कीवर्डहरू -

गुगलको नयाँ सुविधा : एआई स्टुडियोबाट बनाएका एन्ड्रोइड एप नि:शुल्क प्ले स्टोरमा राख्न सकिने

गुगलको नयाँ सुविधा : एआई स्टुडियोबाट बनाएका एन्ड्रोइड एप नि:शुल्क प्ले स्टोरमा राख्न सकिने

काठमाडौं । गुगलले एआई स्टुडियोमार्फत तयार पारिएका एन्ड्रोइड एप गुगल प्ले स्टोरमा प्रकाशित गर्न सहज बनाउने नयाँ व्यवस्था ल्याउने भएको छ । यसअन्तर्गत १८ वर्षभन्दा माथिका गुगल खाता भएका प्रयोगकर्ताले सशुल्क विकासकर्ता खाता नलिईकनै आफ्ना एप निजी रूपमा सूचीबद्ध गर्न सक्नेछन् ।

ब्लूमबर्गका अनुसार, यो सुविधा गुगल एआई स्टुडियोमा निर्माण गरिएका एपका लागि उपलब्ध हुनेछ । यस्ता एप गुगल प्ले स्टोरमा निजी रूपमा सूचीबद्ध हुने भएकाले स्टोरको खोज परिणाम वा सिफारिसमा देखिने छैनन् । यसले आफ्नै प्रयोजनका लागि एप बनाउन चाहने प्रयोगकर्तालाई त्यसलाई वितरण गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।

हाल गुगल प्ले स्टोरमा एप प्रकाशित गर्न विकासकर्ता खाता आवश्यक पर्छ, जसका लागि एकपटक २५ अमेरिकी डलर शुल्क तिर्नुपर्छ । गुगलको नयाँ व्यवस्थाले निजी रूपमा एप प्रकाशित गर्न चाहने प्रयोगकर्ताका लागि यो आर्थिक बाधा हटाउनेछ ।

गुगल प्ले तथा यसको विकासकर्ता इकोसिस्टमसँग सम्बन्धित साम ब्राइटले यो सुविधाको व्यावहारिक उपयोगसमेत देखाएका छन् । उनले आफ्ना बालबालिका आबद्ध स्थानीय खेलकुद टोलीका लागि ट्र्याकिङ एप बनाएर जर्सीको खर्च, अम्पायरको शुल्क र खेलपछिको पिज्जाको लागत १५ परिवारबीच बाँडफाँट गर्ने उदाहरण प्रस्तुत गरेका थिए ।

यसको विपरीत, एप्पलले आफ्नो एप स्टोरमा एपको समीक्षा प्रक्रियालाई थप कडा बनाउँदै लगेको छ । एआईको सहयोगमा तीव्र रूपमा एप निर्माण गर्ने प्रवृत्ति बढेसँगै एप स्टोरमा पेस हुने एपको सङ्ख्या एक त्रैमासिक अवधिमा ८४ प्रतिशतले बढेको रिपोर्टमा उल्लेख छ । त्यसपछि एप्पलले समीक्षा प्रक्रियापछि आफ्नो व्यवहार परिवर्तन गर्ने एपहरू हटाउन थालेको जनाइएको छ ।

रिपोर्टअनुसार, एप्पलको एप समीक्षा अवधि पहिले एकदेखि दुई दिन हुने गरेकामा केही अवस्थामा एक हप्तादेखि एक महिनाभन्दा बढी समयसम्म लम्बिएको थियो । यस क्रममा रिप्लिट र भाइबकोडजस्ता प्लेटफर्मबाट तयार पारिएका एपका अद्यावधिक समेत अवरुद्ध भएका थिए ।

यद्यपि, एआईबाट एप निर्माण गर्न सहज भए पनि त्यसबाट तयार हुने सफ्टवेयरको सुरक्षाबारे प्रश्न उठिरहेका छन् । भेराकोडको परीक्षणसम्बन्धी विवरणअनुसार, गत वर्ष सुरक्षा नियन्त्रणबिना तयार पारिएका एआई-उत्पन्न कोडका नमुनामध्ये ५६ प्रतिशतले परीक्षण पास गरेका थिए । तर, क्रस-साइट स्क्रिप्टिङ र लग इन्जेक्सनजस्ता सुरक्षा कमजोरीसम्बन्धी परीक्षणमा क्रमश: १५ प्रतिशत र १२ प्रतिशत नमुना पास भएको उल्लेख छ ।

गुगलले भने एआई स्टुडियोले आफ्नै सुरक्षा जाँच सञ्चालन गर्ने जनाएको छ । एआईको सहायताले एप निर्माण गर्ने प्रविधि विस्तार भइरहेका बेला गुगलको नयाँ व्यवस्थाले सामान्य प्रयोगकर्तालाई पनि एप प्रकाशनमा पहुँच दिन सक्नेछ । तर, एपको सुरक्षा र प्रयोगकर्ताको तथ्याङ्क संरक्षण सुनिश्चित गर्नु अझै महत्त्वपूर्ण चुनौती रहनेछ ।