कीवर्डहरू -

अब युट्युबमा भिडियो सुरु हुना साथ भ्यु काउन्ट हुने

अब युट्युबमा भिडियो सुरु हुना साथ भ्यु काउन्ट हुने

काठमाडौं । युट्युबले भिडियोको भ्यु गणना गर्ने प्रणालीमा परिवर्तन गर्ने भएको छ । नयाँ व्यवस्थाअनुसार प्रयोगकर्ताले भिडियो प्ले गरेपछि तुरुन्तै त्यसलाई एक भ्युका रूपमा गणना गरिनेछ । लाइभ स्ट्रिममा दर्शक जोडिँदा पनि भ्यु थपिनेछ ।

युट्युबले यसअघि विभिन्न प्रकारका सामाग्रीका लागि भ्यु गणनाको फरक फरक प्रणाली प्रयोग गर्दै आएको थियो । तर यसले क्रिएटरहरूमा अन्योल सिर्जना गरेको भन्दै कम्पनीले सबैका लागि बुझ्न सहज हुने गरी भ्यु गणना प्रणालीलाई एकरूप बनाउन लागेको जनाएको छ ।

नयाँ प्रणाली लागू भएपछि छोटो समय मात्र हेरिएका भिडियोको सार्वजनिक भ्यु संख्या पनि बढ्न सक्नेछ । यसका कारण सार्वजनिक रूपमा देखिने भ्यु संख्यालाई मात्र आधार बनाएर कुनै भिडियोको लोकप्रियता मापन गर्न केही कठिन हुन सक्ने देखिन्छ ।

यद्यपि, युट्युबले हाल प्रयोग हुँदै आएको भ्यु मापन प्रणालीलाई पूर्ण रूपमा हटाउने छैन । पुरानो मापनलाई ‘Engaged Views’ नाम दिएर YouTube Analytics मा राखिनेछ । यसबाट क्रिएटरहरूले दर्शकले भिडियोमा कति समय र कस्तो रुचि देखाए भन्नेबारे थप जानकारी प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार भ्यु गणना प्रणालीमा गरिएको यो परिवर्तनले क्रिएटरको आम्दानी वा मोनिटाइजेसनमा कुनै असर पार्ने छैन । नयाँ व्यवस्था अगस्ट २४ देखि लागू हुनेछ । युट्युबले गत वर्ष Shorts का लागि पनि भिडियो सुरु हुना साथ भ्यु गणना गर्ने व्यवस्था ल्याएको थियो ।

TikTok र Instagram मा पनि भिडियो प्ले हुनेबित्तिकै भ्यु गणना हुँदै आएको छ । यस परिवर्तनसँगै युट्युबमा देखिने भ्यु संख्या बढ्न सक्ने भएपनि वास्तविक दर्शक संलग्नता मापन गर्न भने ‘Engaged Views’ लगायतका Analytics तथ्यांकलाई हेर्नुपर्नेछ ।