काठमाडौं । होर्मुज जलडमरू (Strait of Hormuz) मध्य नजिकै सयौँ जहाज फसेको अवस्थाको फाइदा उठाउँदै साइबर अपराधीहरू सक्रिय भएका छन् । मिडिया रिपोर्टहरूका अनुसार केही अज्ञात समूहले आफूलाई इरानी अधिकारीका रूपमा प्रस्तुत गर्दै शिपिङ कम्पनीहरूलाई लक्षित गरिरहेका छन् ।
उनीहरूले क्रिप्टोकरेन्सीमार्फत भुक्तानी माग्दै पैसा पाएपछि मात्र जहाजलाई सुरक्षित मार्ग उपलब्ध गराइने दाबी गरेका छन् । यसले समुद्रबीच अल्झिएका जहाजहरूका लागि अर्को जोखिम थपेको छ ।
ग्रीक मेरीटाइम रिस्क फर्म मारिस्क्सले यस विषयमा चेतावनी जारी गरेको छ । कम्पनीका अनुसार, शिपिङ कम्पनीहरूलाई पठाइएका सन्देशमा पहिले जहाजका कागजात पठाउन र त्यसपछि शुल्कका रूपमा रकम बुझाउन भनिएको छ । ती सन्देशमा विशेष गरी बिट्कोइन र टेथरमा भुक्तानी मागिएको छ, जसका कारण लेनदेनको ट्रेस गर्न झनै कठिन हुने देखिएको छ ।
मारिस्क्सले यस्ता सन्देशहरूको इरानी सरकार वा कुनै आधिकारिक निकायसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ । कम्पनीका अनुसार, यो योजनाबद्ध साइबर ठगी हो । केही जहाजहरू यस जालमा परिसकेको हुन सक्ने आशङ्का पनि व्यक्त गरिएको छ, जसले जोखिम झनै बढाएको छ ।
होर्मुज जलडमरूमध्य विश्वका सबैभन्दा महत्त्वपूर्ण समुद्री मार्गहरूमध्ये एक हो । यही मार्ग हुँदै ठूलो परिमाणमा तेल र ग्यासको ढुवानी हुने भएकाले यहाँको अस्थिरता विश्वव्यापी आपूर्ति शृङ्खलामा प्रत्यक्ष असर पार्न सक्छ । यस्तो अवरोधले ऊर्जा बजार, ढुवानी लागत र अन्तर्राष्ट्रिय व्यापारमा समेत दबाब सिर्जना गर्न सक्नेछ ।
यो घटनाले साइबर अपराधीहरू अब केवल डिजिटल माध्यममै सीमित छैनन् भन्ने देखाएको छ । उनीहरूले विश्वव्यापी संकट र अस्थिरतालाई समेत अवसरका रूपमा प्रयोग गरिरहेका छन् ।
क्रिप्टोकरेन्सीमार्फत गरिएको ठगीलाई पत्ता लगाउन कठिन हुने भएकाले यस्तो जोखिम अझ गम्भीर बन्न सक्छ । त्यसैले शिपिङ कम्पनीहरू र सम्बन्धित निकायहरूले कुनै पनि शङ्कास्पद सन्देश प्रति उच्च सतर्कता अपनाउनु पर्ने आवश्यकता देखिएको छ ।
आईसीटी समाचार