कीवर्डहरू -

भोटेकोशी बाढीले एनआईसी एशिया बैंकका तीन शाखा पूर्ण रूपमा क्षतिग्रस्त

भोटेकोशी बाढीले एनआईसी एशिया बैंकका तीन शाखा पूर्ण रूपमा क्षतिग्रस्त

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण एनआईसी एशिया बैंकका तीन शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । बाढीबाट प्रभावित क्षेत्रमा कार्यरत बैंकका सबै कर्मचारी सुरक्षित स्थानमा रहेको बैंकले जनाएको छ ।

बाढीका कारण रसुवास्थित स्याफ्रुबेँसी शाखा र नुवाकोटस्थित बेत्रावती शाखा कार्यालय रहेको भवन नै बाढीले बगाएको छ । त्यस्तै, त्रिशूली शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भई माटोले पुरिएको बैंकले जनाएको छ ।

तीनवटै शाखा कार्यालयमा पूर्ण रूपमा क्षति पुगेकाले अर्को व्यवस्था नभएसम्मका लागि शाखा बन्द रहने बैंकले जानकारी दिएको छ । प्रभावित क्षेत्रमा कार्यरत कर्मचारी तथा उनीहरूका परिवारका सदस्यलाई आवश्यक परे हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारीसमेत बैंकले गरेको जनाएको छ ।

अकल्पनीय रूपमा आएको भीषण बाढीबाट भएको भौतिक तथा मानवीय क्षतिप्रति बैंकले दु:ख व्यक्त गरेको छ । बाढीमा परी ज्यान गुमाउनेहरूप्रति बैंकले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ ।

साथै, हालसम्म सम्पर्कमा नआएका नागरिकको सकुशल उद्धारका साथै बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना बैंकले गरेको छ ।