कीवर्डहरू -

इ-जीपी प्रणाली तत्काल सञ्चालनमा ल्याउन नेकपाको माग, ‘बन्द हुँदा ठेक्का प्रक्रिया ठप्प भयो’

इ-जीपी प्रणाली तत्काल सञ्चालनमा ल्याउन नेकपाको माग, ‘बन्द हुँदा ठेक्का प्रक्रिया ठप्प भयो’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सार्वजनिक खरिद प्रक्रियालाई सहज र पारदर्शी बनाउन प्रयोग हुँदै आएको विद्युतीय सरकारी खरिद प्रणाली (इ-जीपी) तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक दुलालले २०७० सालदेखि सञ्चालनमा रहेको इ-जीपी प्रणाली बन्द हुँदा सङ्घ, प्रदेश र स्थानीय तहका सार्वजनिक खरिद तथा ठेक्का प्रक्रिया प्रभावित भएको भन्दै सभामुखमार्फत सरकारको ध्यानार्कषण गराउनुभयो ।

“भदौ, असोज, कात्तिकलगायतका महिनामा सरकारका सार्वजनिक खरिदका ठेक्का लगाउने समय हो । तीन तहका सरकार अन्तर्गतका सयौँ सार्वजनिक खरिद प्रक्रिया अहिले प्रभावित भएका छन्,” प्रमुख सचेतक दुलालले भन्नुभयो ।

उहाँले इ-जीपी प्रणाली ह्याक भएको भनिएको विषयमा छानबिन गरी दोषीमाथि कारबाही गर्नसमेत माग गर्नुभयो । “सरकारले इ-जीपी प्रणाली तत्काल पूर्णरूपमा सञ्चालनमा ल्याउनुपर्छ,” प्रमुख सचेतक दुलालले भन्नुभयो ।