कीवर्डहरू -

चाडपर्वको अनलाइन बजार तताउँदै अमेजन, १ लाख ६० हजार जनशक्ति थप्ने

चाडपर्वको अनलाइन बजार तताउँदै अमेजन, १ लाख ६० हजार जनशक्ति थप्ने

काठमाडौं । भारतमा चाडपर्वको मौसम नजिकिँदै गर्दा ई-कमर्स कम्पनी अमेजनले ठूलो संख्यामा अस्थायी रोजगारी सिर्जना गर्ने भएको छ । कम्पनीले देशभर करिब १ लाख ६० हजार मौसमी रोजगारी उपलब्ध गराउने घोषणा गरेको हो ।

भारतमा चाडपर्वको किनमेल अक्टोबरदेखि तीव्र हुने अपेक्षा गरिएको छ । दीपावलीलगायत प्रमुख पर्वका कारण अनलाइन किनमेल बढ्ने भएकाले यस अवधिमा ग्राहकको अर्डर व्यवस्थापन, प्याकेजिङ तथा डेलिभरीको चाप समेत बढ्ने गर्छ । सोही मागलाई ध्यानमा राख्दै अमेजनले आफ्नो मौसमी कार्यबल विस्तार गर्न लागेको हो ।

एनडीटीभीका अनुसार, प्रस्तावित रोजगारी भारतका ४०० भन्दा बढी शहरमा उपलब्ध हुनेछन् । यसमा ठूला महानगरसँगै टियर २ र टियर ३ शहरहरू पनि समेटिएका छन् । नयाँ कर्मचारीहरूलाई मुख्यत: चाडपर्वका समयमा बढ्ने अर्डर व्यवस्थापनमा परिचालन गरिनेछ । उनीहरूले ग्राहकका सामान संकलन गर्ने, प्याक गर्ने, ढुवानीका लागि तयार पार्ने तथा डेलिभरी गर्ने जस्ता काममा सहयोग गर्नेछन् ।

अमेजनका लागि चाडपर्वको समय भारतको सबैभन्दा व्यस्त व्यापारिक अवधिमध्ये एक हो । यस समयमा अनलाइन खरिदको मात्रा उल्लेख्य रूपमा बढ्ने भएकाले समयमै सामान पुर्‍याउन कम्पनीले आफ्नो लजिस्टिक तथा डेलिभरी नेटवर्कमा थप जनशक्ति परिचालन गर्न लागेको हो ।

कम्पनीले थप्न लागेको जनशक्ति स्थायीभन्दा मौसमी प्रकृतिको हुनेछ । चाडपर्वका महिनामा मागअनुसार सञ्चालनलाई प्रभावकारी बनाउन र ग्राहकको अर्डर समयमै पूरा गर्न यसले सहयोग गर्ने अपेक्षा गरिएको छ ।