काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) ले आफ्ना दुग्धजन्य उत्पादनको पहुँच विस्तार गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा ३० वटा नयाँ बिक्री केन्द्र सञ्चालन गर्ने तयारी गरेको छ । संस्थानले साउन महिनाभित्र नयाँ आउटलेट सञ्चालनमा ल्याउने लक्ष्यसहित योजना अघि बढाएको हो ।
डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार बुढानीलकण्ठ, वनस्थली, कलङ्की, कोटेश्वर र नयाँ बानेश्वरलगायतका क्षेत्रमा आधुनिक मोडेलका बिक्री केन्द्र स्थापना गरिनेछन् । नयाँ आउटलेटमार्फत उपभोक्तालाई दूध तथा अन्य दुग्धजन्य उत्पादन सहज रूपमा उपलब्ध गराइने विश्वास संस्थानको छ ।
यसैबीच, डिडिसीले काठमाडौंको वसन्तपुर डबलीमा आधुनिक सुविधासम्पन्न नयाँ बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । पर्यटकको उच्च आवागमन हुने उक्त स्थानबाट दूध, दही, मही, पनिर, घ्यू, आइसक्रिम, रसबरीलगायत विभिन्न दुग्धजन्य उत्पादन बिक्री गरिनेछ ।
संस्थानले काठमाडौं उपत्यकाबाहिरका प्रमुख सहरमा पनि बिक्री सञ्जाल विस्तार गर्ने योजना बनाएको जनाएको छ । साथै, निकट भविष्यमै अनलाइन अर्डर र होम डेलिभरी सेवा सुरु गर्ने तयारी भइरहेको छ । डिजिटल माध्यमबाट बिक्री प्रणाली विस्तार गर्दै उपभोक्तालाई अझ सहज, छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउने डिडिसीको लक्ष्य रहेको जनाएको छ ।a
आईसीटी समाचार