कीवर्डहरू -

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ परीक्षाफल

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ परीक्षाफल

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार परीक्षामा सहभागी भएका कुल परीक्षार्थीमध्ये एक लाख चार सय ७१ जना विद्यार्थी नन ग्रेडेड (अनुत्तीर्ण) भएका छन् ।

बोर्डले सार्वजनिक गरेको विवरणअनुसार यस वर्ष कक्षा १२ को परीक्षामा ४ लाख १८ हजार १७० जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये नियमिततर्फ ३ लाख ३२ हजार २४१ जना र आंशिकतर्फ ८५ हजार ९२९ जना परीक्षार्थी रहेका थिए । कुल परीक्षार्थीमध्ये ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार सैद्धान्तिकतर्फ अन्य सबै विषयमा ‘डी’ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरेका तर बढीमा दुई विषयमा नन ग्रेडेड भएका विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन् । साथै, बढीमा दुई विषयमा अनुपस्थित भएका विद्यार्थीलाई पनि मौका परीक्षाको अवसर दिइनेछ ।

यसैगरी, परीक्षामा अनियमितता गरेको भन्दै ३८ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । दुई जना परीक्षार्थीको परीक्षा रद्द गर्नुका साथै उनीहरूलाई थप एक वर्षसम्म बोर्डबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको बोर्डले जनाएको छ ।

कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि सञ्चालन भएको थियो । परीक्षार्थीहरूले आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट https://neb.ntc.net.np मार्फत हेर्न सक्नेछन् ।