कीवर्डहरू -

एनपिसिआई इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

एनपिसिआई इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडौं । नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपिसिआई) को अन्तर्राष्ट्रिय शाखा एनपिसिआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड (एनआइपिएल) ले भारत र नेपालबीच निर्बाध सीमापार भुक्तानी प्रणालीमार्फत डिजिटल भुक्तानी कनेक्टिभिटीलाई थप सुदृढ बनाउने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ ।

नेपाल भ्रमणमा आउने भारतीय यात्रुहरूबीच क्युआरमा आधारित युपिआई भुक्तानीको बढ्दो प्रयोग तथा हालै सुरू भएको भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (युपिआई) र नेपालको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपिआई) बीचको रेमिटेन्स सम्बन्धले यस प्रतिबद्धतालाई सुदृढ बनाएको हो ।

यस प्रणालीले दुई देशबीच 'पर्सन-टु-पर्सन' (पिटुपी) रियल–टाइम रकम स्थानान्तरण गर्न सहज बनाएको छ । भारतको रियल–टाइम अकाउन्ट–टू–अकाउन्ट भुक्तानी प्रणाली युपिआईमार्फत मासिक २३ अर्बभन्दा बढी वित्तीय कारोबार हुने गर्छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले यसलाई विश्वकै सबैभन्दा ठूलो भुक्तानी प्रणालीका रूपमा मान्यता दिएको छ, जसले विश्वभर हुने रियल–टाइम भुक्तानीको करिब ५० प्रतिशत हिस्सा समेट्छ ।

यसको खुला र अन्तरसम्बन्धित संरचनाले नेपालभित्रको भुक्तानी पूर्वाधारसँग सहज रूपमा जोडिन सम्भव बनाएको छ । यसबाट मर्चेन्ट क्यूआर भुक्तानी स्वीकार गर्ने तथा पिटुपी रेमिटेन्स पठाउने दुवै सुविधा उपलब्ध भएका छन् ।

हरेक वर्ष नेपाल आउने पर्यटकमध्ये भारत प्रमुख स्रोत मुलुकमध्ये एक हो । सन् २०२५ मा मात्र २ लाख ९० हजारभन्दा बढी भारतीय पर्यटक नेपाल आएका थिए । मनोरञ्जन, धार्मिक यात्रा, व्यापार तथा पारिवारिक सम्बन्धका कारण भारतबाट नेपाल आउने पर्यटकको संख्या उल्लेखनीय छ ।

यस्ता यात्रुका लागि युपिआई भुक्तानीको सुविधाले नेपालभरका व्यवसायिक प्रतिष्ठानमा सहज र तुरुन्तै भुक्तानी गर्न सम्भव बनाएको छ । चन्द्रागिरि हिल्स, मनकामना मन्दिर र पशुपतिनाथ मन्दिरजस्ता लोकप्रिय पर्यटकीय तथा धार्मिक स्थलमा समेत यो सुविधा उपलब्ध छ ।

यसले यात्रुहरूलाई नगद बोकेर हिँड्ने वा मुद्रा साट्नै पर्ने बाध्यतालाई कम गर्छ । फोनपे नेटवर्कमार्फत यसमा आबद्ध व्यवसायीहरूले सहज रूपमा युपिआई भुक्तानी स्वीकार गर्न सक्छन् ।

यसबाट खुद्रा व्यापार, आतिथ्य सेवा तथा दैनिक किनमेललगायत विभिन्न क्षेत्रमा युपिआई भुक्तानीको पहुँच विस्तार भएको छ । यात्रुहरूका लागि भुक्तानीलाई सहज बनाउनुका साथै युपिआईले नेपालका व्यवसायीहरूका लागि पनि महत्वपूर्ण अवसर सिर्जना गरेको छ ।

युपिआई भुक्तानी स्वीकार गर्दा व्यवसायीहरूले डिजिटल भुक्तानीमा अभ्यस्त ठूलो ग्राहक समूहसम्म पहुँच पाउँछन् । साथै, छिटो डिजिटल भुक्तानी, नगद प्रवाह व्यवस्थापनमा सुधार तथा भौतिक मुद्रामाथिको निर्भरता कम हुने भएकाले व्यवसाय सञ्चालनमा थप सहजता र प्रभावकारिता आउँछ ।

यसले व्यवसायको वृद्धि र विस्तारमा पनि सहयोग पुर्‍याउँछ । यससँगै, नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) सँगको युपिआई–एनपिआई सम्बन्धले दुवैतर्फ रियल–टाइम पिटुपी रकम स्थानान्तरणको सुविधा दिएको छ ।

भारतीय तथा नेपाली प्रयोगकर्ताले रिसिभरको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेस (भिपिए) प्रयोग गरी नेपालमा रकम पठाउन सक्छन् । त्यसैगरी, नेपालमा रहेका भारतीय प्रयोगकर्ताले युपिआई आइडीमार्फत भारतमा रकम पठाउन सक्छन् ।

यसका लागि संवेदनशील बैंक खाता विवरण आदानप्रदान गर्नुपर्दैन, जसले दुई देशबीच समयमै र किफायती रूपमा रेमिटेन्समा निर्भर लाखौं परिवार र व्यक्तिका लागि भुक्तानी प्रक्रियालाई थप सरल र सुरक्षित बनाएको छ ।

एनपिसिआई इन्टरनेसनलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले भने, 'एनपिसिआई इन्टरनेसनल आम उपभोक्ता र व्यवसायहरूका लागि कनेक्टिभिटी र सहजता बढाउने निर्बाध सीमापार भुक्तानी अनुभव उपलब्ध गराउन केन्द्रित छ । हाम्रो प्रयास नेपालमा डिजिटल भुक्तानीको स्वीकार्यता विस्तार गर्ने, भारतीय यात्रुका लागि कारोबारलाई सरल बनाउने तथा भारत–नेपालबीच रेमिटेन्समा निर्भर परिवारका लागि छिटो र थप किफायती रकम स्थानान्तरणको सुविधा उपलब्ध गराउनेतर्फ केन्द्रित छ ।'

'फोनपे र एनसीएचएलसँग मिलेर हामी सुरक्षित र रियल–टाइम भुक्तानी सोलुसन विस्तार गर्दैछौं, जसले आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै भारत र नेपालबीचको लामो समयदेखिको जनस्तरको सम्बन्धलाई अझ गहन बनाउनेछ,' उनले थपे । यस बलियो आधारलाई थप विस्तार गर्दै एनआइपिएलले नेपालका नियामक निकाय तथा भुक्तानी प्रणालीसँग सम्बन्धित साझेदारहरूसँग सहकार्य जारी राख्नेछ । 

कम्पनीले युपिआईमा आधारित भुक्तानी सोलुसनको प्रयोग बढाउने, सीमापार भुक्तानी अनुभवलाई थप प्रभावकारी बनाउने तथा पिटुपी रेमिटेन्स प्रणालीलाई थप बैंकहरूसम्म विस्तार गर्ने योजना बनाएको बताइएको छ । यसले भारत र नेपालबीचको डिजिटल तथा आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।