कीवर्डहरू -

एप्पलले गर्‍यो नेतृत्व परिवर्तन, जोन टर्नस नयाँ सीईओ नियुक्त

एप्पलले गर्‍यो नेतृत्व परिवर्तन, जोन टर्नस नयाँ सीईओ नियुक्त

काठमाडौं । एप्पल इंकले आफ्नो नेतृत्वमा परिवर्तन गर्दै जोन टर्नसलाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । हालका प्रमुख कार्यकारी अधिकृत टिम कूकले अब कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् ।

टर्नसले आगामी सेप्टेम्बर १ गतेदेखि औपचारिक रूपमा कम्पनीको नेतृत्व सम्हाल्नेछन् । सोही दिनदेखि उनी कम्पनीको सञ्चालक समितिमा पनि समावेश हुनेछन् ।

टर्नस सन् २००१ मा कम्पनीको उत्पादन डिजाइन समूहमा आवद्ध भएका थिए । त्यसपछि उनले विभिन्न जिम्मेवारी सम्हाल्दै सन् २०१३ मा हार्डवेयर इन्जिनियरिङका उपाध्यक्ष बनेका थिए भने सन् २०२१ मा वरिष्ठ उपाध्यक्षको भूमिकामा पुगेका थिए ।

उनले कम्पनीका प्रमुख उत्पादनहरू जस्तै आईफोन, आईप्याड, म्याक, एप्पल वाच र एयरपडको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । विशेष गरी म्याक कम्प्युटरको बजार विस्तारमा उनको योगदान उल्लेखनीय मानिन्छ ।

कम्पनीले कृत्रिम बौद्धिकता आधारित प्रविधिको तीव्र प्रतिस्पर्धा बढिरहेको अवस्थामा यो नेतृत्व परिवर्तन गरेको हो । नयाँ नेतृत्वसँगै कम्पनीले आगामी प्रविधि क्षेत्रमा अझ सशक्त रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।

कम्पनीमा आन्तरिक रूपमा नै नेतृत्व हस्तान्तरण गरिएको यो निर्णयलाई दीर्घकालीन रणनीतिक कदमका रूपमा हेरिएको छ, जसले कम्पनीलाई नयाँ चरणतर्फ अघि बढाउने विश्वास गरिएको छ ।