काठमाडौं । हालै नेपालका विभिन्न भागमा गएको भीषण बाढीबाट प्रभावित समुदायहरूलाई सहयोग पुर्याउने उद्देश्यले सामसङ नेपालले एक विशेष मर्मत सेवा अभियान (स्पेसिसल रिपेयर सर्भिस इनिसिएटिभ) को घोषणा गरेको छ ।
बाढीपीडित परिवार र समुदायहरू बिस्तारै सामान्य जीवनमा फर्कन थालेका बेला मर्मत तथा नयाँ सामान फेर्दा लाग्ने आर्थिक भारलाई कम गर्दै अत्यावश्यक मोबाइल फोन र घरायसी सामानहरू पुन: सञ्चालनमा ल्याउन सहयोग पुगोस् भन्ने हेतुले यो अभियान ल्याइएको सामसङ नेपालले जनाएको छ ।
अक्टोबर २, २०२६ देखि नोभेम्बर २, २०२६ सम्म सञ्चालन रहने यस अभियानअन्तर्गत सामसङ नेपालले नारायणघाट सर्भिस सेन्टर र काठमाडौंको पाकोस्थित ताम्राकार सर्भिस सेन्टरमा विशेष मर्मत सेवा केन्द्र सञ्चालन गरी सेवा प्रदान गरिरहेको छ ।
यी स्थानहरूलाई प्रमुख सेवा केन्द्रका रूपमा स्थापना गरेर बाढी प्रभावित जिल्ला र वरपरका क्षेत्रका ग्राहकहरूलाई सेवामा सहज पहुँच पुर्याउने लक्ष्य लिइएको छ ।
योग्य सामसङ स्मार्टफोन र ट्याब्लेट भएका ग्राहकहरूले जाँच तथा मर्मत सहायताका लागि आफ्ना उपकरणहरू सिधै तोकिएका सर्भिस क्याम्पमा लैजान सक्नेछन् । त्यसैगरी घरायसी सामानहरू (कन्ज्युमर इलेक्ट्रोनिक्स) का लागि भने घरमै पुगेर सेवा दिने व्यवस्था मिलाइएको छ ।
यो विशेष सेवा क्याम्प नेपाल सरकारले विपद् संकटग्रस्त घोषणा गरेका १५ वटा स्थानीय तहका बाढी प्रभावित क्षेत्र तथा रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा र तनहुँलगायत वरपरका जिल्लाहरूका लागि लक्षित गरिएको छ ।
यस अभियानमा मोबाइल उपकरणहरूसँगै फ्रिज, वासिङ मेसिन, टेलिभिजन र अन्य योग्य घरायसी सामानहरूलाई समावेश गरिएको छ । यस अभियानअन्तर्गत प्रदान गरिने छुट तथा सुविधाहरू सामानको उमेर र वारेन्टीको आधारमा तय गरिएको छ ।
घरायसी सामान र मोबाइल उपकरण दुवैका हकमा वारेन्टी बाँकी रहेका सामानहरूको मर्मत तथा नयाँ फेर्नुपरेमा १०० प्रतिशत नै छुटको व्यवस्था गरिएको छ । यस्तै, १ देखि २ वर्षसम्म पुराना सामानहरूमा ८० प्रतिशत छुट उपलब्ध गराइनेछ ।
घरायसी सामानको हकमा २ देखि ५ वर्ष वा सोभन्दा पुराना र मोबाइल उपकरणको हकमा २ देखि ४ वर्ष पुराना सामानहरूमा ७० प्रतिशतसम्म छुट तथा नयाँ फेर्न परेमा सहयोग प्रदान गरिनेछ ।
यसैगरी, यदि कुनै सामानका नयाँ पार्टपुर्जा, मर्मत ज्याला र ढुवानी खर्च जोड्दा उक्त सामानको कुल बजार मूल्यको ८० प्रतिशतभन्दा बढी हुन पुगेमा, मर्मत गर्नुको साटो नयाँ सामान उपलब्ध गराउने विषयमा समेत विचार गर्न सकिने कम्पनीले जनाएको छ ।
आईसीटी समाचार