काठमाडौं । भारतको हैदरावाद प्रहरीले मेटा इन्डियाका प्रमुखविरुद्ध मुद्दा दर्ता गरेको छ । फेसबुकमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई कथित रूपमा ‘अपमानजनक शैली’मा प्रस्तुत गरिएका धेरै भिडियो सार्वजनिक भएपछि प्रहरीले यो कदम चालेको हो ।
हैदरावाद साइबर अपराध शाखाका प्रहरी नायब आयुक्त भी. अरविन्द बाबुले शुक्रबार यसबारे जानकारी दिँदै मेटा प्लेटफर्म्सलाई औपचारिक सूचना पठाउने तयारी भइरहेको बताए । यद्यपि, शुक्रबार साँझसम्म कम्पनीलाई कुनै औपचारिक सूचना जारी गरिएको थिएन ।
प्रधानमन्त्री मोदीसँग सम्बन्धित सामाग्रीलाई लिएर मेटा र भारत सरकारबीच देखिएको विवादको शृङ्खलामा यो पछिल्लो घटना हो । गत साता फेसबुकले प्रधानमन्त्री मोदीको एउटा पोस्ट केही समयका लागि हटाएपछि भारतको सूचना प्रविधि मन्त्रालयले यसै साता मेटाका उच्च अधिकारीहरूलाई स्पष्टीकरणका लागि बोलाएको थियो ।
मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार सरकारले उक्त घटनाबारे मेटासँग उच्च तहमा स्पष्टीकरण मागेको छ । त्यसपछि मेटाका एक प्रवक्ताले प्रधानमन्त्री मोदीको पोस्ट प्राविधिक त्रुटिका कारण अनायास रोकिएको बताएका थिए । उक्त पोस्टमा मोदीले शिक्षा मन्त्रीको राजीनामासम्म पुग्ने गरी भएका व्यापक विद्यार्थी प्रदर्शनबारे पहिलो पटक प्रतिक्रिया दिएका थिए ।
पछिल्ला केही सातादेखि प्रधानमन्त्री मोदी सामाजिक सञ्जालमा प्रदर्शनकारीहरूको आलोचना, व्यंग्य र मिमहरूको केन्द्रमा छन् । लाखौं प्रयोगकर्ताले उनीसँग सम्बन्धित मिमहरू सिर्जना गरेका छन् । प्रयोगकर्ताको संख्याका आधारमा भारत फेसबुकको सबैभन्दा ठूलो बजार मानिन्छ ।
आईसीटी समाचार