कीवर्डहरू -

काठमाडौंमा अन्तर्राष्ट्रिय एआई तथा साइबर सुरक्षा सम्मेलन हुँदै, सेसन प्रस्ताव आह्वान

काठमाडौंमा अन्तर्राष्ट्रिय एआई तथा साइबर सुरक्षा सम्मेलन हुँदै, सेसन प्रस्ताव आह्वान

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) र साइबर सुरक्षाले विश्वव्यापी डिजिटल इकोसिस्टमलाई तीव्र रूपमा रूपान्तरण गरिरहेका बेला कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले ‘अन्तर्राष्ट्रिय आईसीटी कन्फरेन्स अन एआई एण्ड साइबरसुरक्षा २०२६’ आयोजना गर्ने भएको छ ।

महासंघका अनुसार सम्मेलन आगामी शुक्रबार, १९ भाद्र २०८३ (सेप्टेम्बर ४, २०२६) मा काठमाडौंमा आयोजना हुनेछ । एआई, साइबर सुरक्षा तथा डिजिटल प्रविधिको भविष्यबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विज्ञहरूबीच विचार आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो ।

सम्मेलनका लागि क्यान महासंघले प्रविधि क्षेत्रका नेतृत्वकर्ता, अनुसन्धानकर्ता, नवप्रवर्तक (इन्नोभेटर) तथा साइबर सुरक्षा विशेषज्ञहरूबाट सेसन प्रस्ताव आह्वान गरेको छ । ‘SUBMIT YOUR SESSION PROPOSAL’ अभियानअन्तर्गत प्राविधिक नीति, नवप्रवर्तन र डिजिटल लचिलोपनको भविष्य निर्माणमा योगदान दिन इच्छुक विज्ञहरूले itconference.org.np/submit-proposal मार्फत आफ्ना प्रस्तावहरू दर्ता गर्न सक्ने महासंघले जनाएको छ ।

महासंघका अनुसार नेपाल सरकारले अघि सारेको “डिजिटल नेपाल” भिजनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न एआई र साइबर सुरक्षाको समन्वय अहिले राष्ट्रिय प्राथमिकताका रूपमा स्थापित हुँदै गएको छ ।

यसै सन्दर्भमा राष्ट्रिय एआई नीति २०२५ (२०८२) र राष्ट्रिय साइबर सुरक्षा नीति २०२३ स्वीकृत भइसकेपछि ती नीतिहरूलाई व्यवहारमा उतार्ने साझा मञ्चका रूपमा यो सम्मेलन महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ । सम्मेलनमा विशेष रूपमा एआई रूपान्तरण (AI Transformation) र साइबर सुरक्षा लचिलोपन (Cybersecurity Resilience) सम्बन्धी विषयमा केन्द्रित छलफल हुनेछ ।

null

एआई रूपान्तरणअन्तर्गत कृषि, फिनटेक, स्वास्थ्य सेवा डायग्नोस्टिक्स, सुशासन तथा डिजिटल सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन मेसिन लर्निङ र डाटा–संचालित प्रणालीहरूको प्रयोगबारे अनुभव र अभ्यास साझा गरिनेछ । त्यसैगरी साइबर सुरक्षा लचिलोपन अन्तर्गत बढ्दो डिजिटल बैंकिङ ठगी, साइबर आक्रमण, डाटा उल्लङ्घन तथा सामाजिक इन्जिनियरिङजस्ता जोखिमहरूको सामना गर्न राष्ट्रिय साइबर सुरक्षा इकोसिस्टमलाई कसरी सुदृढ बनाउन सकिन्छ भन्ने विषयमा विज्ञहरूले आफ्ना धारणा प्रस्तुत गर्नेछन् ।

क्यान महासंघका अनुसार सम्मेलनले अन्तर्राष्ट्रिय विज्ञहरूको अनुभवलाई नेपालको स्थानीय आवश्यकता र यथार्थसँग जोड्ने अवसर प्रदान गर्नेछ । साथै नीति निर्माता, शैक्षिक तथा प्राज्ञिक क्षेत्र, उद्योगका नेतृत्वकर्ता, स्टार्टअप, विद्यार्थी तथा अन्तर्राष्ट्रिय विज्ञहरूबीच संरचित संवादको वातावरण सिर्जना गर्दै सुरक्षित, नैतिक र नवप्रवर्तन–संचालित डिजिटल इकोसिस्टमको सह-विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।