कीवर्डहरू -

एआई लगानीले विश्व अर्थतन्त्रमा टेवा, जोखिम पनि बढ्दो : ओइसीडी

एआई लगानीले विश्व अर्थतन्त्रमा टेवा, जोखिम पनि बढ्दो : ओइसीडी

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) विश्व अर्थतन्त्रमा आर्थिक वृद्धिको नयाँ संवाहक बन्दै गएको भए पनि यससँगै वित्तीय तथा आपूर्तिसम्बन्धी जोखिमसमेत बढिरहेको आर्थिक सहयोग तथा विकास सङ्गठन (ओइसीडी) ले जनाएको छ ।

ओइसीडीले बुधबार सार्वजनिक गरेको ‘आर्थिक परिदृश्य अन्तरिम प्रतिवेदन’मा एआईसम्बन्धी लगानी र प्रविधिको विस्तारले आर्थिक गतिविधिलाई गति दिएको उल्लेख छ ।

तर एआईको तीव्र विस्तारका लागि आवश्यक ऊर्जा, सेमीकन्डक्टर, वित्तीय लगानी तथा पूर्वाधारमा देखिन सक्ने अवरोधले आगामी दिनमा जोखिम बढाउन सक्ने प्रतिवेदनले औँल्याएको छ ।

प्रतिवेदनअनुसार सन् २०२६ को पहिलो छ महिनामा विश्वका धेरै अर्थतन्त्रमा एआईसम्बन्धी लगानी र उत्पादन उल्लेख्य रूपमा बढेको थियो । यसले मध्यपूर्वमा जारी द्वन्द्वबाट विश्व अर्थतन्त्रमा परेको प्रभावलाई केही हदसम्म न्यूनीकरण गर्न सहयोग पुर्‍याएको थियो ।

यद्यपि, सो अवधिमा विश्वव्यापी आर्थिक वृद्धिदर वार्षिक आधारमा २.६ प्रतिशतमा सीमित भएको छ । सन् २०२५ को सोही अवधिमा यस्तो वृद्धिदर ३.६ प्रतिशत थियो ।

ओइसीडीका अनुसार सन् २०२६ को दोस्रो त्रैमासिकमा विभिन्न देशको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिमा डाटा सेन्टर पूर्वाधार र प्राविधिक उपकरणमा भएको लगानीले महत्वपूर्ण योगदान दिएको थियो ।

एआई पूर्वाधारमा भएको बढ्दो खर्चबाट प्रविधि तथा निर्माण सामाग्री ठूलो परिमाणमा उत्पादन गर्ने देशहरू पनि लाभान्वित भएका छन् ।

ओइसीडीले सन् २०२६ मा विश्व अर्थतन्त्र २.९ प्रतिशतले र सन् २०२७ मा ३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । विशेष गरी जी–२० समूहका धेरै अर्थतन्त्रमा एआईसम्बन्धी लगानी र उत्पादनले आर्थिक वृद्धिलाई निरन्तर टेवा दिने अपेक्षा गरिएको छ ।

प्रतिवेदनले एआईसम्बन्धी लगानी र प्रविधि उत्पादन थप विस्तार भएमा निकट भविष्यमा आर्थिक वृद्धिमा थप योगदान पुग्न सक्ने जनाएको छ । उत्पादन प्रक्रियामा एआई प्रविधिको प्रभावकारी प्रयोग बढाउन सके उत्पादकत्वमा उल्लेख्य सुधार ल्याउन सकिने ओइसीडीको निष्कर्ष छ ।

तर एआईको तीव्र विस्तारका लागि आवश्यक ऊर्जाको उपलब्धता चुनौती बन्न सक्ने चेतावनी पनि प्रतिवेदनमा दिइएको छ । ऊर्जा अभावले एआईजस्ता विद्युत्मा अत्यधिक निर्भर र तीव्र गतिमा विस्तार भइरहेका उद्योगमा प्रतिकूल प्रभाव पार्न सक्ने ओइसीडीले जनाएको छ ।

एआईमा भइरहेको ठूलो लगानीबाट अपेक्षित प्रतिफल प्राप्त नहुने वा अनुमान गरिएभन्दा ढिलो प्राप्त हुने जोखिमसमेत रहेको प्रतिवेदनमा उल्लेख छ ।

विशेष गरी विद्युत् र उन्नत सेमीकन्डक्टरजस्ता आवश्यक सामाग्रीको आपूर्तिमा अवरोध आए यस्तो जोखिम अझ बढ्न सक्ने जनाइएको छ । त्यसैगरी, एआईसँग सम्बन्धित सुरक्षा तथा नियमनसम्बन्धी बढ्दो चिन्ताले यसको विकास र प्रयोगको गति सुस्त बनाउन सक्ने ओइसीडीले जनाएको छ ।

एआई कम्पनीहरूको ऋणमा बढ्दो निर्भरता, जटिल वित्तीय संरचना तथा कर्जा जोखिमका सङ्केतले लगानीकर्ताको विश्वास र बजारको मनोभावनामा तीव्र परिवर्तन ल्याउन सक्ने जोखिमतर्फ पनि प्रतिवेदनले ध्यानाकर्षण गराएको छ ।