काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को नयाँ उपकुलपति नियुक्तिका लागि ३५ जनाले प्रतिस्पर्धामा आफ्नो दाबी प्रस्तुत गरेका छन् । उपकुलपति छनोट तथा सिफारिस समितिले सार्वजनिक गरेको विवरणअनुसार कार्यविधिअनुसार आवेदन आह्वान गरिएपछि विभिन्न शैक्षिक तथा प्राविधिक पृष्ठभूमिका व्यक्तिहरूले दरखास्त दिएका हुन् ।
सरकारले हालै अध्यादेशमार्फत विश्वविद्यालयका उपकुलपतिसहित पदाधिकारीलाई पदमुक्त गरेपछि नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइएको हो । सोही क्रममा काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३ अनुसार आवेदन संकलन गरिएको थियो ।
आवेदन दिनेहरूमध्ये पूर्वउपकुलपति अच्युतप्रसाद वाग्लेले पनि पुन: उम्मेदवारी दिएका छन् । यसबाहेक सुबोध शर्मा, रोजी श्रेष्ठ, सागरराज शर्मा, कन्हैया झा, विकास नकर्मी, राजेन्द्र जोशी, शेषानन्द सञ्जेल, माधव लम्साल, विमप्रसाद श्रेष्ठ, एकराज ओझा, धिरज गिरी, राजेन्द्र ज्ञवाली, वेदमणि दाहाल, बराज सिंह थापा, वालचन्द्र लुइँटेल, दयाराम पोखरेल, विवेक बराल, मनिष पोखरेल, रविन्द्रप्रसाद कायस्थ, लोचन रिजाल, प्रचण्डमान प्रधान, हरिप्रसाद न्यौपाने, रिजनभक्त कायस्थ, ऋषिकेश पाण्डे, ध्रुवप्रसाद गौचन, जनार्दन लामिछाने, समिर खरेल, सञ्जयनाथ खनाल, वालकृष्ण वल, सुनिलकुमार जोशी, भुपाल गोविन्द श्रेष्ठ, रामकृष्ण रेग्मी, निरञ्जन पराजुली र रविन्द्र विष्टले आवेदन दिएका छन् ।
कार्यविधिअनुसार समितिले सबै आवेदकको योग्यता, अनुभव, कार्ययोजना (कार्यपत्र) प्रस्तुति तथा अन्तर्वार्ताका आधारमा प्रारम्भिक मूल्याङ्कन गर्नेछ । त्यसपछि उत्कृष्ट १० जनाको छोटो सूची (सर्टलिस्ट) तयार गरिनेछ ।
सर्टलिस्टमा परेका उम्मेदवारमध्ये अन्तिम तीन जनाको नाम सिफारिस समितिले कुलपतिसमक्ष पठाउनेछ । तीमध्येबाट विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ उपकुलपति नियुक्त गर्ने व्यवस्था रहेको छ ।

आईसीटी समाचार