कीवर्डहरू -

कम्पनी दर्तासँगै अब प्यान पनि अनलाइनबाटै डाउनलोड गर्न सकिने

कम्पनी दर्तासँगै अब प्यान पनि अनलाइनबाटै डाउनलोड गर्न सकिने

काठमाडौं । कम्पनी दर्तापछि स्थायी लेखा नम्बर (प्यान) लिन छुट्टै प्रक्रिया पूरा गर्नुपर्ने झन्झट अब हटेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका नयाँ कम्पनीहरूले अब प्यान नम्बर र प्यान प्रमाणपत्र अनलाइनबाटै डाउनलोड गरी प्रयोग गर्न सक्ने व्यवस्था लागू भएको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार यो सेवा विद्युतीय प्रणालीमार्फत सञ्चालनमा आइसकेको छ । अब कम्पनी दर्ता हुनेबित्तिकै सम्बन्धित सेवाग्राहीले कार्यालयको सीएएमआइएस प्रणालीमार्फत आफ्नो प्यान नम्बर तथा प्यान प्रमाणपत्र डाउनलोड गरी प्रिन्ट गर्न सक्नेछन् ।

कार्यालयका अनुसार कम्पनी रजिष्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभाग बीच सूचना प्रणालीलाई एकआपसमा जोड्ने विषयमा २०८३ वैशाख ३१ गते समझदारी भएको थियो । सोही समझदारीअनुसार तयार गरिएको अन्तरआबद्ध प्रणाली २०८३ असार १५ गतेदेखि सीएएमआइएस प्रणालीमा कार्यान्वयनमा आएको हो ।

नयाँ व्यवस्थाले कम्पनी दर्ता र करसम्बन्धी प्रारम्भिक प्रक्रिया एउटै डिजिटल प्रणालीमार्फत सम्पन्न हुने भएकाले सेवाग्राहीको समय र लागत दुवै बचत हुने विश्वास गरिएको छ । यसले सरकारी सेवा प्रवाहलाई थप छरितो, सहज र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको कार्यालयले जनाएको छ ।

यसअघि कम्पनी दर्ता सम्पन्न भएपछि प्यान नम्बर प्राप्त गर्न सेवाग्राहीले आन्तरिक राजस्व कार्यालयमा सम्पर्क गर्नुपर्ने वा अतिरिक्त प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था थियो । अब भने उक्त प्रक्रिया पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सम्पन्न हुने भएको छ ।