काठमाडौं । माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकासबाट समाजमा आउन सक्ने परिवर्तन व्यवस्थापन गर्न विश्वका सरकारहरू पर्याप्त रूपमा तयार नरहेको बताएका छन् ।
रोयटर्ससँगको अन्तर्वार्तामा गेट्सले एआईको प्रभाव प्रविधिको क्षेत्रमा मात्र सीमित नरहने भन्दै रोजगारी, साइबर सुरक्षा र मानिसको दैनिक व्यवहारसम्म यसले ठूलो परिवर्तन ल्याउन सक्ने बताए ।
उनका अनुसार एआईका कारण रोजगारीको स्वरूपमा व्यापक परिवर्तन आउन सक्छ भने साइबर आक्रमणको जोखिम पनि बढ्न सक्छ । त्यस्तै, एआईमा आधारित डिजिटल ‘कम्प्यानियन’प्रति मानिसहरू अत्यधिक निर्भर हुने वा त्यसको लत लाग्ने सम्भावनाबारे पनि उनले चिन्ता व्यक्त गरेका छन् ।
‘कुनै पनि सरकार यस विषयमा आवश्यक गहिराइसम्म पुगेको मलाई लाग्दैन,’ गेट्सले भनेका छन् । उनका अनुसार सरकारहरू एआईको विकास र त्यसबाट उत्पन्न हुने चुनौतीको तयारीमा अझै धेरै पछाडि छन् ।
गेट्सले विशेष गरी अमेरिका र चीनजस्ता प्रमुख शक्तिहरूले एआईबाट सिर्जना हुन सक्ने जोखिम न्यूनीकरणका लागि सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । उनले एआईलाई सामान्य प्रविधिभन्दा फरक र नयाँ किसिमको ‘एलियन इन्टेलिजेन्स’ जस्तो अवस्थासँग तुलना गर्दै विश्वका देशहरूबीच समन्वय आवश्यक रहेको बताए ।
एआईसम्बन्धी विषयमा आफूले विभिन्न विश्व नेतासँग छलफल गरिरहेको पनि गेट्सले जानकारी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको टोलीसँग यसबारे कुराकानी भइरहेको तथा चीनका राष्ट्रपति सी चिनफिङसँग यसै वर्षको अन्त्यतिर भेटवार्ता गर्ने योजना रहेको उनले बताएका छन् ।
यसैबीच, बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले एआईको पहुँच विस्तारका लागि आगामी दुई वर्षमा कम्तीमा १ अर्ब अमेरिकी डलर लगानी गर्ने योजना सार्वजनिक गरेको छ । यो लगानी फाउन्डेसनले वार्षिक रूपमा करिब ९ अर्ब डलर खर्च गर्ने घोषणा गरेको योजनाकै हिस्सा भएको जनाइएको छ ।
फाउन्डेसनका अनुसार प्रस्तावित लगानी शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा एआईको प्रयोग विस्तार गर्ने साझेदार संस्थाहरूमा केन्द्रित हुनेछ । विभिन्न भाषामा काम गर्न सक्ने लार्ज ल्याङ्ग्वेज मोडललगायत एआईका लागि आवश्यक आधारभूत डेटा संरचना विकासमा समेत लगानी गरिनेछ ।
गेट्सले स्वास्थ्य क्षेत्रमा एआईको सम्भावना विशेष रूपमा ठूलो रहेको बताएका छन् । अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीलाई सहयोग पुर्याउनदेखि नयाँ औषधि तथा खोपको खोजीलाई तीव्र बनाउनसम्म एआई उपयोगी हुन सक्ने उनको भनाइ छ ।
तर एआईको लाभ समाजका सीमित वर्गमा मात्र केन्द्रित हुन नहुने गेट्सले बताएका छन् । प्रविधिको विकासले आर्थिक तथा सामाजिक असमानता थप बढाउनुको सट्टा त्यसलाई घटाउन योगदान गर्नुपर्ने भन्दै उनले यसका लागि सरकारहरूबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् ।
आईसीटी समाचार