कीवर्डहरू -

फ्रान्समा पन्ध्र वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

फ्रान्समा पन्ध्र वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

काठमाडौं । फ्रान्सले पन्ध्र वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियन्त्रण गर्न नयाँ कानुन लागू गर्ने भएको छ । फ्रान्सेली संसदबाट पारित भएको यो व्यवस्था आगामी सेप्टेम्बर १, २०२६ देखि कार्यान्वयनमा आउनेछ ।

नयाँ कानुनअनुसार १५ वर्षभन्दा कम उमेरका बालबालिकाले अभिभावकको स्पष्ट सहमतिबिना फेसबुक, इन्स्टाग्राम, टिकटक, स्न्यापच्याट, एक्स (पूर्व ट्विटर), युट्युब, व्हाट्सएपलगायत सामाजिक सञ्जालमा नयाँ खाता खोल्न वा प्रयोग गर्न पाउने छैनन् । 

कानुनको मुख्य उद्देश्य बालबालिकाको मानसिक स्वास्थ्य संरक्षण गर्नु, साइबरबुलिङ न्यूनीकरण गर्नु तथा अनलाइन वातावरणलाई सुरक्षित बनाउनु रहेको सरकारले जनाएको छ ।

यस व्यवस्थाको पालना नगर्ने सामाजिक सञ्जाल प्लेटफर्महरूलाई कडा आर्थिक जरिबाना लगाइने प्रावधान पनि राखिएको छ । यद्यपि, अनलाइन विश्वकोश, शैक्षिक सामग्री तथा वैज्ञानिक निर्देशिकाजस्ता सेवाहरू भने यस प्रतिबन्धको दायराभन्दा बाहिर रहनेछन् ।

फ्रान्सले यसअघि नै विद्यालयभित्र मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ । अब सामाजिक सञ्जालसम्बन्धी नयाँ कानुनसँगै बालबालिकाको डिजिटल सुरक्षालाई थप मजबुत बनाउने प्रयास गरिएको सरकारको भनाइ छ ।

यसअघि अष्ट्रेलियाले पनि १६ वर्षमुनिका किशोरकिशोरीका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानुन पारित गरेको थियो । तर १५ वर्षमुनिका बालबालिकामाथि यति व्यापक रूपमा सामाजिक सञ्जाल प्रयोगमा कानुनी नियन्त्रण लागू गर्ने कदम चाल्ने मुलुकमध्ये फ्रान्स पहिलो बनेको बताइएको छ ।