कीवर्डहरू -

नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय साइबर सुरक्षा अवार्ड

नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय साइबर सुरक्षा अवार्ड

काठमाडौं । नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट टेक्नोलोजी प्रालि अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । कम्पनीले इन्डोनेसियाको जकार्तामा आयोजित ‘एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६’ मा ‘एआई इन साइबर सेक्युरिटी’ अवार्ड प्राप्त गरेको हो ।

सूचना प्रविधि तथा साइबर सुरक्षा क्षेत्रमा पुर्‍याएको योगदान र साइबर सुरक्षा प्रणालीमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगका लागि कम्पनीलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

अक्टोबर ७ मा जकार्तास्थित स्विसोटेल जकार्ता पीआईके एभिन्युमा आयोजित अवार्डी शोकेस कार्यक्रममा इन्साइट टेक्नोलोजीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सुमन के. शर्माले कम्पनीको यात्रा, उपलब्धि र साइबर सुरक्षा सम्बन्धी दृष्टिकोण प्रस्तुत गरेका थिए । कार्यक्रममा एएसओसिआईओका पदाधिकारी, अवार्ड विजेता तथा एसिया–ओसियाना क्षेत्रका प्रविधि विज्ञहरूको सहभागिता थियो ।

एएसओसिआईओ एसिया र ओसियानाका २५ भन्दा बढी देशका राष्ट्रिय प्रविधि संघहरू आबद्ध क्षेत्रीय सूचना तथा सञ्चार प्रविधि संस्था हो । सन् १९८४ मा स्थापना भएको यस संस्थाले डिजिटल अर्थतन्त्रको विकास, प्रविधिमा क्षेत्रीय सहकार्य र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै आएको छ ।

इन्साइट टेक्नोलोजी सन् २०११ मा सूचना प्रविधि समाधान प्रदायक कम्पनीका रूपमा स्थापना भएको थियो । कम्पनीका अनुसार अहिले यसले सयौँ संस्थालाई साइबर सुरक्षा तथा व्यवस्थित प्रविधि सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत शर्माले अवार्डलाई कम्पनीका इन्जिनियर, विश्लेषक र सेवा प्रदान गरिएका संस्थाहरूको विश्वासको सम्मानका रूपमा लिएको बताए ।

उनले नेपाली संस्थाका संवेदनशील प्रणालीको सुरक्षा गर्दै आएको कम्पनीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पाउनु गौरवको विषय भएको बताए । प्रत्येक संस्थाका लागि उन्नत साइबर सुरक्षा सेवा पहुँचयोग्य बनाउने उद्देश्यसहित कम्पनी अघि बढिरहेको उनको भनाइ छ ।

इन्साइट टेक्नोलोजीले विगत १५ वर्षदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सूचना प्रविधि र साइबर सुरक्षासम्बन्धी विभिन्न सेवा प्रदान गर्दै आएको जनाएको छ ।