काठमाडौं । ह्वाट्सएप प्रयोगकर्तालाई लक्षित गर्दै गुगल प्ले स्टोरमा नक्कली एप सार्वजनिक भएको घटना बाहिर आएको छ । ‘ह्वाट्सएप मेसेन्जर’ नामबाट सूचीकृत उक्त तेस्रो पक्षको एप ५ लाखभन्दा बढी पटक डाउनलोड भएको बताइएको छ । अझ चिन्ताजनक पक्ष के छ भने, उक्त एप गुगल प्ले स्टोरको खोज नतिजामा प्रायोजित सूचीका रूपमा आधिकारिक ह्वाट्सएप एपभन्दा माथि देखिएको थियो । यसले प्रयोगकर्ताले झुक्किएर नक्कली एप डाउनलोड गर्ने जोखिम बढाएको छ ।
रेडिटका एक प्रयोगकर्ताले उक्त एप पहिचान गरेपछि एन्ड्रोइड अथोरिटी र द भर्जले पनि यसबारे समाचार प्रकाशित गरेका थिए । द भर्जको अक्टोबर १६ को रिपोर्ट प्रकाशित हुँदासम्म उक्त एप गुगल प्ले स्टोरमा उपलब्ध रहेको जनाइएको थियो । यस विषयमा गुगलले तत्काल कुनै प्रतिक्रिया दिएको थिएन ।
कसरी सूचीकृत भयो नक्कली ह्वाट्सएप एप ?
रिपोर्टअनुसार, नक्कली एप ‘ह्वाट्सएप मेसेन्जर’ नाममा ‘Agment Assets sallu’ नामको विकासकर्ताले प्रकाशित गरेको थियो । उक्त विकासकर्ताको नामबाट गुगल प्ले स्टोरमा अन्य कुनै एप पनि सूचीकृत नभएको बताइएको छ ।
नक्कली एपमा आधिकारिक ह्वाट्सएपसँग मिल्दोजुल्दो आइकन, स्क्रिनसट र विवरण प्रयोग गरिएको थियो । त्यसैले एपको नाम र लोगो मात्र हेरेर वास्तविक र नक्कली एप छुट्याउन प्रयोगकर्तालाई कठिन हुन सक्थ्यो ।
यसको विपरीत, आधिकारिक ह्वाट्सएप मेसेन्जर एप ‘WhatsApp LLC’ नामको विकासकर्ताले प्रकाशित गरेको हो । द भर्जको रिपोर्टअनुसार, आधिकारिक एप १० अर्बभन्दा बढी पटक डाउनलोड भइसकेको थियो । यसले ‘एडिटर्स च्वाइस’ ब्याज समेत प्राप्त गरेको छ भने यसमा २४ करोड ६० लाखभन्दा बढी समीक्षा रहेका थिए ।
एन्ड्रोइड अथोरिटीले नक्कली एप गुगल प्ले स्टोरको ‘अर्ली एक्सेस’ कार्यक्रममा सहभागी भएको हुन सक्ने आशङ्का पनि व्यक्त गरेको थियो । यदि त्यसो भएको भए, सार्वजनिक समीक्षाको सङ्ख्या कम देखिन सक्ने भएकाले प्रयोगकर्ताले अन्य व्यक्तिका चेतावनी तथा अनुभवबारे जानकारी पाउने सम्भावना पनि कम हुन सक्थ्यो ।
गुगल प्ले स्टोरमा नक्कली एपबाट कसरी बच्ने ?
कुनै पनि एप डाउनलोड गर्नुअघि त्यसको विकासकर्ताको नाम जाँच गर्नु आवश्यक छ । आधिकारिक ह्वाट्सएप मेसेन्जरको विकासकर्ता ‘WhatsApp LLC’ हो। त्यसैले एपको नाम र लोगो मात्र हेरेर डाउनलोड गर्नुको सट्टा विकासकर्ताको पहिचान, डाउनलोड सङ्ख्या, प्रयोगकर्ताका समीक्षा र अन्य विवरण पनि जाँच गर्नुपर्छ ।
त्यस्तै, खोज नतिजामा कुनै एप सबैभन्दा माथि देखिनु वा त्यसमा ‘स्पोन्सर्ड’ लेखिएको हुनु आधिकारिक भएको प्रमाण होइन । प्रायोजित सूचीमा देखिएका एपसमेत तेस्रो पक्षले प्रकाशित गरेका हुन सक्छन् । त्यसैले एप इन्स्टल गर्नुअघि त्यसको आधिकारिकता सुनिश्चित गर्नु महत्त्वपूर्ण हुन्छ ।
नक्कली ह्वाट्सएप डाउनलोड गरिसक्नुभएको छ भने के गर्ने ?
यदि तपाईंले शङ्कास्पद ह्वाट्सएप एप डाउनलोड गर्नुभएको छ भने त्यसलाई तुरुन्तै हटाउनुहोस् । त्यसपछि मोबाइलको सेटिङमा गएर उक्त एपलाई दिइएका अनुमति (परमिसन) जाँच गर्नुहोस् ।
यदि तपाईंले नक्कली एपमा आफ्नो खाता विवरण वा प्रमाणीकरण कोड (भेरिफिकेसन कोड) प्रविष्ट गर्नुभएको छ भने आफ्नो ह्वाट्सएप खाताको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चाल्नुहोस् ।
आफ्नो खातामा पहुँच कायम छ भने आधिकारिक एपमार्फत खाता सुरक्षित गर्नुहोस् र दुई चरणको प्रमाणीकरण (टु-स्टेप भेरिफिकेसन) सक्रिय गर्नुहोस् । शङ्कास्पद गतिविधि देखिएमा आफ्नो खातामा पहुँच पुन: सुरक्षित गर्ने प्रक्रिया अपनाउनुहोस् ।
ह्वाट्सएपको दर्ता वा प्रमाणीकरण कोड अरू कसैसँग कहिल्यै साझा नगर्नुहोस् । यो घटनाले आधिकारिक एप स्टोरमा उपलब्ध सबै एप विश्वसनीय हुन्छन् भन्ने ग्यारेन्टी नहुने देखाएको छ । त्यसैले कुनै पनि एप डाउनलोड गर्नुअघि विकासकर्ताको पहिचान र एपको आधिकारिकता जाँच गर्नु आवश्यक छ ।
आईसीटी समाचार