काठमाडौं । र्यापिड टेकले आफ्नो एपीआई बैंकिङ प्लेटफर्मलाई व्यावसायिक सफ्टवेयरमा जोड्न नौवटा ईआरपी तथा बिजनेस सफ्टवेयर कम्पनीसँग साझेदारी गरेको छ । यससँगै व्यवसायले आफूले दैनिक प्रयोग गर्दै आएको सफ्टवेयरबाटै बैंक खाताको विवरण हेर्न, स्टेटमेन्ट प्राप्त गर्न र वित्तीय कारोबारको लेखा मिलान गर्न सक्नेछन् ।
र्यापिड टेकले आईएमएस, स्वस्तिक, सीएमटी बोस, रेस्ट्रोएक्स, सिनर्जी टेक, इन्फिकेयर, सोर्स कोड, क्रसओभर र डल्फिनसँग समझदारीपत्रमा हस्ताक्षर गरेको हो । यो साझेदारीपछि र्यापिडको एपीआईमार्फत बैंक खाताको मौज्दात हेर्न, बैंक स्टेटमेन्ट प्राप्त गर्न र बैंकमा भएका कारोबारलाई सफ्टवेयरमा राखिएका लेखा अभिलेखसँग स्वत: मिलान गर्न सकिनेछ । यसले कारोबार जाँच्न लाग्ने समय घटाउनुका साथै व्यवसायको वित्तीय व्यवस्थापनलाई सहज बनाउने कम्पनीको अपेक्षा छ ।
र्यापिड टेकका प्रमुख कार्यकारी अधिकृत आशितोष साहले वित्तीय व्यवस्थापनलाई सहज बनाउनु प्लेटफर्मको मुख्य उद्देश्य रहेको बताए । बैंक स्टेटमेन्ट र ईआरपीमा रहेका लेखा अभिलेख स्वत: मिलान हुने भएपछि वित्तीय टोलीले कारोबार जाँच्न कम समय खर्च गर्नुपर्ने र अन्य काममा ध्यान दिन सक्ने उनले बताए ।
विभिन्न बैंकमा खाता भएका व्यवसायले प्रत्येक बैंकको पोर्टलमा छुट्टाछुट्टै लगइन नगरी एउटै ईआरपी प्रणालीबाट आफ्नो समग्र नगद अवस्था हेर्न सक्नेछन् । बैंक खातामा रहेको वास्तविक मौज्दात र तत्काल प्रयोग गर्न उपलब्ध रकमको विवरणसमेत सफ्टवेयरमै उपलब्ध हुने भएकाले नगद प्रवाह तथा कोष व्यवस्थापनमा सहज हुने कम्पनीको विश्वास छ ।
थप वित्तीय सेवा जोड्ने तयारी
र्यापिडले आगामी चरणमा भुक्तानी अनुरोध, एपीआईमार्फत खाता खोल्ने सुविधा, प्रत्यक्ष डेबिट तथा मार्जिन कर्जा र कारोबारका लागि भर्चुअल खाता लगायतका सेवा थप्ने तयारी गरेको छ ।
कम्पनीको दीर्घकालीन लक्ष्य नेपालमा एम्बेडेड फाइनान्सको विस्तार गर्नु हो । यस अवधारणाअन्तर्गत ग्राहक तथा व्यवसायले पहिलेदेखि नै प्रयोग गर्दै आएका डिजिटल प्लेटफर्मभित्रै भुक्तानी, खाता, रकम संकलन र कर्जाजस्ता वित्तीय सेवा लिन सक्छन् ।
साहका अनुसार व्यवसायले दैनिक काममा प्रयोग गर्ने सफ्टवेयरबाटै बैंकिङ सेवा लिन सक्ने वातावरण बनाउनु एम्बेडेड फाइनान्सको मुख्य उद्देश्य हो । यसमा बैंकले वित्तीय सेवा उपलब्ध गराउँछन् भने व्यवसायले आफ्नै प्रणालीबाट ती सेवा प्रयोग गर्छन् । र्यापिडले बैंक र व्यवसायबीच सेवा जोड्ने प्राविधिक पूर्वाधारको काम गर्छ ।
कम्पनीका अनुसार यस्तो प्रणालीले बैंकिङ सेवा प्रयोग गर्न सहज बनाउनुका साथै व्यवसायका दैनिक वित्तीय प्रक्रियालाई एकीकृत र स्वचालित बनाउन सहयोग गर्नेछ ।
आईसीटी समाचार