ नामक नयाँ फिचर सार्वजनिक गरेको छ । नामले नै जनाएझैँ, यो फिचरले प्रयोगकर्तालाई एआईको सहयोगमा छोटो र संक्षिप्त भिडियो तयार गर्न सक्षम बनाउँछ ।

कम्पनीका अनुसार यो फिचरले अपलोड गरिएका स्रोत सामाग्रीलाई कथात्मक व्याख्या (न्यारेटिभ एक्सप्लेनेसन) र शैक्षिक एनिमेसनमार्फत करिब एक मिनेटमै सारांशसहितको भिडियोमा रूपान्तरण गर्न सक्छ । पछिल्ला केही महिनादेखि गुगलले नोटबुकएलएमलाई सामान्य एआई अनुसन्धान सहायकबाट बहुउपयोगी सिकाइ उपकरण (भर्साटाइल लर्निङ टुल) बनाउने प्रयास गरिरहेको छ । नयाँ फिचर त्यसैको अर्को कदम हो ।

लामो डकुमेन्ट अब १ मिनेटको एआई भिडियोमा

सर्च कम्पनी गुगलका अनुसार ‘शर्ट भिडियो ओभरभ्यूज’ विशेष गरी ती प्रयोगकर्ताका लागि उपयोगी हुनेछ, जो लामो भिडियो हेर्नु नपरी अपलोड गरिएका स्रोत सामाग्रीका मुख्य विषय वस्तु छिट्टै बुझ्न चाहन्छन् ।

परम्परागत ‘भिजुअल ओभरभ्यूज (Visual Overviews)’ जस्तै यसले पनि अपलोड गरिएका डकुमेन्टलाई स्वचालित रूपमा आवाजसहितको व्याख्यात्मक भिडियो (एक्सप्लेनेर भिडियो) मा रूपान्तरण गर्न गुगलको एआई भिडियो जेनेरेसन प्रविधि प्रयोग गर्छ ।

नोटबुकएलएमको यो नयाँ भिडियो फर्म्याटले करिब ६० सेकेन्ड लामो एआई-सञ्चालित भिडियो तयार गर्न सक्छ । कम्पनीका अनुसार यो सुविधा नोट्स, अनुसन्धान सामाग्री (रिसर्च मटेरियल), प्रस्तुति (प्रेजेन्टेसन) वा लामो डकुमेन्टको छिटो पुनरावलोकन (रिभिजन) गर्न चाहने प्रयोगकर्ताका लागि विशेष रूपमा उपयोगी हुनेछ ।

‘नानो बनाना २ लाइट’ मोडेलद्वारा सञ्चालित

यो फिचर ‘नानो बनाना २ लाइट (Nano Banana 2 Lite)’ मोडेलद्वारा सञ्चालित छ । यसलाई यसै वर्षको सुरुवातमा सार्वजनिक गरिएको थियो । यो गुगलको इमेज जेनेरेसन तथा सम्पादन (एडिटिङ) मोडेल हो, जसले ‘सिनेम्याटिक भिडियो ओभरभ्यूज (Cinematic Video Overviews)’ को उच्च दृश्य गुणस्तर कायम राख्दै छोटो भिडियो उत्पादन गर्न सक्ने कम्पनीको दाबी छ ।

आफ्नै आवश्यकता अनुसार भिडियो अनुकूल बनाउन सकिने

यो फिचर प्रयोग गर्दा प्रयोगकर्ताले नोटबुकएलएम भित्र आफूले एआईबाट सारांश तयार गराउन चाहेको स्रोत सामाग्री चयन गर्नुअघि आउटपुट फर्म्याटमा ‘शर्ट’ विकल्प रोज्न सक्नेछन् ।

भिडियो तयार हुनु अघि सुझाइएका विषय (सजेस्टेड टपिक्स) मध्ये कुनै एक छान्न वा आफ्नै प्रम्प्ट लेखेर भिडियोको मुख्य केन्द्रबिन्दु (फोकस) पनि निर्धारण गर्न सकिनेछ ।

गुगलले सार्वजनिक गरेको इन्टरफेस प्रिभ्यू अनुसार प्रयोगकर्ताले ‘शर्ट’, ‘एक्सप्लेनेर’ र ‘सिनेम्याटिक’ फर्म्याटमध्ये आफूलाई उपयुक्त विकल्प रोज्न सक्नेछन् । साथै, भिडियो तयार गर्नुअघि आफ्ना व्यक्तिगत स्रोत सामाग्री चयन गर्ने र भिडियोको मुख्य विषय पनि निर्धारण गर्ने सुविधा उपलब्ध हुनेछ ।

कहिले उपलब्ध हुनेछ ?

गुगलका अनुसार ‘शर्ट भिडियो ओभरभ्यूज’ आगामी केही साताभित्र १८ वर्ष वा सोभन्दा माथिका अंग्रेजी भाषी प्रयोगकर्ताका लागि चरणबद्ध रूपमा उपलब्ध गराइनेछ । यो सुविधा वेब, एन्ड्रोइड र आईओएस तीनै संस्करणमा नियमित प्रयोगकर्ता तथा गुगल वर्कस्पेस (Google Workspace) प्रयोगकर्ताका लागि पनि उपलब्ध हुनेछ ।