कीवर्डहरू -

कृषि बीमा प्रणाली डिजिटलाइज हुने, दाबी भुक्तानीदेखि अनुदानसम्म एकीकृत प्रणालीमा

कृषि बीमा प्रणाली डिजिटलाइज हुने, दाबी भुक्तानीदेखि अनुदानसम्म एकीकृत प्रणालीमा

काठमाडौं । सरकारले कृषि बीमा प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषि तथा पशुधन बीमालाई डिजिटल माध्यममा रूपान्तरण गरी बीमा सेवा, प्रिमियम अनुदान तथा दाबी भुक्तानीलाई एकीकृत प्रणालीमा आबद्ध गरिने घोषणा गरेका हुन् ।

सरकारले साना किसानलाई लक्षित गर्दै कृषि र पशुधन बीमाको विस्तार गर्ने तथा बीमा लेख जारी गर्ने प्रक्रिया समेत डिजिटल प्रणालीमार्फत सञ्चालन गर्ने जनाएको छ । यसअन्तर्गत बीमा दाबी भुक्तानीलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य लिइएको छ ।

हालसम्म कृषि बीमाका लागि वार्षिक रूपमा प्रदान गरिँदै आएको अनुदान वास्तविक किसानसम्म नपुग्ने समस्या देखिँदै आएको छ । सो समस्या समाधान गर्दै डिजिटल प्रणालीमार्फत लक्षित लाभग्राहीसम्म सेवा पुर्‍याउने सरकारको उद्देश्य रहेको नीति तथा कार्यक्रममा उल्लेख छ ।